s

साउदी अरब पुगेकी महिला बेपत्ता

कमल पन्थी

रोजगारीका लागि साउदी अरब पुगेकी बर्दिया नयाँगाउँ ३ चैनपुरकी एक महिला वर्ष दिनदेखि सम्पर्कभन्दा बाहिर रहेकी छन् । सितला बजारस्थित एक दलालले रोजगारी दिलाइदिने प्रलोभनमा अरिना थारूलाई अरब पुर्‍याएका थिए ।

अरबको तबुकमनतग्ये सहरस्थित घरेलु कामदारका रूपमा काम गर्दै आएको जानकारी पारिवारिक स्रोतले दिएको छ । 'गत वर्ष भदौमा फोन सम्पर्क भयो, त्यसपछि हुन सकेन,' थारूका श्रीमान् चित्रबहादुरले भने । फोन गर्दा नउठेकाले उनको अवस्था अज्ञात रहेको उनले बताए ।
 
०६५ साल जेठ १४ गते उनीसँगै साउदी पुगेकी मीना थारू गत वर्ष घर फर्केकी छन् । उनले सउदीमा नेपाली महिलामाथि दिएको यातनाले धेरै जना थला परेको बताइन् । 'अरिनाले पनि तीन वर्षमा एक रुपैयाँ पनि पठाएकी छैनन् । उल्टै बेेपत्ता भइन्,' थारूले भने । उनलाई १० हजार रुपैयाँ मासिक तलब पाइने भन्दै अरब पठाएको थियो । निकै यातना दिएर राखेकाले श्रीमतीको उद्धार गरी स्वदेश फर्काउन उनले सरकार र विभिन्न संघसंस्थासँग अपिल गरेका छन् ।
 
मानव बेचबिखनविरुद्ध सुरक्षित बसाइँ सराइ प्रवर्द्धन कार्यक्रम न्यु नेपाल संस्थाले अरिनाको उद्धारका लागि परराष्ट्र मन्त्रालयमा पत्राचार गरेको जनाएको छ । संस्थाका अध्यक्ष कमलप्रसाद रेग्मीले अरिनालाई अरब पठाउने दलालको खोजीसमेत भइरहेको बताए । 'दलालको फोनको स्विच अफ गरिएको र उनी सितला बजारका बासिन्दासमेत नभएकाले खोजीमा समस्या भएको छ,' अध्यक्ष रेग्मीले भने । थारूले श्रीमती सम्पर्कविहीन भएको जानकारी प्रहरीमा दिएका छन् । प्रजिअ रामकृष्ण सुवेदीले जिल्लामा दलालबाट ठगिएका मुद्दा बढी आउने गरेकाले कडाइ गरिने बताए  ।
 
Published on: 13 September 2011 | Kantipur

Back to list

;