s

आईएलओको वर्किङ अन ए वार्मर प्लानेट रिपोर्ट : गर्मीले आठ करोडको नोकरी संकटमा

जलवायु परिवर्तनजन्य अत्यधिक गर्मीका कारण सन् २०३० सम्ममा विश्वभर ८ करोड मानिसको नोकरी जोखिममा पर्न सक्ने संयुक्त राष्ट्रसंघले जनाएको छ । यो वर्ष युरोपलगायतका अन्य क्षेत्रमा अनुभव गरिएको अत्यधिक गर्मीको उदाहरण दिँदै उसले सबैभन्दा बढी प्रभाव गरिब मुलुकमा पर्ने पनि उल्लेख गरेको छ ।

संयुक्त राष्ट्रसंघीय अन्तर्राष्ट्रिय श्रम संगठन (आईएलओ) ले सार्वजनिक गरेको प्रतिवेदनअनुसार यो शताब्दीको अन्त्यसम्ममा १.५ डिग्री सेल्सियसले तामक्रम वृद्धि भई २.२ प्रतिशत काम गर्ने समय (वर्किङ आवर) घट्नेसमेत जनाएको छ । ‘यसबाट ८ करोड मानिसको पूर्णकालीन नोकरी संकटनमा पर्ने छ,’ प्रतिवेदनमा उल्लेख छ, ‘अत्यधिक गर्मीका कारण नोकरी घट्दा २४ खर्ब अमेरिकी डलरबराबरको विश्वव्यापी अर्थतन्त्रले मूल्य चुकाउनुपर्ने छ ।’

‘आईएलओ’ का अनुसार भीषण गर्मी मानिसको शरीर/स्वास्थ्यले धान्नै नसक्ने भएकाले तिनीहरूको काम गराइ क्षमतामा कमी हुने छ । ‘जलवायु परिवर्तनका कारण हुने अत्यधिक गर्मीले श्रमिकको उत्पादकत्वमा कमी मात्रै हुने छैन, वर्षाको स्वरूपमा परिवर्तन, समुद्री सतहको जलस्तरमा वृद्धि र जैविक विविधतामाथि प्रतिकूल प्रभावसमेत पर्ने छ,’ आईएलओका क्याथरिन स्यागेटले भने ।

विश्व स्वास्थ्य संगठन (डब्लूएचओ) ले यसैसँग सम्बन्धित अर्को चेतावनी दिएको छ । डब्लूएचओले जलवायु परिवर्तनसँग सम्बन्धित हिट स्ट्रेस (तापजन्य तनाव) का कारण विश्वभर सन् २०३० र २०५० का बीच एक वर्षमा ३८ हजार थप मानिसको मृत्यु हुन सक्ने जनाएको छ । ‘हिट स्ट्रेस’ ले मानिसको शरीरले सहनै नसक्ने गर्मी अनुभव गर्ने छ ।

अत्यधिक गर्मीले लू लाग्ने, थकान महसुस हुने, शरीर कमजोर हुने, काम गराइको क्षमता घटना र अन्त्यमा मृत्युको दरसमेत बढ्न सक्ने छ । कृषि मजदुर, विशेष रूपमा महिला जसले यो क्षेत्रमा ९४ करोड श्रमिकलाई सहयोग गर्छन्, सबैभन्दा बढी प्रभावित हुने छन् । ‘आईएलओ’ ले २०३० सम्म गर्मीले उत्पन्न हुने तनावका कारण काम गर्ने समयमा ६० प्रतिशतसम्म कमी हुन सक्ने प्रक्षेपण गरेको छ ।अत्यधिक तामक्रमका कारण नोकरीमाथि संकट मात्रै होइन, कामदारको क्षमता पनि प्रभावित हुने रिपोर्टमा छ । यसले उत्पादनको क्षमता घटाउने छ ।

आईएलओको ‘वर्किङ अन ए वार्मर प्लानेट’ शीर्षक प्रतिवेदनमा ‘हिट वेभ’ को सबैभन्दा बढी दुष्प्रभाव शरीरमाथि पर्ने औंल्याइएको छ । यसबाट अधिकांश जनसंख्या कृषि र निर्माण क्षेत्रमा आधारित रहेको मुलुक सबैभन्दा बढी प्रभावित हुने छन् । गर्मीले सबैभन्दा बढी प्रभावित हुने मुलुकमा कम्बोडियामा ७.८३ प्रतिशत, चाड (मध्य अफ्रिकी मुलुक) मा ७.११, थाइल्यान्डमा ६.३९ र सुडानमा ५.९ प्रतिशत रहेको छ । भीषण गर्मीका कारण भारतमा कुल ५.८ प्रतिशत काम गर्ने समयलाई प्रभावित पार्ने छ । त्यहाँ ३.४ करोड मानिसको नोकरी संकटमा पर्ने छ । त्यस्तै, चीनमा खराब मौसमका कारण ५.४७ करोड र अमेरिकामा ३.८९ लाख नोकरीमाथि असर पर्ने छ ।

भीषण गर्मीका कारण कृषि र निर्माण क्षेत्र सबैभन्दा बढी प्रभावित हुने छ । यसबाट काममा ६० प्रतिशत समय प्रभावित हुने छ भने १९ प्रतिश समयमा कुनै पनि राम्रो काम हुन नसक्ने रिपोर्टमा छ । भीषण गर्मीका कारण पूरै विश्वमा पलायनको स्थिति आउने छ ।

कृषि क्षेत्रमा लागेका मानिस आफ्नो पेसा छाडेर सहरमा नोकरी खोज्न थाल्ने छन् । यसबारे विश्वकै आर्थिक अवस्था खराब हुने छ । खासगरी दक्षिण र पश्चिम एसियाको अवस्था सबैभन्दा खराब हुने छ । यो शताब्दीको अन्त्यसम्म स्थिति भयावह हुने चेतावनीसमेत दिइएको छ ।

सार्क मुलुकमा गर्मीका कारण घट्ने काम गर्ने समय (प्रतिशतमा)
अफगानिस्तान०.२५
बंगलादेश ४.८४
भुटान ०.३८
भारत ५.८०
माल्दिभ्स ०.१५
नेपाल २.०५
पाकिस्तान ५.५४
श्रीलंका २.६७

Published on: 4 July 2019 | Kantipur

Back to list

;