s

आज र भोलि क्रान्तिकारी मजदुरले उद्योग बन्द गर्दै

नेकपा–माओवादी सम्बद्ध अखिल नेपाल क्रान्तिकारी ट्रेड युनियन महासंघले मजदुरको न्यूनतम मासिक तलब ८ हजार रुपैयाँ बनाउन भएको सहमतिप्रति आपत्ति जनाउँदै आज र भोलि कलकारखाना बन्दको घोषणा गरेको छ।

उसले सरकार, रोजगारदाता र ट्रेड युनियनबीच साताअघि भएको सहमतिबाट मजदुरप्रति धोका भएको जनाउँदै हड्तालमा जाने चेतावनी दिएको थियो। महासंघले मजदुरको न्यूनतम तलब १५ हजार रुपैयाँ हुनुपर्ने माग राख्दै आएको छ। 'सरकार, रोजगारदाता र ट्रेड युनियनबीचको सहमतिले मजदुरलाई धोका भएको छ। हामीले यो निर्णय सच्याउन पाँच दिनको अल्टिमेटम दिएका थियौं,' महासंघका संयोजक रामदीप आचार्यले बुधबार नागरिकसँग भने, 'हाम्रो माग सुनुवाई नभएपछि बन्द घोषणा गरेका हौं।' उनले आफ्नो संगठनले राखेको माग सम्बोधन गर्न कुनै पनि निकायले अग्रसरता नदेखाएको आरोप लगाए।

'हामीले राखेको मागलाई कुनै निकायले पनि सम्बोधन गर्न चाहेन। हामीसँग कोही पनि वार्तामा आएन,' उनले भने, 'माग सम्बोधनमा चासो नदेखाएकोले हड्तालमा जानुपरेको हो।' एक साताअघि भएको त्रिपक्षीय वार्तामा एकीकृत माओवादी समर्थित अखिल नेपाल ट्रेड युनियन महासंघ, नेपाल ट्रेड युनियन कांग्रेस (स्वतन्त्र) र नेपाल ट्रेड युनियन महासंघलगायत ११ ट्रेड युनियनको सहभागिता थियो। अहिले मजदुरको न्यूनतम तलब ६ हजार २ सय छ। न्यूनतम तलब २/२ वर्षमा पुनरावलोकन हुँदै आएको छ।

सोमबारको बैठकले ५१ सय तलब र २९ सय महँगी भत्ता गरी मजदुरको तलब मासिक ८ हजार रुपैयाँ कायम गर्ने निर्णय गरेको थियो। दैनिक काम गर्नेको ज्याला ३ सय १८ रुपैयाँ तोकिएको छ। यसअघि यो २ सय ३१ रुपैयाँ थियो। यो तलब र ज्यालादर मन्त्रिपरिषदले निर्णय गरेर राजपत्रमा प्रकाशित भएपछि कार्यान्वयनमा आउनेछ। मजदुरका आधिकारिक ट्रेड युनियनहरुले न्यूनतम तलब १२ हजार हुनुपर्ने माग गर्दै आएका थिए। रोजगारदाताका तर्फबाट नेपाल उद्योग वाणिज्य महासंघले राष्ट्र बैंकले तयार पारेको मूल्यवृद्धि तथ्यांकका आधारमा निर्धारण हुनुपर्ने बताउँदै आएको थियो। नेकपा–माओवादी निकट मजदुरले भने न्यूनतम तलब १५ हजार हुनुपर्ने भन्दै हडताल गर्ने चेतावनी पनि दिँदै आएको थियो।

Published on: 6 June 2013 | Nagarik

Back to list

;