s

आफन्तबिनाको दसैं

प्रियङ्का चन्द

‘बिछोडको पीडा नसकी खप्न

दसैंको बेलामा

तिमीलाई भेट्न आउँदै छु फर्की

रमाइलो गाउँमा।’

नवरात्रि प्रारम्भ भइसकेको छ। रेडियोमा नारायणगोपालको यो गीत घन्कन थालिसकेको छ। बिछोडको पीडा खप्न नसकेर यो दसैंको माहोलमा आफन्तहरू कोही विदेशबाट त कोही स्वदेशकै ठूला सहरबाट घर फर्कंर्दैछन्। डीभी परेर हाल अमेरिकाको क्यालिफोर्नियामा बस्दै आएकी अम्रिता ढुंगेल पाँच वर्षपछि नेपाल फर्किएकी छन्। पाँच वर्षदेखि अमेरिकामै दसैं मनाउँदै आएकी ढुंगेलले यसपालि स्वदेशमै दसैं मनाउनेछिन्। ‘अमेरिकामा साइतको टीका थाप्न नपाए पनि सानो पूजाकोठामा जमरा भने उमार्थें’, अम्रिता भन्छिन्, ‘सबै नेपाली एकै ठाउँमा भेला भई तास खेल्थ्यौं। एकअर्कालाई टीका लगाइदिन्थ्यौं।’

यसरी नै दसैं मनाएर फोटो फेसबुकमा हाल्ने अम्रिता यस वर्ष भने परिवारसँग दसैं मनाउन पाउँदा मक्ख छिन्। उनको अनुभवमा विदेशमा मनाएको दसैं त केवल झरा टार्ने कामजस्तो हुँदो रहेछ। ‘पाँच वर्ष विदेश बसेपछि बल्ल स्वदेश र विदेशबीचको फरक थाहा भयो’, उनी भन्छिन्। पछिल्लो समयमा नेपालबाट बिदेसिने युवाको संख्या बढ्दो छ। पढ्न होस् वा काम गर्न, जे निहुँ बनाए पनि देशबाहिर पाइला टेकिसकेपछि फेरि स्वदेश फर्कन भने कमै चाहन्छन्। कोही पीआर त कोही ग्रिन कार्ड भन्दै निरन्तर विदेशी बन्ने होडबाजीमा हुन्छन्। तर, यो बिदेसिने होडका कारण स्वदेशमा रहेका अभिभावक एक्ला बनेका छन्। दसैंमा पनि उनीहरूको मन उत्साहित छैन। दु:खी छन्।

क्षेत्रपाटीकी शान्ता श्रेष्ठकी जेठी छोरी प्रतिमा अस्ट्रेलिया गएको १४ महिना भयो। कान्छी छोरी प्रतिभा अमेरिका गएको तीन वर्ष बितिसक्यो। उनीहरू उतै छन्। हरेक चाडपर्वमा शान्ताको आँखा रसाउँछ। ‘छोरी नै छैनन्, के दसैं के तिहार’, उनी भन्छिन्। दसैंमा छोरीहरूले घर सफा गर्नेदेखि अचार, तरकारी बनाउने सबै काम गर्थे। अहिले उनी आफूलाई एक्लो महसुस गरिरहेकी छन्। ‘केही नातेदारलाई बोलाउने मन त छ तर पहिलेजस्तो चहलपहल भने हुँदैन’, उनी भन्छिन्, ‘छोरी हुनुजस्तो कहाँ हुन्छ र?’

कालोपुलकी प्रज्ञा बस्नेतको पनि अवस्था त्यस्तै छ। यही वर्ष उनकी बहिनी अस्ट्रेलिया गएकीले दसैंको चहलपहलले आफूलाई नछोएको उनी बताउँछिन्। ‘अहिलेसम्म दसैंको लुगा पनि किनेकी छैन। पहिले दिदीबहिनीसँगै सपिङ जान्थ्यौँ, तास खेल्थ्यौं, काँक्रोको अचार हाल्थ्यौं’, प्रज्ञा भन्छिन्, ‘अहिलेको दसैं त शून्य भएको छ।

दसैंमा आफन्तको आशमा बस्नेहरूको पीडा भोग्नेलाई मात्र थाहा हुन्छ। आधुनिकताले गाँज्दै गएको नेपालमा युवा बिदेसिने होड छ। तन्नेरी हुन्जेलसम्म लालनपालन गरेर हुर्काएका सन्तान अभिभावकलाई बुढेसकालमा एक्लै छाडेर विदेशतिरै ‘सेटल’ हुन्छन्। रित्तो घरमा अभिभावक एक्लै। धन्य छ इन्टरनेट, जसले अभिभावकलाई दसैंमा सन्तानको अनुहार भने हेर्न पाउने बनाइदिएको छ। त्यो पनि इन्टरनेटको पहुँच हुनेहरूको घरमा।

छोराछोरी बिदेसिन थालेपछि स्वदेशमा बसेका आमाबुवा इन्टरनेट र फोनमार्फत नै एकअर्कालाई दसैंको शुभकामना दिन्छन्। कोही भने दसैंको मंगल धुन बजाई स्काइपका आफ्ना छोराछोरीलाई साइतकै समयमा अनलाइनमा बोलाई टीका लगाइदिन्छन्। ‘पहिले दाइले पठाएका चिठीलाई नै आमाले दसैंको टीका लगाइदिँदा हाँसो उठ्थ्यो। अहिले भने छोराको अनुहार स्काइपमा देख्दा ल्यापटपभरि आफैँ रातो टीका लगाइदिन्छु’, चाबहिल निवासी परमेश्वरी झा भन्छिन्।

Published on: 6 October 2013 | Annapurna Post

Back to list

;