s

रूस गए जागिर पाइन्छ र युरोप छिर्न सकिन्छ भन्ने प्रलोभनमा नपर्न नेपाली विद्यार्थीलाई आग्रह

रूसमा पढ्न जाँदा आकर्षक जागिर पाइने र त्यहीँबाट युरोप छिर्न सकिने प्रलोभनमा नेपाली विद्यार्थीहरू फसेको पाइएको छ।मस्कोस्थित नेपाली राजदूतावासले मंगलबार एक विज्ञप्ति जारी गर्दै त्यस्ता प्रलोभनमा नपर्न आग्रह गरेको छ।

‘नेपालका विभिन्न शैक्षिक परामर्श केन्द्रहरूमार्फत स्टुडेन्ट भिसामा रसिया आउने नेपालीहरूले ‘रसियामा आकर्षक रोजगारीको अवसर रहेको’, ‘रसियाबाट सजिलै युरोप जान सकिने सम्भावना रहेको’ लगायतका विभिन्न प्रलोभनमा परी मोटो रकम बुझाएर रसिया आएको तर यहाँ परामर्श केन्द्रहरूले कबुल गरे बमोजिमको अवसर नरहेको एवं भाषागत समस्याका कारण यहाँको दैनिकी समेत कष्टकर रहेकोले नेपाल फर्किन सहजीकरण गर्न अनुरोध गर्दै यस राजदूतावासमा सम्पर्क गर्ने गरेका छन्,’ दूतावासले भनेको छ, ‘तिनैमध्येका केही विद्यार्थी परिवारबाट सम्पर्कविहीन भएको एवं ठूलो मानसिक तनावमा रहेको भनी खोजी गरिदिन घर परिवारबाट समेत अनुरोध भई आएको छ।’

रूसी महासंघका राम्रा विश्वविद्यालयहरुमा छात्रवृत्तिमा एवं नितान्त रूपमा अध्ययनका लागि आउने विद्यार्थीहरुलाई यहाँ यथेष्ट अवसर रहेका उल्लेख गर्दै राजदूतावासले भाषिक ज्ञानको अभावमा तथा यहाँको वस्तुस्थिति नबुझी विभिन्न प्रलोभनमा परेर आउनुभएका विद्यार्थीहरू अनेकन समस्यामा पर्ने गरेको बताएको छ।

‘स्टुडेन्ट भिसामा रूसी महासंघ आउँदा नितान्त अध्ययनबाहेक अन्य कुनै प्रकारको आश्वासन-प्रलोभनमा नपर्नुहुन सम्बन्धित सबै नेपाली विद्यार्थी तथा अभिभावकहरूलाई हार्दिक अपिल गर्दछौं,’ विज्ञप्तिमा भनिएको छ। यो विषयमा थप जानकारीका लागि दूतावासमा सम्पर्क गर्न पनि भनिएको छ।

Published on: 15 September 2022 | Setopati

Link

Back to list

;