s

आगलागीमा ज्यान गुमाएका दुईजनाको शव १४ महिनापछि बल्ल साउदीबाट नेपाल आयो

होम कार्की

साउदीमा आगलागीमा परी ज्यान गुमाएका रूपन्देहीका राजेन्द्र लोध र विसुनप्रसाद लोधको शव १४ महिनापछि बुधबार काठमाडौं आइपुगेको छ । २०१७ अक्टोबर १५ मा रियादस्थित औद्योगिक क्षेत्रको वर्कसपमा आगलागी हुँदा उनीहरूको मृत्यु भएको थियो । उनीहरू भोलिपल्ट नेपाल फर्किने तयारीमा थिए ।

छोरा राजेन्द्रको शव लिन काठमाडौं आएका ६० वर्षीय नन्दुले भने, ‘उपरवालाको अगाडि हाम्रो केही लाग्दैन । उसले जे दिन्छ । हामीले त्यही थाप्ने हो । यतिखेर मलाई दुई छोरालाई एकसाथै घरबाट माला लगाएर पठाएको क्षण झलझली भइरहेको छ ।’ राजेन्द्र र विसुनप्रसाद बालसखा थिए ।
 
गाउँमै खेती किसानी गरेर बसेका उनीहरू डेढ लाख रुपैयाँ ऋण लिएर साउदी गएका थिए । विसुनप्रसादका पिता रामवृक्षले भने, ‘त्यसरी हात हल्लाउँदै बिदा गरेका छोराहरू बाकसमा फर्किंदा मनमा ठूलो पोको आएर बसेजस्तो भएको छ ।’ दुवैको घर पनि जोडिएको छ ।
 
घटना भएकै दिन उनीहरूले परिवारलाई भोलिपल्ट नेपाल आउन लागेको बताएको आफन्त सुवास लोधले बताए । उनीहरू राजधानी रियादस्थित सिफा औद्योगिक क्षेत्रमा वर्कसपमा काम गर्थे । काम गर्ने ठाउँमै बस्ने व्यवस्था थियो । आगलागीमा उनीहरूसहित १४ जना विदेशी कामदारको ज्यान गयो ।
 
राजेन्द्रको घटनास्थलमै ज्यान गयो । विसुनको उपचारक्रममा १० दिनपछि मृत्यु भयो । शरीर जलेका कारण राजेन्द्रको पहिचान हुनै सकेन । काठमाडौंबाट डीएनए रिपोर्ट पठाएपछि बल्ल पुष्टि भएको रियादस्थित नेपाली दूतावासले जनाएको छ । घटना भएको १० दिनपछि मात्रै परिवारले मृत्युबारे थाहा पाए । ‘अघिल्लो दिनसम्म नेपाल आउने खबर छाडेका थिए, भोलिपल्टदेखि दुवै जना बेपत्ता भए,’ सुवासले भने, ‘सोधखोजपछि मात्रै मृत्यु भइसकेको पत्ता लाग्यो ।’
 
स्पोन्सरले जिम्मा नलिँदा ढिलो
 
उनीहरू एक साउदी नागरिकको व्यक्तिगत स्पोन्सरसिपमा गएका थिए । काम गर्ने वर्कसपको स्पोन्सरसिपमा थिएनन् । ती साउदी नागरिकले शव पठाउने जिम्मेवारी लिएनन् ।
 
‘मैले स्पोन्सरसिप मात्रै गरिदिएको हो । त्यसबापत दुई जनाले मासिक २ सय रियाल मलाई शुल्क बुझाउने गर्थे,’ ती साउदी नागरीकको भनाइ थियो, ‘शव पठाउने जिम्मेवारी मेरो होइन ।’
 
वर्कसप पनि आफ्नो स्पोन्सरसिपमा नरहेको भन्दै शव पठाउन पन्छियो । ‘दूतावासले बारम्बार अनुरोध गर्दा पनि साउदी नागरीकले मानेनन् । राजदूतले रियादका गभर्नरलाई भेट्नुभयो । परराष्ट्र मन्त्रालयलाई पटकपटक अनुरोध गर्नुभयो,’ नियोग उपप्रमुख आनन्दराज शर्माले भने, ‘साउदी सरकारले स्पोन्सरको बैंक रोक्का गरिदियो ।’
 
साउदी नागरिक सम्पर्कविहीन भएपछि दूतावास आफैंले शव पठाउन लाग्ने सबै कागजात बनायो । चौतर्फी दबाब दिएपछि साउदी नागरिक नेपाली दूतावास आइपुगेका थिए । उसले आफू ऋणमा डुबेको भन्दै शव पठाउने खर्च दिन नसक्ने बतायो ।
 
स्पोन्सरले जिम्मेवारी नलिएपछि उनीहरूको शव पठाउने खर्च वैदेशिक रोजगारी प्रवद्र्धन बोर्डले ब्यहोरेको हो । एउटा शवका लागि ९ हजार ५ सय रियाल खर्च लागेको छ । सुमेशा अस्पतालमा शव राखेको शुल्क मात्रै ६ हजार रियाल तिर्नुपरेको हो ।
 
बोर्डले घरसम्म शव लैजानका लागि गाडीको समेत व्यवस्था गरिदिएको छ । ‘हाम्रो गाउँमा अहिलेसम्म विदेश जानेको शव भित्रिएको थिएन,’ शव लिन आएका रोहित कोहोरले भने, ‘एकैपटक एउटै आँगनमा दुईवटा शव पुग्ने भयो ।’
 
Published: 27 December 2018 | Kantipur

Back to list

;