s

कतारसँग सम्बन्ध विस्तार

राष्ट्रपति रामवरण यादवले गरेको कतारको राजकीय भ्रमण द्विपक्षीय सम्बन्ध विस्तारका दृष्टिले महत्त्वपूर्ण बन्न पुगेको छ । राष्ट्रपति यादव र कतारका अमिर -राष्ट्रप्रमुख) शेख हमाद बीन खलिफा अलथानीबीच मंगलबार दिउँसो द्विपक्ष्ाीय सहयोग तथा आपसी सम्बन्धबारे शिष्टाचार भेटवार्ता भएको थियो भने उनीहरूको उपस्थितिमा दुई देशका मन्त्री एवं अधिकारीहरूले कानुनसम्बन्धी सम्झौता र पर्यटन सहयोगसम्बन्धी समझदारीपत्रमा छुट्टाछुट्टै हस्ताक्षर गरेका थिए ।

कानुनी सम्झौताले दुई देशबीच कानुनका क्षेत्रमा अनुभव तथा विज्ञता आदानप्रदान गर्नेलगायत संयुक्त संयोजन समिति बनाएर सहकार्यका सम्भाव्य क्षेत्र पहिल्याउने बाटो खोलेको छ । त्यस्तै, पर्यटनसम्बन्धी समझदारीपत्रले एकअर्को देशका पर्यटकको आवागमन बढाउन प्रोत्साहित गर्नेछ । मध्यपूर्वको सानो राष्ट्र कतारसँग नेपालको सम्बन्ध मूलतः कामदार निर्यातमा सीमित रहेको पृष्ठभूमिमा पछिल्ला समझदारीले द्विपक्षीय सम्बन्धलाई फराकिलो पार्ने भूमिका खेल्न सक्छ ।

नेपाल-कतार सम्बन्ध निश्चय पनि रोजगारी र कामदारसम्बन्धी मामिलाभन्दा अगाडि बढ्नुपर्छ तर तत्कालका निम्ति नेपालभित्र यिनै मुद्दा बढी महत्त्वपूर्ण छन् । मुलुकभित्र रोजगारीको पर्याप्त अवसर नभएसम्म युवाहरू बिदेसिने क्रम रोकिने सम्भावना नरहेकाले त्यसलाई व्यवस्थित गर्नु र आयआर्जन बढाउने प्रयास गर्नुको विकल्प छैन । सन् २०२२ को फिफा वल्र्ड कप दोहामा हुने भएकाले त्यसका निम्ति स्टेडियमलगायत थुप्रै पूर्वाधार निर्माणका निम्ति थप कामदार आवश्यक पर्ने हुँदा कतारमा नेपाली कामदारको संख्या बढाउने मात्र होइन, उनीहरूलाई गुणस्तरीय काम दिलाउने कोसिस गर्न सकिन्छ । यसका निम्ति काठमाडौंमा कतारी दूतावासको स्थापना चाँडै भएमा कामदार निर्यातका दृष्टिले सुविधा मिल्नेछ ।
पेट्रोलियम पदार्थ निर्यातका कारण विश्वको सम्पन्न मुलुकमध्ये एक बन्न पुगेको कतारसँग निकट सम्बन्ध राखेर नेपाल लाभान्वित हुन सक्ने अन्य क्षेत्र पनि छन् । केही महिनाअघि संयुक्त राष्ट्रसंघीय महासभाको ६६ औं अध्यक्ष पदमा दुवै देशले उम्मेदवारी दिँदा नेपाल र कतारबीच एकखालको कूटनीतिक प्रतिस्पर्धा देखिएको थियो, जसमा अन्ततः कतार विजयी भयो । राष्ट्रपति यादवको पछिल्लो भ्रमणले द्विपक्षीय सम्बन्धलाई त्यसबेलाको प्रतिस्पर्धाबाट सामान्य स्थितिमा फर्काउन मद्दत पुर्‍याएको छ । राष्ट्रपति यादवको दोहा भ्रमणपछि कतारी अमिर अलथानी नेपाल आउन इच्छुक देखिएको र उनले काठमाडौंमा आफ्नो मुलुकको दूतावास स्थापना गर्नसमेत अग्रसरता लिएको अवस्थामा नेपालले कूटनीतिक लाभ हासिल गर्ने ठाउँ छ । खासगरी नेपालमा आर्थिक लगानी बढाउन र आफ्ना पर्यटकलाई हिमाली मुलुक घुम्न प्रेरित गर्न कतार तम्तयार देखिएको छ । नयाँ उद्योगको स्थापना एवं सेवामूलक क्षेत्रमा कतारको लगानी गराउन सक्ने हो भने पेट्रो-डलरबाट सम्पन्न भएका अन्य अरबी मुलुकहरूलाई समेत यसतर्फ आकषिर्त गर्न सकिन्छ । नेपाली समुदायको ठूलो संख्यामा उपस्थिति रहेको कतारबाटै यसको सुरुवात गर्न बढी सहज हुनेछ । 

Published on:  13 October 2011 | Kantipur

Back to list

;