s

आफन्तबाटै यसरी बेचिन्छन् चेली

 झापा-महिला बेचबिखनविरुद्धको अभियान टोल–टोलसम्मै पुगिरहेको र सामाजिक रुपमा जागरण उठिरहेका बेला पनि मानव तस्कर नेपाली महिलालाई सीमा कटाउन सफल भइरहेका छन्। अनेक बहानामा युवतीहरुलाई आकर्षित गर्दै र कतिपय ठाउँमा पारिवारिक सहमतिमै पनि तस्करले उनीहरुलाई परिवारबाट खोसिरहेको समेत भेटिएको छ।
 
नेपालका विभिन्न भागमा मानव तस्करीको स्थायी जालो सञ्चालन गरिरहेका तस्करहरुले महिलाका आफन्तलाई समेत परिचालन गरेर आफ्नो कब्जामा पार्ने गरेको भेटिएको छ। लामो समयदेखि परिवारको अभिभावककै भूमिका गरिरहेका आफन्तसमेत बेचबिखनको एजेन्ट बनेकोसमेत पाइएको छ। तर, अपराधको रहस्य खुलेपछि बेपत्ता बनेका ती अभियुक्तहरु प्रहरी फन्दामा भने पर्न सकेका छैनन्।
 
झापा बुधबारेकी २२ वर्षीया शर्मिला गोले (नाम परिवर्तन) आफ्नै फुपाजुसँग एक महिना अघि सीमावर्ती भारतीय सहर सिलिगुढी घुम्न गइन्। बलिउडका चर्चित कलाकारहरुको कार्यक्रम रहेको बताउँदै उनले भदैनी लिएर कार्यक्रम हेर्न जाने प्रस्ताव घरमा राखे।
शर्मिलाकी साथी समता थापा (नाम परिवर्तन) पनि जाने भइन्। परिवारले बाबु समानका फुपाजुसँग छोरीहरु कार्यक्रम हेर्न जाने भनेपछि रोकतोक गरेन। तर, उनीहरु घरबाट हिँडेको तीन दिनसम्म नफर्केपछि परिवार खोजीमा जुट्यो। सिलिगुढी पुगेर परिवारले धेरैतिर चहारे। यसबीचमा सहरमा बलिउड कलाकारको कुनै कार्यक्रम थियो–थिएन भन्ने पनि बुझे। त्यसबेला थाहा भयो, त्यहाँ कुनै कार्यक्रम भएको कसैलाई थाहा थिएन। प्रहरीलाई पनि कुनै जानकारी थिएन।
 
सिलिगुढी प्रहरीले झुक्याएर ल्याएको हुनसक्ने अनुमान गरे। परिवारले नजिकका नातेदार ती फुपाजुको भारत बाघडोग्रास्थित घरमा सम्पर्क गरे। उनी घरबाट हिँडेको झण्डै चार महिना भइसकेको र त्यसबीचमा कुनै सम्पर्क नगरेको खबर शर्मिलाकी फुपुले दिइन्। परिवारका सबै सदस्यको मनमा अब चाहिँ चिसो पस्यो।
 
यसबीचमा खोजी जारी रह्यो। उनीहरु घरबाट हिँडेको पाँच दिनपछि घर आइपुगे। पछि थाहा भयो, सिलिगुढी नजिकैको एउटा बस्तीभित्रको होटलमा उनीहरु दुवैलाई बन्धक बनाएर राखिएको रहेछ। 'प्रहरीले त्यहीबेला छापा मारेपछि हामी जोगियौं', केही दिनअघि घरैमा शर्मिलाले भनिन् 'यहाँभन्दा धेरै केही बोल्नु छैन।' बाबु समानका फुपाजुले भारतीय होटलमा लगेर बन्धक बनाउलान् भन्ने उनीहरुले सोचेनन् न परिवारले भेउ पायो। त्यस्तै मोरङको उर्लाबारी–७ की मीरा थापा क्षेत्रीलाई भारतको आसामका एक व्यक्तिले विवाहको प्रस्ताव राखे।
 
उर्लाबारीमै डेरा गर्ने कुनाल नामका ती व्यक्तिले उनलाई विवाहका लागि निरन्तर दबाव दिए। परिवारबाट स्वीकृति नपाएपछि मीराले २०६९ भदौमा भागेर विवाह गरिन्। तर, विवाहपछि कुनालले घर लान मानेनन्। एक दिन दुई दिन भन्दाभन्दै डेढ महिना बित्यो। मीराको दबावपछि कुनालले काँकडभिट्टा हुँदै आसाम लाने भनेर एक होटलमा राखे। अर्काे दिन उनीहरु आसाम जाने तयारीमा थिए। 'काँकरभिट्टाबाट रिक्सा चढ्दा मलाई शंका लाग्यो, ऊ अर्काे रिक्सामा चढ्यो', मीराले भनिन्- 'नेपाली सुरक्षाकर्मीले केरकार गर्न थालेपछि ऊ बेपत्ता भयो, मैले उसको नियत पनि बुझेँ।'
 
