s

युएईलाई नेपालमा लगानी गर्न राष्ट्रपति भण्डारीको आग्रह

युनाइटेड अरब इमिरेट्स (युएई) को भ्रमणमा रहेकी राष्ट्रपति विद्यादेवी भण्डारी र त्यहाँका राजकुमार तथा युएई सेनाको डेपुटी सुप्रिम कमान्डर शेख मोहम्मद बिन जयद अल नाह्नबीच द्विपक्षीय भेटवार्ता भएको छ ।
 
बुधबार भएको वार्तामा दुवै पक्षले विगत ४० वर्षदेखि दुई देशबीच कायम रहेको कूटनीतिक सम्बन्धमा सन्तुष्टि व्यक्त गरेका थिए । वार्तामा दुवै पक्षले दुई देशबीचको सम्बन्धलाई थप मजबुत बनाउनुपर्नेमा जोड दिएको युएईस्थित नेपाली दूतावासद्वारा जारी विज्ञप्तिमा उल्लेख छ । ‘राष्ट्रपतिज्यूको भ्रमणले दुई देशबीचको मैत्री सम्बन्ध तथा सहयोगलाई बढवा दिएकोमा युएईका राजकुमारले खुसी व्यक्त गर्नुभएको छ । उहाँले नेपालको स्वास्थ्य तथा शिक्षालगायत प्राथमिकताका क्षेत्र विकासमा सघाउने इच्छा व्यक्त गर्नुभएको छ,’ विज्ञप्तिमा जनाइएको छ ।
 
भेटवार्तामा दुवै पक्षले वाणिज्य, लगानी, पर्यटन, नवीकरणीय ऊर्जा, कृषि र पूर्वाधार विकास क्षेत्रमा सहयोग बढाउनुपर्नेमा सहमति जनाएका थिए । राष्ट्रपति भण्डारीले भेटमा नेपालको उत्पादन क्षेत्रमा लगानी गर्न युएईलाई आग्रह गर्दै नेपालमा वैदेशिक लगानी सुरक्षित रहेको विश्वास दिलाएकी थिइन् । भेटवार्तामा दुई देशबीच रहेको द्विपक्षीय संयन्त्रलाई पुनःसक्रिय गराउनुपर्नेमा दुवै पक्ष सहमत भएका थिए । निकट भविष्यमै दुईबीच रहेको संयुक्त परामर्श संयन्त्रको बैठक काठमाडौं गर्नेमा पनि भेटवार्तामा सहमति बनेको विज्ञप्तिमा उल्लेख छ ।
 
‘भेटमा राजकुमारले आप्रवासी नेपाली कामदार कडा परिश्रमी र इमानदार भएको भन्दै प्रशंसा गर्नुभएको थियो । परिश्रमी र इमानदारीकै कारण आप्रवासी नेपाली कामदारले युएईमा सम्मान पाउने गरेको उहाँले बताउनुभयो,’ विज्ञप्तिमा छ । राष्ट्रपति भण्डारीले भने युएईको विकास र समृद्धिमा नेपाली कामदारको भूमिका महत्वपूर्ण रहेको भेटमा स्मरण गराएकी थिइन् । राष्ट्रपति ले भेटमा युएईका राजकुमारलाई नेपाल भ्रमणको निम्तो दिएकी छिन् ।
 
Published on: 16 November 2017 | Nagarik

Back to list

;