s

राजदूतको असहयोगले श्रम सहचारी फर्किन्

होम कार्की  

संयुक्त राष्ट्र इमिरेट्स -युएई) का लागि पठाइएकी श्रम सहचारी पार्वती अर्यालले राजदूतको पूर्वग्राहपूर्ण व्यवहारबाट पीडित भएको बताएकी छन् । उनले राजदूतबाट भएको 'मानसिक यातना' सहन नसकेर काठमाडौं फर्केको बताइन् ।
 
श्रम सहचारीको जिम्मेवारी पाएर युएई गएदेखि उनी र राजदूत अर्जुनबहादुर थापाबीचको सम्बन्ध तिक्ततापूर्ण थियो । श्रमबाट श्रम सहचारी पठाउने विषयमा परराष्ट्र र श्रम मन्त्रालयबीच सुरुदेखि जारी विवाद युएईको काम कारबाहीमा प्रस्ट रूपमा देखियो । 'काम कारबाहीमा कार्यभार सम्हालेको चार महिनादेखि राजदूतबाट असहयोग भयो । उहाँले पूर्वाग्रहपूर्ण व्यवहार गर्नुभयो,' अर्यालले भनिन्, 'त्यतिबेलादेखि फिर्ता हुन निरन्तर परराष्ट्र र श्रम मन्त्रालयमा जानकारी गराउँदा सुनुवाइ भएन ।' 
 
सरकारले श्रम मामिलामा सहयोग पुर्याउन दुई वर्षअघि पहिलोपटक कतार, युएई, साउदी अरब र मलेसियामा चार श्रम सहचारी पठाएको थियो । चारै जनाको कार्यअवधि सकिए पनि बाँकी मुलुकमा राजदूतको सहयोग भएकाले काम गरिरहेका छन् । उनीहरू नयाँ श्रम सहचारीको पखाईमा छन् । 'असोज २६ बाट कार्यअवधि सकिएकाले मानसिक तनावबाट मुक्त हुन नयाँ आउने साथीलाई पर्खिबस्न सकिनँ,' उनले भनिन् 'मेलै म्याद सकिएलगत्तै र्फकने इच्छा रहेेको भन्दै परराष्ट्र मन्त्रालयलाई निवेदन दिएँ । र्फकन परराष्ट्रले स्वीकृति दियो ।' म्याद सकिएको मुलुकमा नयाँ श्रम सहचारी पठाउन श्रम मन्त्रालयले दुई महिनाअघि नियुक्ति गरी परराष्ट्र पठाएको थियो । परराष्ट्रले त्यसलाई स्वीकार गरेको छैन । 
 
युएईको आबुधाबीस्थित दूतावासले श्रम सहचारी अर्याललाई दूतावास बाहिर काम गर्न र नेपाली संघसंस्थाको निमन्त्रणमा हुने कार्यक्रममा सहभागी हुन समेत रोकेको थियो । 'युएईस्थित नेपाली संस्थाहरू कामदारको समस्याको विषयमा काम गर्ने कर्मचारी पाएको भन्दै अर्याल नजिक भए । त्यसपछि धेरै कार्यक्रममा राजदूत र अर्याललाई निमन्त्रण हुन थाल्यो,' युएईमा पत्रकारिता समेत गर्दै आएका जेपी सापकोटाले भने । उनले कामदार र संस्थाहरूले श्रम सहचारीलाई बढी रुचाएपछि राजदूत थापा चिढिएको बताए । 'राजदूत र नेपाली समुदायबीचको सम्बन्ध त्यति राम्रो थिएन । पछि अर्याललाई निमन्त्रणा गरिएका कार्यक्रममा सहभागी हुनसमेत  रोक लगाइयो,' सापकोटाले भने, 'कतिपय आयोजकलाई उनले दूतावासका कर्मचारी कसलाई बोलाउने भनेर भनेर तोक्ने अधिकार आयोजकको नभई दूतावासको भएको भनेर पठाउँथे ।' 
 
उनलाई राजदूतले कहिल्यै स्टाफ मिटिङमा सहभागी गराएनन् । अर्यालले 'कामदारको समस्या, बसोवास गर्ने अवस्था बुझ्न फिल्डमा जानबाट वञ्चित गरी हाउसमेड सहचारी' बनाएको बताइन् । 'फिल्डमा गएर कामदारको अवस्था बुझ्न त पाइएन,' उनले भनिन्, 'दूतावासमा रहेर कामदारको समस्या समाधान गर्न आफ्नो क्षमताले भ्याएसम्मको काम गर्न सफल भएँ ।' 
 
श्रम सहचारीलाई राजदूतबाट भौतिक पूर्वाधारबाट समेत वञ्चित गराएको वैदेशिक रोजगार प्रवर्द्धन बोर्डका एक अधिकारीले दाबी गरे । 'उनको दुईवर्षे कार्यकाल आँसु पिएर बित्यो,' बोर्डका एक अधिकारीले भने, 'उनको कार्य कक्षको भौतिक अवस्थाको कुरै छाडौं, कार्यालयको काममा प्रयोग हुने सामान्य पि्रन्टरमा टोनर सकिएको एक वर्ष बित्दा परिवर्तन नगरेपछि बोर्डबाट पैसा पठाइएको छ ।' ती अधिकारीका अनुसार अर्याललाई टेलिभिजन र इन्टरनेट जस्ता आधारभूत सञ्चारमाध्यमबाट समेत वञ्चित गरिएको थियो । 
 
राजदूत थापाले 'अर्याल आपmनो चाहना अनुसार फर्केको' भन्दै श्रम सहचारी नहुँदा फरक नपर्ने बताए । श्रम सहचारीको असमझदारीको विषयमा उनले बताउन चाहेनन् ।  'हामीबीचको असमझदारी र श्रम सहचारीको कामबारे अहिले टिप्पणी नगरौं । आवश्यक परेको खण्डमा बताउँछु,' उनले कान्तिपुरसँग भने, 'श्रम सहचारी नहुँदा हाम्रो नियमित काममा असर पुग्दैन । किनभने हिजो श्रम सहचारी नहुँदा दूतावासका कन्सुलर लगायत अरूलेे काम गरेकै हो, भोलि पनि गरिन्छ ।'  
 
नेपाली संस्थाहरूबाट सम्मानित अर्याललाई युएईस्थित दर्जन नेपाली संघसंस्थाले सम्मान गरेर बिदाइ गरेका छन् । ५६ वटा नेपालीको छाता संगठन नेपाली समाजले 'नेपाली कामदारको सुरक्षा र समस्या समाधान गर्न ठूलो योगदान पुर्याएको' भन्दै सम्मानपत्र दिएको थियो । त्यसैगरी प्रवासी नेपाली संघ, नेपाली सम्पर्क समिति, नेपाली महिला समाज, नेपाल आदिवासी जनजाति महासंघ, नेपाल मगर संघ लगायत संस्थाले सम्मान गरे । ती कार्यक्रममा बोलाइए पनि राजदूत थापा सहभागी भएनन् ।  दूतावासका कर्मचारीले गरेको बिदाइ कार्यक्रममा समेत राजदूतको उपस्थिति थिएन ।    
 
Published on: 21 October 2011 | Kantipur

Back to list

;