s

आइपुगे मणिपुरबाट उद्धार गरिएका १७९ नेपाली

मानव बेचविखनको जोखिममा परेका १७९ नेपालीलाई उत्तरपूर्वी भारतको मणिपुरबाट उद्धार गरी आज नेपाल ल्याइएको छ। तीमध्ये १४७ महिला र ३२ पुरुष छन्।

माइती नेपाल र नेपाल सरकारको पहलमा मणिपुरको राजधानी इम्फालबाट उद्धार गरी ल्याइएका उनीहरूलाई आजै काठमाडौं लगिने महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयका उपसचिव कृष्णप्रसाद भुसालले बताए। उनीहरू चढेको छ भारतीय बस आज बिहान ९ बजे पूर्वीनाका काँकडभिट्टाबाट नेपाल आइपुगेको हो।

मेची भन्सार परिसरमा छ वटा नेपालका बसमा स्थानान्तरण गरी उनीलाई आजै काठमाडौं पठाइएको छ। नेपालको विभिन्न नाकाबाट मणिपुर पुर्‍याइएका उनीहरूलाई मानव तस्करीमा संलग्न दलालले अवैध रूपमा म्यान्मारको बाटो हुँदै इराक र संयुक्त अरब इमिरेट्स लैजान लागेको अवस्थामा उद्धार गरिएको माइती नेपालका अध्यक्ष विश्वराम खड्काले बताए।

उद्धार गरिएकामध्ये कतिपय बाटोमा बिरामी परेको र धेरैजसो तनावमा रहेको बताउँदै उनले उनीहरूलाई काठमाडौं लगेर पुनर्स्थापना गृहमा राखिने जानकारी दिए। ‘उहाँहरू असाध्यै थकित र तनावमा हुनुहुन्छ, कतिपयसँग दलालले रु चार/पाँच लाखका दरले पैसासमेत असुलेको रहेछ’, उपसचिव भुसालले भने, ‘पुनर्स्थापना गृहमा लगेर रेस्ट गराउँछौं र उहाँहरूलाई लैजाने दलालको बारेमा सम्बन्धित निकायमार्फत् अनुसन्धान गर्छौं। प्रमुख जिल्ला अधिकारी जनकराज दाहाल उद्धार गरिएका नेपालीलाई काठमाडौं पठाउने व्यवस्था मिलाउनका लागि बिहानैदेखि पूर्वी नाका काँकडभिट्टामा खटिएका थिए।

ती नेपालीलाई इराक र युएई लैजाने गिरोहमा संलग्न भएको आशंकामा नौ जनालाई मणिपुर प्रहरीले पक्राउ गरेर नियन्त्रणमा लिइएको माइती नेपालका अध्यक्ष खड्काले जानकारी दिए।उद्धार कार्यमा भारतस्थित नेपाली दूतावास, भारतीय महिला आयोग, मणिपुरको प्रान्तीय सरकार र त्यहाँको प्रहरीले सघाएको बताइएको छ । मणिपुर प्रान्तका मुख्यमन्त्री एन वीरेन सिंह मणिपुरमा उद्धार गरिएका नेपालीलाई नेपाल पठाउन आफैं उपस्थित भएका उनले जानकारी दिए।उद्धार गरिएका नेपालीलाई सीपमूलक तालिम प्रदान गरेर उचित रोजगारीको अवसर प्रदान गर्न नेपाल सरकारको ध्यानाकर्षण गराइने अध्यक्ष खड्काले बताए।

Published on: 19 February 2019 । Setopati

Back to list

;