s

साउदीद्वारा हस्तलिखित राहदानी अस्वीकार

 
होम कार्की

साउदी अरबले नेपाललाई जानकारी नदिई हस्तलिखित राहदानीमा भिसा लगाउन आइतबारदेखि रोक लगाएको छ । 

नेपालीका लागि तेस्रो गन्तव्य मानिएको साउदीमा ५ लाख नेपाली कार्यरत छन् ।
 
वैदेशिक रोजगारमा जाने कामदारको हस्तलिखित राहदानी बोकेर बंगलादेश पुगेका म्यानपावर कम्पनीका प्रतिनिधिहरू भिसा नलगाइदिएपछि फर्किएका छन् । साउदी जाने कामदारको भिसा लगाउन म्यानपावर कम्पनी बंगलादेशस्थित साउदी दूतावास पुग्नुपर्ने बाध्यता छ ।
 
फरेन इम्प्लोइमेन्ट एसोसिएसनका अध्यक्ष प्रेम कटुवालले भिसा लगाउन गएका ६० वटा म्यानपावर कम्पनीका प्रतिनिधि फर्किएको बताए । 'हामीले सधैं जसरी छनोटमा परेका कामदारको भिसा लगाउन बंगलादेश पठाएका थियौं,' कटुवालले भने, 'बिनासूचना एमआरपी बाहेकका हस्तलिखित राहदानीमा भिसा नलगाउने भन्दै फर्काइदिए ।' साउदी दूतावासले आफ्नो सरकारको सर्कुलरअनुसार एमआरपीबाहेकका राहदानीलाई मान्यता नदिएको जनाएको छ । यसबारे बंगलादेशस्थित दूतावासले साउदी राजदूतसँग छलफल गरेको छ । 'साउदी राजदूतले हामीलाई आफ्नो सरकारको सर्कुलरअनुसार हस्तलिखित राहदानीमा भिसा नदिएको जानकारी दिनुभयो,' बंगलादेशस्थित नेपाली दूतावासका उपनियोग प्रमुख कृष्णचन्द्र अर्यालले कान्तिपुरसँग भने, 'नेपाल सरकारले जारी गरेको हस्तलिखित राहदानीले २०१५ अपि्रलसम्म मान्यता पाउने आइकोवासँगको सम्झौताबारे जानकारी गराउँदै यसलाई निरन्तरता दिन आग्रह गरेका छौं।'
 
व्यवसायीले यसबारे बंगलादेशस्थित नेपाली दूतावासमा डेलिगेसन गएपछि मात्रै सरकारले जानकारी पाएको हो । उनका अनुसार परराष्ट्र मन्त्रालयमा जानकारी दिइसकेको छ ।
 
साउदी राजदूतले आफ्नो सरकारको अर्को निर्देशन नआएसम्म निर्णय यथावत् रहने बताएका छन् । 'हामीले उहाँलाई गरेको आग्रहप्रति सकारात्मक हुनुभएको छ,' अर्यालले भने, 'उहाँले हामीले राखेको आग्रहलाई आफ्नो मन्त्रालयलाई प्रस्टरूपमा राख्ने र त्यहाँबाट अर्को निर्देशन नआएसम्म अहिलेको हस्तलिखित राहदानीमा भिसा नदिने नीति भने यथावत् रहने बताउनुभयो ।' साउदीस्थित नेपाली दूतावासले भने यसबारे अगि्रम जानकारी नदिएको बताएको छ । 'हामीलाई यसबारे औपचारिक कुनै जानकारी दिएको छैन,' साउदीस्थित नेपाली राजदूत उदयराज पाण्डेले टेलिफोनमा भने ।
 
 
Published on: 14 November 2011 | Kantipur

Back to list

;