s

आगलागीमा ४ मजदुरको मृत्यु ६ घाइते, ८ घर जल्यो, धनमालको ठूलो क्षति

सदरमुकामदेखि दक्षिण श्रीमष्टा गाविस सलिसल्लाको दर्पीमा मजदुर सुतेको छाप्रोमा आगो लाग्दा ४ जनाको मृत्यु भएको छ । त्यहाँ रहेका अन्य ६ घाइते भएका छन् । सडकमा काम गरेर फर्किंदा बुधबार राति खाना खाएर सुतेको अवस्थामा छाप्रोमा आगो लागेको हो । प्रहरीका अनुसार आगलागीबाट मृत्यु हुनेमा कालिकोट लालु ८ का ३५ वर्षीय जयबहादुर मिजार, २५ वर्षीय मानबहादुर विक, ४० वर्षीय नयाँ सुनार, वडा ९ का २८ वर्षीय जगत सुनार रहेका छन् । घाइते हुनेमा लालु ८ का गोबिन्द सुनार, लोगबहादुर सुनार, जसबहादुर सुनार, रमेश सार्की र गोबिन्द सुनार तथा वडा ६ का लोक सुनार छन् । घटनास्थलबाट घाइतेलाई उपचारका लागि बुधबार हेलिकप्टरबाट काठमाडौं लगिएको प्रहरीले जनाएको छ । जिविसअन्तर्गत ग्रामीण पहुँच कार्यक्रम (र्‍याप) ले निर्माण गरेको सलिसल्ला दार्म ग्रामीण सडकमा मजदुरी गर्न कालिकोटबाट आएका उनीहरू दर्पीमा अस्थायी टहरामा बस्थे ।
 
७ घर जले
 
सिरहा– सीतापुर ४ मा बिहीबार बिहान भएको आगलागीबाट चार परिवारको सात घर जलेर नष्ट भएको छ । स्थानीय रामविलास रामको गोठमा बालेको घुरबाट सल्केर आगलागी भएको प्रहरीले जनाएको छ । आगोले रामविलासको ३, उनका छिमेकी रामबली रामको २, फेकन राम र लखन रामको एक/एक वटा घर जलेको स्थानीय उमेश यादवले बताए । उनीहरूको घरमा भएका सामान, अन्न, कपडा जलेर नष्ट भएको छ । स्थानीय र प्रहरीले आगो नियन्त्रणमा लिएका थिए ।
 
यसैगरी काभ्रेमा बिहीबार बिहान १ बजे विद्युत् सर्ट भई आगलागी हुँदा उग्रचण्डी नाला ७ का टंकप्रसाद दाहालको २ तले कच्ची घर पूर्णरूपमा क्षति भएको छ । अन्नपात, गरगहना र लत्ताकपडासमेत जल्दा ठूलो धनमाल नष्ट भएको इलाका प्रहरी बनेपाका इन्स्पेक्टर दीपक भारतीले जनाए । भक्तपुरबाट ल्याएको दमकल, प्रहरी र स्थानीयको सहयोगमा आगो नियन्त्रणमा लिएको स्थानीय दिवाकर दाहालले बताए । 
 
Published on: 25 December 2015 | Kantipur

Back to list

;