मीराको जीवन सम्भावित ठूलो दुर्घटनाबाट बच्यो। 'हो, माइती नेपालका मान्छे र प्रहरी नभेटेको भए मेरो जीवन के हुन्थ्यो, म सोच्न पनि सक्दिन',उनले थपिन् – 'अपरिचितको विश्वास गर्दा आफैं फँसे ।' १७ वर्ष लाग्दैगर्दा विवाह गरेकी मीरा अहिले पढाईलाई पूरा गर्न लागिपरेकी छिन्। उनी भन्छिन्- 'यहाँ भरोसा गर्न लायक कोही छैन, कोही अपरिचितले फकायो भने पुलिस इन्क्वेरी गरिहाल्नुस्।' उनीहरु प्रतिनिधि पात्र मात्रै हुन् । उनीजस्ता कत्ति बालिका र युवती दलालको षडयन्त्रमा परिसकेका छन्। 'सरहमै पनि मानव तस्करबाट खतरा छ', माइती नेपालको काँकडभिट्टास्थित कार्यालयका प्रमुख गोविन्द घिमिरे भन्छन्-'झापालाई ट्राञ्जिट बनाएर चेलीबेटी ओसारपसार गर्ने गिरोह सक्रिय छ।'
 
घिमिरेले सुरक्षाकर्मी, सर्वसाधारण, होटल व्यवसायी, यातायातका कर्मचारी सहयोगले मानव तस्करीमा संलग्न गिरोहका गतिविधि रोक्न सजिलो भइरहेको बताएका छन् । 'भूकम्पपछि ग्रामीण क्षेत्रका महिला बालबालिका बढी जोखिममा छन्', घिमिरेले थपे- 'सहरमा पनि खतरा उत्तिकै छ, सबैले सचेत बन्न आवश्यक छ।' नेपाली सुरक्षाकर्मी, माइती नेपाल, साना हातहरु, केआई नेपाल जस्ता सामाजिक संघसंस्थाको सक्रियताले मानव तस्करीमा संलग्न गिरोह निरुत्साहित बनेको छ तर, थाकिसकेको छैन। विभिन्न बहानामा, प्रलोभनमा नेपाली बालबालिका र महिलालाई बेचबिखन गर्ने प्रयासमा गिरोह लागिपरेको छ। 'नेपाली नागरिक सचेत छन्, तस्करीमा संलग्न गिरोहलाई निस्तेज पार्न सहयोग गरिरहेका छन्', घिमिरेले भने- 'त्यसैले मानव तस्करको गिरोह नयाँ–नयाँ
 
बहाना गरेर प्रलोभनमा पार्ने कोसिसमा छन्। ' यस्ता बहाना पनि तोड्न धेरै हदसम्म नेपाली सुरक्षा निकाय सफल भएको छ। माइती नेपालका अनुसार मानव तस्करीमा संलग्न गिरोहले झापामै पनि बाटो फेर्छ। काँकडभिट्टाबाट महिला वा बालबालिका लान नसक्ने स्थिति देखे बाहुनडाँगी, सतिघट्टालगायत अन्य नाका प्रयोग गर्ने गरेको पाइएको घिमिरे बताउँछन्। 'अहिले मेचीमा पानी घटेको छ', उनले भने – 'त्यसैले तस्करलाई सजिलो भएको छ तर उनीहरुको योजना सफल हुन दिइँदैन।'
 
माइती नेपालको सन् २०१५ को तथ्यांक अनुसार ३० जनालाई पूर्वी नाकासहितका क्षेत्रबाट उद्धार गरिएको छ। २९५ जनालाई रोकथाम, २१ हजार ३ सय २० जनालाई नाकाबाटै सुरक्षित रुपमा फिर्ता गरिएको छ। १ सय ४८ जना हराएको निवेदन परे पनि ३३ जना मात्रै भेटिएका छन्। तर, मानव बेचबिखन मुद्दा दर्ताको संख्या ५ मात्रै छ। 'अभियुक्त फरार हुन्छन्, पीडितले उजुरी दिन हामीलाई सहयोग गर्दैनन्', घिमिरेले थपे- 'त्यसैले कानूनी कारवाही गर्ने प्रयास विफल हुन्छ।' दलालले तोकेको ठाउँमा जाने र नाकामा दलाल नआउने हुँदा पनि पक्राउ गर्न समस्या भएको घिमिरेको अनुभव छ । 'पीडितको सहयोग पाए कुनै मानव तस्कर पनि उम्किन पाउँदैन', उनले भने।
 
Published on: 24 January 2016 | Nagarik 

Back to list

;