s

आगलागीमा परी १२ जना कामदार घाइते, चार जनाको अवस्था चिन्ताजनक

दैलेख : दैलेखमा आगलागीममा परेर १२ जना कामदार घाइते भएका छन्। आठबीस नगरपालिका-६ को माल्ले सामुदायिक वनमा लागेको आगोमा परेर १२ जना घाइते भएका हुन्।

घाइतेमध्ये चार जनाको अवस्था गम्भीर रहेको स्थानीय बलबहादुर थापाले बताए। घाइतेहरू प्रधानमन्त्री रोजगार कार्यक्रमअन्तर्गत गोरेटो बाटो निर्माणमा खटिएका कामदार हुन्।

थापाका अनुसार आगलागीमा परेका १२ जना प्रधानमन्त्री रोजगार कार्यक्रमअन्तर्गत गोरेटो बाटो निर्माणमा गएका थिए । ‘१२ जना प्रधानमन्त्री रोजगार कार्यक्रमअन्तर्गत गोरेटो बाटो खन्न खटिएका थिए। तलबाट कसले आगो लगायो थाहा भएन्, बाटो निर्माणको काम गर्दैगर्दा एक्कासी आगोको लप्को आएपछि भागदौड मच्चिएको रहेछ,’ थापाले भने ‘भाग्ने क्रममा नजिकैको ओडोरमा पुग्न सफल हुनेहरू सामान्य घाइते भएका छन्।’

जिल्ला प्रहरी कार्यालय दैलेखका अनुसार गोरेटो बाटो निर्माणमा खटिएका भैरव विकको अवस्था चिन्ताजनक छ। उनको शरीर जलेको प्रहरीले जनाएको छ। अन्य तीन जना पनि गम्भीर घाइते छन्। गम्भीर घाइते हुनेहरूमा नैना विक, बसुन्धरा विक र प्रकाश विक रहेको प्रहरीले जानकारी दिएको छ। अन्य ८ जना सामान्य घाइते छन्।

घाइतेहरूको उद्धार गरी आठबीस नगरपालिका-४ स्थित राकमकर्णाली आधारभूत अस्पतालमा उपचारका लागि प्राथमिक उपचार भइरहेको नगरपालिकाका उपप्रमुख कल्पना थापाले बताइन्।

गम्भीर घाइते भएका चार जनालाई थप उपचारका लागि हेलिकोप्टरमार्फत् सुर्खेतस्थित प्रदेश अस्पतालमा पठाउने तयारी भइरहेको उनले बताइन्। सामान्य घाइते भएकालाई समेत थप उपचारका लागि सुर्खेत पठाइने उपप्रमुख थापाको भनाइ छ।

Published on: 11 May 2023 | Annapurna Post

Link

Back to list

;