s

सूर्य गार्मेन्टका मजदुरलाई विधिवत अवकास

अजित तिवारी

व्यवस्थापन-मजदुर विवादपछि बन्द भएको बहुर्राष्ट्रिय कम्पनी सूर्य नेपाल(गार्मेन्ट) प्रालिले त्यहाँ कार्यरत ६ सयभन्दा बढी मजदुरलाई मंगलबार विधिवत अवकास दिएको छ। 

झन्डै ६ सय मजदुरलाई क्षतिपूर्ति र बढेको तलब बाँडेर विधिवत अवकास दिएको सूर्य नेपालका कर्पेरेट उपाध्यक्ष रवि केसीले जानकारी दिए।
पुनः खोल्नुपर्ने भन्दै मजदुरले उद्योग परिसरमै लामो समयदेखि थालेको रिले-अनसन अवकासपछि तोडेका छन्। सूर्य गार्मेन्ट, ट्रेड युनियन र उद्योगी प्रतिनिधिबीच विराटनगरमा भएको वार्तामा क्षतिपूर्तिसहित बढेको तलब दिने सहमतिपछि मजदुरले विधिवत अवकास पाएका हुन्। व्यवस्थापनले क्षतिपूर्ति वापत हरेक मजदुरलाई २५ हजार र बढेको तलब चार हजार ८ सय गरी एकमुष्ठ २९ हजार ८ सय रुपैयाँ वितरण गरेको छ। सहमतिअनुसार व्यवस्थापनले मंगलबार उद्योग संगठन मोरङमा मजदुरलाई झन्डै तीन करोड रुपैयाँ क्षतिपूर्ति र बढेको तलब वापत भुक्तानी दिएको छ। गार्मेन्ट युनिट खोल्नुपर्ने मजदुरको तीव्र दबाब र अवरोधका कारण सूर्य नेपालले बन्द भएको उद्योगस्थलमै खोल्ने तयारी गरिरहेको अर्को कारखाना स्थापना लम्बिने भएपछि मजदुरलाई अवकास दिएको हो। 
 
गार्मेन्ट उद्योग नै फेरि खुल्यो भने अवकास पाएका सबै मजदुरलाई रोजगारी दिने सहमति उद्योग व्यवस्थापनले गरेको छ। केसीले नयाँ खुल्ने उद्योगबारे थप खुलाएनन्। ‘सूर्य नेपाल चाउचाउ, साबुनलगायत उद्योग स्थापना गर्ने सोचमा छ,' स्रोतले भने। 
 
बहुराष्ट्रिय सूर्य नेपालले अन्तर्राष्ट्रिय बजारमा लोकप्रिय जोन प्लेयर्स र स्पि्रइङवुड ब्रान्डका तयारी पोसाक उत्पादन गर्दै आएको थियो। गत चैतमा भएको ८ दिने बन्दको तलब पाउनुपर्ने माग गर्दै मजदुरले जेठमा आन्दोलन गर्दै कर्मचारी थुनेका थिए। कपडा काँटछाँट, सिलाइ र बुनाइको काम हुने गार्मेन्टमा कार्यरत सातसय मजदुरमध्ये अधिकांश महिला थिए। मजदुरसँगको विवादपछि दुई महिना उद्योग बन्द हुँदा ‘बजारमा विश्वास' गुमेको भन्दै व्यवस्थापनले मोरङको टंकि सिनुवारीस्थ्ति गार्मेन्ट कारखाना स्थायीरुपमै बन्द गरेको हो।
 
Published on: 21 September 2011 | Nagarik 

Back to list

;