s

आधा दर्जन शव मलेसियामा अलपत्र

अर्जुन काफ्ले
 
क्वालालम्पुरः अवैधानिक रूपमा रोजगारीमा रहेकै अवस्थामा मृत्यु भएका आठ नेपालीको शव मलेसियाका विभिन्न अस्पतालमा अलपत्र परेका छन् । आर्थिक अभावका कारण ती शव नेपाल पठाउन समस्या भएको नेपाली दूतावास मलेसियाले जनाएको छ । मृत्यु भएको १ वर्ष भइसक्दा पनि उनीहरूको शव नेपाल पठाउन सकिएको छैन ।
 
मृतकका परिवारबाट शव नेपाल पठाउँदा लाग्ने रकम जम्मा हुन नसक्दा र यताको रोजगारदाता कम्पनीले शवबारे चासो नदिँदा शव अस्पतालमा अलपत्र परेका हुन् । वैधानिक अवस्थामा मृत्यु भएका नेपालीको शव भने यहाँका रोजगारदाता कम्पनीले नै नेपाल पठाउँदै आएका छन् ।
 
अवैधानिक हैसियतमा काम गरिरहेका नेपालीको शव भने परिवार वा आफन्तले रकम जम्मा गरेपछि मात्र नेपाल पठाइँदै आएको छ ।वैदेशिक रोजगार प्रवद्र्धन बोर्डले केही शव मलेसियाबाट नेपाल लगेको छ । हालसम्म ९ जना नेपालीको शव बोर्डको खर्चमा नेपाल पठाइएको दूतावासका प्रवक्ता उत्तम शाहीले जानकरी दिए ।
 
वैदेशिक रोजगार प्रवद्र्धन बोर्डले अलपत्र परेका नेपालीको शव नेपाल लैजान पहल गर्नुपर्ने भए पनि वैदेशिक रोजगार ऐनका कारण समस्या आएको स्रोतले बतायो । अवैधानिक हैसियतमा रहेका नेपालीको मृत्यु रोजगारीकै क्रममा भए उनीहरूको शव नेपाल फर्काउन मन्त्रीपरिषद्को निर्णय चाहिने भएकाले पनि मलेसियामा नेपालीका शव अलपत्र परेका हुन् ।
 
गत वर्ष सेप्टेम्बरमा मृत्यु भएका खोटाङका दिलबहादुर सार्कीको शव केडाहा अस्पतालमा छ । सोही महिना मृत्यु भएका कालीकोटका लक्ष्मण थापा र झापाका अर्जुन दाहालको शव क्वालालम्पुर अस्पतालमा छ । सुनसरीका श्रवणकुमार चौधारीको शव सेर्डाङ अस्पतालमा छ ।
 
चितवन माडीका राजकुमार विकको शव हालइपो अस्पतालमा छ । उनको पनि रकम अभावका कारण शव नेपाल पठाउन समस्या भएको हो । उनको १ महिनाअघि मलेसियामा मृत्यु भएको हो । मकवानपुरका अक्कलबहादुर मोक्तानको शव क्वालालम्पुर अस्पतालमा ३ महिनादेखि अलपत्र छ । गत जुलाईमा मोक्तानको मृत्यु भएको थियो ।
 
ठेगाना नखुलेका कारण २ नेपालीको शव २ वर्षदेखि मलेसियाको मलाया युनिभर्सिटी शिक्षण अस्पतालमा अलपत्र छ । भक्तबहादुर नेपाली र धर्मराज नाम गरेका ती नेपालीको शव शिक्षण अस्पतालमा अलपत्र परेका हुन् । उनीहरूको शव गत वर्षको जनवारीदेखि अस्पतालमा छ ।
 
लामो समयसम्म पनि शव नेपाल पठाउन नसकेपछि अस्पतालले व्यवस्थापन गर्ने वा मेडिकल कलेजले प्रयोग गर्ने अवस्था आएको दूतावास स्रोतले जनाएको छ । मलेसियामा अलपत्र परेका शवबारे नेपाल सरकारका तत्कालीन मन्त्रीहरू दीपक बोहोरा र चन्द्रबहादुर गुरुङलाई मलेसिया भ्रमणका बेला दूतावासले जानकारी गराएको शाहीले बताए ।
 
२०१५ मा मलेसियामा ४ सय ६१ नेपालीको मृत्यु भएको थियो भने २०१६ को हालसम्म २ सय ६९ जना नेपालीको मृत्यु भएको दूतावासले जनाएको छ । अधिल्लो महिना मात्र २२ जना नेपालीले मलेसियामा ज्यान गुमाएका छन् ।
 
एउटा शव नेपाल फर्काउन १ लाख ५० हजारभन्दा बढी लाग्छ ।
 
Published on: 22 September 2016 | Annapurna Post

Back to list

;