s

रसिया पठाउने भन्दै ४५ लाख ठगी गर्ने तीनजना पक्राउ

रसिया लगेर कृषि फार्ममा जागिर लगाइदिने भन्दै ३१ जनालाई ठगी गर्ने तीनजना पक्राउ परेका छन् । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी)ले ललितपुरका राजु तामाङ, ज्ञानगोविन्द वैद्य र सिन्धुपाल्चोकका जगतबहादुर श्रेष्ठलाई पक्राउ गरेको हो ।

उनीहरूले ३१ जनासँग ४५ लाख रुपैयाँ ठगी गरेको सिआइबीले जनाएको छ । पक्राउ परेकामध्ये राजु नाइके हुन् । उनी रसियामै बस्दै आएका छन् । उनले रसियाको गाजेस्थानमा आफ्नो कृषि फार्म रहेको भन्दै त्यसबाट ८३ वटा ‘डिमान्ड लेटर’ बनाएका थिए ।

त्यो नक्कली भएको प्रहरीले जनाएको छ । सोझा युवालाई त्यही ‘डिमान्ड लेटर’ देखाएर कृषि फार्ममा मासिक एक हजार डलर तलबको जागिर लगाइदिने भन्दै प्रलोभनमा फसाएर ज्ञान गोविन्द र जगतबहादुरले पैसा उठाउँदै स्वास्थ्य परीक्षण समेत गर्न थालेका छन् ।

रसिया जानका लागि प्रति व्यक्ति ८ लाख ५० हजार रुपैयाँ लाग्ने भन्दै उनीहरूले पैसा उठाएको सिआइबीका डिएसपी कवित कटवालले बताए ।

Published on: 11 October 2018 | Gorkhapatra

Back to list

;