s

आफ्नैबाट बेचिन्छन् वैदेशिक रोजगारमा जाने अधिकांश महिला

सविता खड्का

कोसी प्रदेशको मोरङकी माया झा (नाम परिवर्तन) आफ्नी दुई छोरीको पालनपोषण र सुन्दर भविष्य बनाउने सपना बोकेर २०७९ असार ११ मा राम्रो तलबको आशाले उनी कुबेत पुगिन्। ११ वर्षअघि उनी कतार बसेर आएकी थिइन्। कतारबाट फर्किएलगत्तै नेपालमै सानोतिनो काम गर्दै जीविकोपार्जन गर्दै थिइन्। श्रीमान्सँग खटपट भएपछि उनीहरू छुट्टिएर बस्दै आएका थिए।

दुई छोरीसँग बस्दै आएकी झा आफ्नो कमाइले बच्चा हुर्काउन र पढाउन मुस्किल हुँदै गएपछि उनी विदेश जाने सपना बुन्न थालिन्। नभन्दै गाउँकै भाइहरूले विदेश पठाउने आश्वासन दिए। ‘भाइहरूले मलाई कुबेतमा नयाँ खुलेको कम्पनीमा राम्रो तलब हुन्छ। हाम्रा साथीहरू धेरै गइसकेको भन्दै प्रलोभनमा पारे’, पीडितले बताइन्। त्यही प्रलोभनमा परी उनी कुबेत गई आफ्ना दुई छोरीको राम्रो भविष्य साकार भएको कल्पनामा उनी डुब्दै गइन्। उनको विदेश जाने सपना साकार बनाउन भाइहरूको पहल देख्दा उनी बेचिने कुनै शंका गर्ने ठाउँ थिएन। भाइहरूले भने झैं कुबेत जान गाउँकै भाउजूले आफ्नो सुन धितोमा राखेर ब्याजको आशाले एक लाख ऋण काढेर दिएको उनको भनाइ छ।

केही समयको पर्खाइपछि उनी कुबेत पनि पुगिन्। कुबेत पुगेलगत्तै उनलाई कम्पनी नभएर कुबेती घरमा लगिएको थियो। ‘मलाई घरमा किन ल्याइएको?’,उनले सोधिन्, ‘म काम गर्दिनँ घरमा।’ ‘घर मालिकले दुई महिना घरमा काम गर्दै गर्नू, त्यसपछि कम्पनीमा काम लगाइदिन्छु’, घर मालिकले झुटो आश्वासन दियो। उनलाई अंगे्रजी नआएसँगै झन् कुबेती भाषा त आउने पनि भएन। भाषा थाहा नहँुदा झन् गाह्रो भएको उनको भनाइ छ।

त्यो घरको अर्को काम गर्ने महिलाले उनलार्ई बिहानदेखि बेलुकासम्म के–के गर्नुपर्ने सबै वृत्तान्त सुनाएको झाको कथन छ। हरेक दिन बिहान उज्यालोले घर मालिकको कोठामा जान आग्रह गर्दथ्यो। ‘बिहान उठ्नेबित्तिकै घर मालिकको खुट्टा सुमसुम्याएर उठाउनुपर्ने’, उनले भनिन्, ‘बिहान पाँच बजेदेखि रातको १२ बजेसम्म काम गर्नुपर्ने थियो।’ काम गर्दै जाँदा आफू पाँच लाख ५० हजारमा कुबेतीले एजेन्टसँग किनेको थाहा पाइन्। उनले भनिन्, ‘आफू बेचिएको थाहा पाउँदा मलाई नेपाल फर्काइदिनू भन्दा पनि घर मालिकले हामीले तिमीलाई किनेका हौं। त्यसैले काम गर्नुपर्छ। होइन भने राम्रो नहुने धम्की दिनप्रतिदिन आउँथ्यो। म आगोको भुङ्ग्रोमा परे झैं छटपटाइरहेकी थिएँ।’

कुबेतीको घरमा यो सबै झेल्न नसक्ने भएपछि उनी आफू बेचिएको हो भन्दै नेपालमा बहिनी पर्नेलाई सबै सत्यतथ्य खुलाइन्। उनलाई गाउँका भाइहरूले नै श्रम स्वीकृति भइसकेको छ भन्दै तीनवटा कागज दिएका थिए। उनी श्रम गरेर विदेश आएको छु भन्ने पक्षमा थिइन्। तर श्रम गरेको हो वा होइन भनी बुझ्दा उनी त विनाश्रम कुबेत आएको कुराले झन् उनलाई पिरोलेको गुनासो बताइन्। काम गरेवापत पूरा तलब पनि घर मालिकले दिएन’, झाले भनिन्, ‘काम पनि भनेको समयभित्रै सक्काउनुपर्ने थियो। उनीहरूले जे भन्छन्, त्यो मान्नुपथ्र्यो। धेरै नै मानसिक तनाव दिएकाले कसरी हुन्छ यहाँबाट छुट्कारा लिई नेपाल फर्कने सोच आइरहन्थ्यो।’

