s

युएई दूतावासले नक्कली शैक्षिक प्रमाणपत्र नेपाल पठायो

सुरेन्द्र पौडेल

युनाइटेड अरब इमिरेट्स (युएई) स्थित नेपाली दूतावासले झन्डै चार सय नक्कली शैक्षिक प्रमाणपत्र नेपाल पठाएको छ। केही महिनायता वैदेशिक रोजगारीमा गएका नेपाली कामदारबाट जफत गरिएका ती प्रमाणपत्र एसएलसीदेखि स्नातकोत्तर तहसम्मका छन्। 

प्रमाणपत्र मात्र होइन, प्रमाणीकरणमा शिक्षा र परराष्ट्र मन्त्रालयको छाप र सम्बन्धित सरकारी अधिकृतको हस्ताक्षरसमेत नक्कली छ। छाप र सही सक्कलजस्तै छन्। केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी) ले केही साताअघि ललितपुरको ग्वार्को र इमाडोलबाट नक्कली शैक्षिक प्रमाणपत्र बनाउँदै गरेको अवस्थामा सिन्धुपाल्चोकका बलिन्द्र रायमाझी, दिनेश अर्याल र दोलखाका पवन कोइराला गरी तीन जनालाई पक्राउ गरेको थियो। सेयौं थान नक्कली शैक्षिक प्रमाणपत्र (नम्बर राख्न माब बाँकी भएका) र अन्य नक्कली सरकारी कागजात तथा छाप सहित उनीहरु पक्राउ परेका थिए। 

सिआइबीले छापा मारी उनीहरुलाई पक्राउ गर्न एक साता मात्र ढिला गरेको भए त्रिभुवन विश्वविद्यालय र उच्चमाध्यामिक शिक्षा परिषदसँग सम्बन्धीत विभिन्न तहका डेढ लाख नक्कली खाली लब्धा.क पत्र (मार्कसिट) भारतबाट नेपाल भित्रिन्थे। मात्र २० हजार रुपैयाँ तिर्न बाँकी रहेकाले छापी सकेका ती डेढ लाख नक्कली कागजात नेपाल आउन रोकिएका थिए। 

सिआईबी स्रोतका अनुसार पक्राउ परेका सिन्धुपाल्चोकका बलिन्द्र रायमाझीले बयानका क्रममा नक्कली शैक्षिक प्रमाणपत्र मात्र २ सय भन्दा बढि बैदेशिक रोजगारीमा जाने बिभिन्न व्यत्तिलाई बिक्रि गरेको बताएका थिए। बिगत ६ बर्षदेखि उनी यस्तो कार्यमा सक्रिय थिए।

'नक्कली शैक्षिक प्रमाणपत्रमा आउने कामदार ह्वात्तै बढेका छन्, यसले यहाँ ठूलो समस्या सिर्जना गरेको छ,' युएईस्थित नेपाली दूतावासका उपनियोग प्रमुख दिपक अधिकारीले टेलिफोनबाट नागरिकसँग भने, 'जफत गरेका नक्कली प्रमाणपत्र थप जाँचबुझ गर्न नेपाल पठाएका छौं।'

दूतावासले केही महिनायता वैदेशिक रोजगारीमा जाने नेपालीबाट जफत गरी पठाएको नक्कली शैक्षिक प्रमाणपत्रको संख्या ३ सय ६२ छ। नेपाल पठाएका मध्ये १ सय ९३ वटा एसएलसी र १ सय ६९ वटा प्लस टु, प्रमाणपत्र तह, स्नातक तह र स्नातकोत्तर तहका मार्कसिट छन्। 

विदेशस्थित नेपाली नियोगले नक्कली शैक्षिक प्रमाणपत्र तथा मार्कसिट कारवाहीका लागि नेपाल पठाएको यो पहिलो घटना भने होइन। पटक पटक बिभिन्न देशमा रहेका नेपाली दूतावासले यस्ता कागजात नेपाल पठाउँदै आएका छन्, तर थप जाँचबुझ र कारवाही भने अगाडि बढ्न सकेको छैन। 

सन् २००९ मा युएई सरकारले सुरक्षा गार्ड लगायत कतिपय रोजगारीका लागि न्यूनतम योग्यता एसएलसी वा प्लस टु गरेको हुनुपर्ने नियम बनाएपछि नक्कली शैक्षिक प्रमाणपत्र तथा मार्कसिट लिई जानेको संख्या बढेको हो। जति धेरै पढेको शैक्षिक प्रमाणपत्र पेश गर्यो् सेवा सुविधा त्यत्ति नै बढी हुने भएकाले सुरक्षा गार्डमा जानेले स्नातकोत्तर तह सम्म पास गरेको कागजात पेश गर्ने गरेका छन्। 
नियमत बैदेशिक रोजगारीमा जानेको शैक्षिक प्रमाणपत्र पहिला जारी गर्ने शिक्षा मन्त्रालय, त्यसपछि परराष्ट्रले प्रमाणीकरण गरेपछि मात्र बिदेशीले मान्यता दिने गर्छन्। बिदेश गईसकेपछि पनि परराष्ट्रले प्रमाणीकरण गरेको शैक्षिक प्रमाणपत्र तथा मार्कसिटलाई त्यहाँस्थित नेपाली दूतावासले प्रमाणीकरण गरेपछि मात्र सम्बन्धित देशको बिदेश मन्त्रालयले मान्यता दिने अभ्यास रहिआएको छ।

