s

‘आबुधाबी डायलग’ मा नेपाली श्रमिकलाई समान ज्याला र मर्यादित वातावरण बनाउन जोड

संयुक्त अरब इमिरेट्स (यूएई) मा भइरहेको छैटौं ‘आबुधाबी डाइलग’ मा नेपालले वैदेशिक रोजगारमा जाने नेपालीलाई समान ज्याला र काम गर्ने मर्यादित वातावरण हुनुपर्नेमा जोड दिएको छ।

‘आबुधाबी डायलग’ खाडी मुलुकमा श्रमिक पठाउने र श्रमिक लिने देशका श्रममन्त्री सहभागी हुने एकमात्रै क्षेत्रीय मञ्च हो ।

सोमबार सम्पन्न सचिवस्तरीय वैठकमा नेपालका तर्फबाट श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयका सचिव सूर्यप्रसाद गौतमले नेपाली श्रमिकहरुलाई समान ज्याला हुनुपर्ने, कामको सम्मान हुनुपर्ने तथा काम गर्ने वातावरण मर्यादित हुनुपर्ने कुरा राखेका छन्।

मन्त्रीस्तरीय बैठक पनि बाँकी नै रहेको र त्यसमा श्रम मन्त्रीले पनि आफ्ना धारणा राख्ने मन्त्रालयका प्रवक्ता डण्डुराज घिमिरेले बताए।

‘मन्त्रीज्यूले पनि नेपाली श्रमिकहरुको हकहितका सम्बन्धमा धारणा राख्नु हुनेछ,’ घिमिरेले भने।

मन्त्रीस्तरीय बैठकमा श्रम मन्त्री कृष्णकुमार श्रेष्ठले आफ्ना धारणा राख्ने छन्। उनले नेपाली श्रमिकहरुलाई सीपयुक्त बनाउन गन्तव्य देशहरुलाई सहयोग गर्न आग्रह गर्ने मन्त्रालयले बताएको छ।

त्यस्तै वैदेशिक रोजगारमा जाने श्रमिकको सीप विकास, प्रमाणीकरणका लागि दुई देशबीचको सम्झौता र तालिम केन्द्र स्थापनाका लागि सहयोगको अपिल गरिने बताइएको छ।

डाइलग कात्तिक ८ देखि १२ गतेसम्म दुबईमा हुनेछ। गन्तव्य मुलुकमा नेपाली श्रमिकहरुले भोग्नु परेका समस्या उठान गर्नुका साथै गन्तव्य देशलाई ध्यानाकर्षण गर्ने गरी एजेन्डा प्रस्तुत गरिने मन्त्रालयले बताएको छ।

डाइलगमा वैदेशिक रोजगारको अवस्था, कामदारको माग तथा आपूर्तिको चक्र यसमा परेको असर तथा सुधारका सम्बन्धमा छलफल भइरहेको छ।

छलफलमा श्रमिक पठाउने मुलुककहरु नेपाल, बंगलादेश, चीन, भारत, फिलिपिन्स, इन्डोनेसिया थाइल्याण्ड, श्रीलंका लगायत मुलुकहरुको सहभागीता छ। त्यस्तै श्रम गन्तव्य मुलुकहरुमा साउदी, कतार, मलेसिया, बहराइन, संयुक्त अरब इमिरेट्स (युएई), ओमान र कुवेतको सहभागीता रहेको छ। 

श्रमिक आपूर्तिकर्ता देश तथा गन्तव्य देशबीच सहकार्यका लागि सन् २००८ यूएईमा आबुधाबी डाइलग सचिवालय स्थापना गरिएको छ। जसमा कोलोम्बो प्रोसेसमा आबद्ध १२ मुलुक, मलेसिया र खाडीका छ मुलुक आवद्ध छन्।

आप्रवासी श्रमिकहरुको समस्या सम्बोधनका लागि डायलगले महत्वपूर्ण भूमिका खेल्ने विश्वास लिइएको छ।

नेपालबाट पनि ठूलो श्रम शक्ति वैदेशिक रोजगारीमा जाने गरेको छ। मलेसिया, कतार, साउदी, युएईलगायत मुलुकहरुमा ठूलो संख्यामा नेपाली श्रमिकहरु कार्यरत छन्।

वैदेशिक रोजगार विभागको तथ्यांक अनुसार दैनिक एक हजार बढी नेपालीहरु रोजगारीको खोजिमा विदेशिने गरेका छन्। विदेशिनेहरुमा सबैभन्दा ठूलो संख्या खाडी तथा मलेसियामा छ।

Published on: 28 October 2021 | Setopati

Link

Back to list

;