उनलाई कुबेतमा बेचिदिएका ती दुई व्यक्ति जो खड्के तामाङ र सचिन मियालाई नेपाल फर्काइदिन आग्रह गर्दा उल्टै गालीगलौच गर्दै कुबेतको जेलमा सडाउने कुराले उल्टै धम्की दिएको उनको भनाइ छ। यसो हुदै गर्दा त्यस कुबेती घरमा काम गरेको ६ महिना भइसकेको थियो। काम गरेको पूरै तलब पनि नदिई तीन महिनाको मात्र तलब बुझेको झाले बताइन्। त्यो तीन महिनाको तलब पनि नेपालमा छोरीहरूलाई पठाइदिएको उनको भनाइ थियो। बाँकी रहेको तीन महिनाको तलब पनि नपाएपछि उनी नेपाल फर्कन आफ्नासँग हारगुहार माग्न थालिन्। भारतमा बस्दै आएका श्रीमान्का साथीले भारतसम्म आउने हवाई टिकट काटिदिएको उनले बताइन्। उनी भारत हुदै नेपाल आएलगत्तै मानव बेचबिखन अनुसन्धान ब्युरोमा उजुरी पनि दिइन्। मानव बेचबिखनसम्बन्धी उजुरी दिएकी झाले केही समयपछि पीडक तामाङ र मियालाई हालै उक्त ब्युरोको दायराभित्र ल्याएको ब्युरोका प्रमुख प्रहरी उपरीक्षक नरहरि रेग्मीले जानकारी दिए।

गत आर्थिक वर्ष २०७८÷०७९ मा नेपालभरि महिला र पुरुष गरी १ सय ४६ मुद्दा संख्या नेपाल प्रहरीको मानव बेचबिखन अनुसन्धान ब्युरोमा रहेको पुष्टि छ; जसमध्ये महिला र पुरुष गरी २ सय ११ जना पीडित, २ सय ९१ जना अभियुक्त रहेका छन् भने १ सय ८० जना पक्राउ परेका मानव बेचबिखन अनुसन्धान ब्युरोको तथ्यांकले देखाउँछ।

नेपालभरि चालु आर्थिक वर्ष २०७९÷८० को पुस महिनासम्म ६८ मुद्दा संख्या रहेको तथ्यांकले देखाएको छ; जहाँ महिला र पुरुष दुवै गरी ९९ जना पीडित, १ सय ४१ जना अभियुक्त छन् भने ८६ जना पक्राउ परेको ब्युरोको तथ्यांकले देखाएको छ। हालसम्म ब्युरोद्वारा ४ सय ३८ जनाको उद्धार गरिएको रेग्मीले बताए। गत आर्थिक वर्षमा ४६ जना महिला ४ जना पुरुष छन् भने चालु आर्थिक वर्षको पुस महिनासम्म २८ जना महिला र १६ जना पुरुषको उक्त ब्युरोमार्फत उद्धार गरिएको नेपाल प्रहरीको मानव बेचबिखन अनुसन्धान ब्युरोको तथ्यांकले देखाएको छ। यही माघ महिनामा कुबेतबाट ३ महिला, इराकबाट १, ओमनबाट २ र भारतबाट १२ जना गरी जम्मा १८ जना महिलाको उद्धार भएको मानव बेचबिखन अनुसन्धान ब्युरोको तथ्यांकले खुलाएको छ।

‘वैदेशिक रोजगारको सिलसिलामा बेचिएका, अमानवीय व्यवहारमा परेका र नारकीय जीवन बिताइरहेका नेपाली चेलीबेटीको उद्धारका लागि निवेदन आउनेबित्तिकै उद्धार कार्य सुरु हुन्छ’,रेग्मीले भने। नेपालको कानुनअनुसार उद्धार प्रक्रिया धेरै लामो हुने भएकाले बेचिएका चेलीबेटीलाई तत्काल उद्धार गर्न नसकिएको रेग्मी बताउँछन्। ‘मानव बेचबिखनमा परेका पीडित महिलाको दुःख सुन्दा आजै उद्धार गरौं, भोलि नै स्वदेश फर्काऔं भन्ने लाग्छ, तर भनेजस्तो सजिलो छैन। जसले लगेर बेचबिखन ग¥यो, उनीहरूलाई नै फकाएर सहयोग लिँदा मात्र उद्धार कार्य सफल हुन्छ’, उनले भने।

सामाजिक सञ्जालका माध्यमबाट हुने सम्पर्क झन् डरलाग्दो रहेको उनको अनुभव छ। ‘सामाजिक सञ्जालमार्फत दलालसँग सम्पर्क राख्ने, दलालहरूले फोटो पठाइदेऊ भनेपछि फोटो पठाइदिने, तपाईंको फोटो धेरै लुगा लगाएको भयो अलि कम लुगा वा छोटा लुगा लगाएको फोटो चाहिएको हो भनेपछि त्यस्तै फोटो पठाइदिने र यसरी जाने पीडित पनि टन्नै भएका छन्’, उनले भने।

यसरी आफू जोखिममा पर्दै छु भनेर पनि वैदेशिक रोजगारमा जान चाहने शिक्षित महिलालाई जोगाउन झन् धेरै चुनौतीपूर्ण रहेको रेग्मीले बताए। राम्रो लगाउनुपर्ने, मिठो खानुपर्ने र समाजमा देखाउनुपर्ने प्रवृत्ति बढ्दै जाँदा पनि महिला जानाजान जोखिम मोल्न तयार हुने गरेका घटना धेरै पाइएको उनको अनुभव छ।

Published on: 14 March 2023 | Nagarik

Link

Back to list

;