'शैक्षिक प्रमाणपत्र पेश गरेपछि सुरक्षा गार्डले यहाँ एउटा परिक्षा दिनुपर्छ। परिक्षा पास हुनेले राम्रो सेवा सुविधा पाउँछन् ,' अधिकारीले भने, 'नक्कली शैक्षिक प्रमाणपत्र तथा मार्कसिट ल्याउने अधिकांस सुरक्षा गार्डमा आउने छन्। यहाँअलपत्र पर्ने अधिकांस यस्तै छन्।'

परीक्षा दिनको लागि नक्कली शैक्षिक प्रमाणपत्र बुझाउने केही नेपाली कामदार अहिले युएईको जेलमा छन्। नक्कली शैक्षिक प्रमाणपत्रमा आउनेलाई जेल सजाय, जरीवाना गराउनेदेखि नेपाल डिपोर्ट (फिर्ता पठाउने) गर्नेसम्मको व्यवस्था युएई कानुनमा छ। नक्कली शैक्षिक प्रमाणपत्रकै कारण युएई पुगी रोजगारीमा नलाग्दै नेपाली कामदारले रोजगारीबाट हात धुनु परेको छ।

'नक्कली शैक्षिक प्रमाणपत्र तथा मार्कसिट प्राय बिदेश जानेले बनाएको देखिन्छ,' सिआईबी स्रोतले भन्यो, 'केही बर्ष अघिसम्म होलोग्राम सक्कल जस्तो बनाउन सकेका थिएनन, अहिले त्यो दुरुस्त मात्र होइन सक्कली नै भेटिएको छ। यसले सम्बन्धीत क्षेत्रकै मान्छेको संलग्नता रहेको देखाउँछ।'

सिआईबी स्रोतका अनुसार नक्कली शैक्षिक प्रमाणपत्र बनाउन गिरोह नै सक्रिय छ। पक्राउ परेकाको बयान अनुसार एउटा शैक्षिक प्रमाणपत्र बनाईदिए बापत उनीहरुले ग्राहकबाट ८० हजार रुपैयाँसम्म लिने गरेका छन् , जुन छपाउँदा उनीहरुले बढिमा एक प्रतिको १० रुपैयाँ तिर्ने गर्छन्। गिरोहले भारतबाट खाली शैक्षिक प्रमाणपत्र तथा मार्कसिट छपाई गरी नेपाल ल्याउने र यहीं आवश्यक अनुसारको नम्बर राखी प्रिन्ट गर्ने गरेको भेटिएको स्रोत बताउँछ।

केही गिरोहले भारतको दिल्लीस्थित डिस्मेट कम्पनीमा यस्ता नक्कली शैक्षिक प्रमाणपत्र छपाई नेपाल ल्याउने गरेको स्रोत बताउँछ। स्रोतका अनुसार उक्त कम्पनीबाट नै डेढ लाख नक्कली खाली शैक्षिक प्रमाणपत्र ल्याउन लागिएको थियो। गिरोहका केही सदस्य प्रक्राउ परेपछि हाललाई यो टरेको स्रोत बताउँछ। प्राय स्नातक तह पास गरीसकेका युवा यस्ता आपराधिक क्रियाकलापमा संलग्न रहेको सिआईबीको अध्ययनले देखाएको छ।

'अहिले जन्मेदेखि मरेसम्मका कागजात नक्कली बनेको हामीले भेटेका छौं। सरकारी कागजातमा सुरक्षा पिचर्स नराखेकै कारण नक्कली कागजातको बिगबिगी बढेको हो,' सिआईबी स्रोत भन्छ, 'शैक्षिक प्रमाणपत्रमा मात्र होलोग्राम राखिएको थियो, त्यो पनि गिरोहले सक्कली राख्न थालेका छन्।'

कानुन फितलो हुँदा पनि कागजात नक्कली बनाउनेहरु बढेको स्रोत बताउँछ। स्रोतका अनुसार यस्ता व्यत्तिलाई पक्राउ गरी कारबाही अगाडि बढाए पनि ९ हजार ५ सय तिरेपछि सजायबाट मुक्ति पाउने हुँदा एक पटक पक्राउ परेर छुटेपछि पनि यस्तै क्रियाकलापमा पुनः संलग्न हुने गर्छन्।

Published on: 24 July 2012 | Nagarik

Back to list

;