s

आफन्त कुर्दै परिवार

कमल पन्थी

कामका लागि मलेसिया पुगेका छोरा रामशरण थारू माघी पर्वसँगै घर फर्कने बाटो हेर्दैछन् बाबु बाँधुराम र आमा जोध्नी ।

बढैयाताल–७ प्रगतिनगरको मुक्त कमैया बस्तीका यी दम्पती छोरासँगैमाघी पर्व धुमधामले मनाउने प्रतीक्षामा छन् । रामशरण एक मात्र सन्तान हुन् । ७० वर्ष काटेका बाबु बाँधुराम आँखा देख्दैनन् ।
 
रामशरणजस्तै यो कमैया बस्तीका रामकृष्ण थारू पनि रोजगारीका लागि मलेसिया गएको डेढ वर्ष पुग्यो । श्रीमान् नहुँदा गत वर्षको माघी पर्व मनरानीलाई नरमाइलो लाग्यो । त्यसैले यस वर्षको माघीका लागि रामकृष्णलाई घर आउन भनेकी छन् तर आउने टुंगो छैन । ‘छुट्टी पाए आउँछु भन्नुभएको थियो,’ उनलेभनिन्, ‘अझै पनि आउनुहुन्छ कि भन्ने आशा छ ।’
 
यी दुईजस्तै मुक्त कमैया बस्तीका दर्जनभन्दा बढी युवा वैदेशिक रोजगारमा खाडी मुलुकसहित अन्य देश पुगेका छन् । माघी पर्व थारू समुदायको ठूलो चाड हो । यसलाई उनीहरू नयाँ वर्षका रूपमा पनि मनाउने गर्छन् । तसर्थ, वैदेशिक रोजगारीमा गएका आफन्त फर्कने प्रतीक्षामा परिवार छन् ।
 
निम्न आय भएका यहाँका मुक्त कमैयाको दैनिक ज्याला–मजदुरी मुख्य पेसा हो । जग्गा थोरै भएका कारण ज्याला–मजदुरी पनि सबैले पाउँदैनन् ।
 
यहाँका युवक–युवती, वयस्क महिला र पुरुष मघौटा नाचगान गर्दै बस्तीमा रमाइलो गर्दैछन् । जिल्लाका अधिकांश ठाउँबाट अध्ययन, पेसा व्यवसायलगायत वैदेशिक रोजगारीमा गएकाहरू माघी मनाउन घर फर्कंदै छन् । गाउँ–गाउँमा माघीको छुट्टै रौनक छ ।
 
माघीमा गच्छेअनुसार थारू समुदायले ढिक्रीलगायतका परिकार, सुंगुर, बंगुर, खसी, कुखुरा काटेर खाने गर्छन् । जिल्लामा झन्डै ५१ प्रतिशत थारू समुदायको बस्ती छ । त्यसैले पनि ग्रामीण बस्तीसम्मै माघी पर्वको रौनक बढेको हो । माघीकै लागि आइतबारदेखि जिल्लाका विद्यालयमा एक साता बिदा दिइएको छ ।
 
Published On: 14 January 2019 | Kantipur

Back to list

;