s

आफ्नै शव बुझ्ने पत्र हातमा

होम कार्की

मोरङ इन्द्रपुर-४ की सविता नेपाल त्यतिखेर छक्कै परिन्, जब श्रीमान् शान्तरामको नाममा आएको पत्र खोलेर हेर्दा आफ्नै 'शव बुझ्न आउन' भनिएको आफैंले पढ्नुपर्र्‍यो ।

इलाका प्रहरी कार्यालय बेलबाले असार २८ मा शान्तरामलाई पठाएको उक्त पत्रमा लेखिएको थियो, 'गएको डिसेम्बर ८ मा मृत्यु भएकी सविता नेपालको शव कुवेतको फरेन्सिक अस्पतालमा छ । शव बुझ्न जिल्ला प्रशासन कार्यालय मोरङमा सम्पर्क गर्नु होला ।'

कुवेत दूतावासले मृतक भनी आफन्त खोज्न प्रशासनलाई पठाएको पत्र हात पार्ने उनै सविता परिन् । कुवेत अस्पतालमा अलपत्र अवस्थामा एक वर्षदेखि रहेका नौ शवमध्ये एक शव इन्द्रपुर-४ की सविता नेपालको भएको पत्रमा उल्लेख थियो ।

'आफ्नै शव बुझ्न आएको पत्र पढा नरमाइलो र अचम्म लाग्यो,' ३० वर्षीया सविताले भनिन्, 'पत्रअनुसार मृत्यु भएकी भनेको व्यक्ति मै हुँ ।'



त्यसो भए, कसरी यस्तो भयो त ?

उनले भनिन्, 'इन्द्रपुर-२ का भेषराज बस्नेतले विदेश पठाइदिन्छु भनेर मेरो राहदानी र २५ हजार रुपैयाँ ०६५ साउन १६ गते लिएर गएका थिए ।' तर भेषराजले सवितालाई नपठाई उनको राहदानीमा फोटो टाँसेर अर्कै महिलालाई पठाएका रहेछन् । 'म जिउँदो मानिसलाई मरेको भनी राजदूतबाट पत्राचार हुँदै आउनुमा मेरो राहदानी लैजाने भेषराज नै मुख्य दोषी हो,' उनले प्रशासनलाई दिएको निवेदन र बयानमा उल्लेख गरेकी छन्, 'मजस्तो सीधासाधा गृहिणीलाई वैदेशिक रोजगामा पठाइदिने बहानामा मबाट रकम र राहदानी लिई कथित महिलाको फोटो टाँसेर पठाइदिएको हुन सक्छ ।'

उनले भेषराजलाई पक्राउ गरी कारबाही गर्न माग गरेकी छन् । 'निजको कसुर प्रवृत्ति हेरी कानुनी कारबाही र हदैसम्मको सजाय गरी मेरो राहदानी र ब्याजसहितको रकम फिर्ता गराइदिन अनुरोध गर्छु,' उनले प्रशासनसँग भनेकी छन्, 'श्रीमान् परदेशमा रहेकाले विपक्षीलाई कारबाही गर्न म असमर्थ छु । उसलाई जसरी पनि पक्राउ गरी कानुनी दायरामा ल्याउन आवश्यक छ ।'

प्रशासनले यसको जानकारी वैदेशिक रोजगार प्रवर्द्धन बोर्डलाई दिएको छ । 'राहदानीमा टाँसिएको व्यक्तिको फोटो हेर्दा तामाङ समुदायको देखिन्छ,' बोर्डका कार्यकारी निर्देशक स्थानेश्वर देवकोटाले भने, 'मृतक व्यक्तिको जानकारी भेषराजले मात्रै दिन सक्छ ।' दूतावासले मृतक भनिएका अर्का बाबियाचौर-५, म्याग्दीका शान्ति दर्जीसमेत जीवितै रहेको हालै खुलेको थियो । देवकोटाका अनुसार नौ जनामध्ये दुई जनाको मात्रै आफन्त भेटिएको छ । इटहरा-५ का निलीमा योङहाङ लिम्बु र मदन पोखरा-२ पाल्पाका शान्ति सार्कीको आफन्त फेला परेका हुन् । उनीहरूका आफन्तले शव पठाइदिन दूतावासलाई अनुरोध गरेका छन् । 'नक्कली राहदानीमा पठाउने प्रवृत्तिले ठूलो समस्या छ,' राजदूत मधुवन पौडेलले भने, 'यहाँ कार्यरत झन्डै २५ प्रतिशत हाउसमेडको राहदानी नक्कली भएको अनुमान छ ।

Published on: 21 August 2011 | Kantipur

Back to list

;