s

आजाद भिषा रोक्ने जिम्मा प्रहरीलाई

वैदेशिक रोजगार विभागले हालको दुई नम्बर प्रदेशका विभिन्न जिल्लामा आजाद भीषाका नाममा युवाहरुलाई ठग्नेक्रम जारी रहेकाले तत्काल नियन्त्रणका लागि आग्रह गर्दै अपराध महाशाखालाई पत्राचार गरेको छ । वैदेशिक रोजगार ऐन र नियमावली र अन्य व्यवस्थामा अस्तित्वमा नै नरहेको उक्त आजाद भीषामा आकर्षक रोजगारी पाइन्छ भन्दै विज्ञापन नै गरिएपछि विभागले प्रहरीलाई कारावहीका लागि पत्राचार गरेको हो ।
 
विभागले तराईका विभिन्न जिल्लामा यहाँ आजाद भीषाको व्यवस्था गरिन्छ भनेर राखिएका साइनबोर्डको तस्वीर संकलन गरेर प्रहरीलाई पठाएको छ । केही दिनअघि झापाको विर्तामोडदेखि इटहरीसम्मको अनुगमनमा गएका विभागका अधिकृत टंक चौलागाईले आफ्नै आँखाले साइनबोर्ड झुण्ड्याएको देखेपनि कारावाही गर्ने क्षेत्राधिकार नभएकाले प्रहरीलाई पत्राचार गरेको बताए । आजाद भीषा भन्दै नेपालबाट भिजिट भीषा लिएर खाडीका विभिन्न मुलुक जाने तर, त्यहाँ काम नपाएपछि उद्धारको आग्रह गर्दै नेपाली दूतावास पुग्ने क्रम बढेको छ ।
 
यस्तो समस्या कतार र यूएईमा बढी पाइएको बताइएको छ । राजधानीका केही म्यानपावर कम्पनी, गैर–आवासीय नेपाली तथा ताहाचलका केही कर्मचारीहरुको मिलोमतोमा आजाद भीषाको धन्दा चल्ने गरेको चर्चा विभागमा चल्ने गरेको छ ।
 
Published on: 10 April 2018 | Madhyanha

Back to list

;