s

पीडितकैदी@याहु.कम

होम कार्की

साउदी अरबको स्थानीय समय अनुसार बिहान ३ बजे मदनबहादुर गुरुङ साउदी जेलबाट सम्पर्कमा आए । जधानी रियादस्थित केन्द्रीय कारागारमा बन्दी जीवन बिताइरहेका गुरुङ ८ महिनादेखि जेलमा छन् । 

२८ वटा फ्ल्याट रहेको त्यस जेलको एउटा कोठामा गुरुङसहित २६ जना नेपाली छन् । जहाँ निर्दोष पनि रहेको दाबी गरिएको छ । 'हामी २६ जना नेपाली छौं,' फोनमा उनी भन्दै थिए, 'अरू फ्ल्याटहरूमा नेपालीहरू देखिन्छन् । तर यकिन संख्या थाहा छैन ।' 

रोजगारीका लागि साउदी पुगेका गुरुङ र उनका साथीहरू विभिन्न अपराधमा संलग्न भएको अभियोगमा थुनामा छन् । १४ वर्षदेखि साउदीमा काम गर्दै आएका गुरुङलाई प्रहरीले 'फेक आईडी' (झूटो परिचयपत्र) बनाउने कार्यमा संलग्न भएको आरोपमा पक्राउ गरेको हो । मलाई प्रहरीले बाटोमा साथीलाई पर्खिबसेको बेला गलत परिचयपत्र बनाउने गरेको अभियोगमा पक्राउ गर्‍यो । मैले आफ्नो कोठामा छापा मारी प्रमाण निकाल्न प्रहरीलाई चुनौती दिएँ,' उनले भने, 'तर, प्रहरीले मेरो कोठा छापा नमारी अन्त्यैबाट कागजपत्र जुटाएर प्रमाणको रूपमा पेस गरे ।' आरोप स्वीकार नगर्दा प्रहरीले पक्राउ गरेको ८ महिना बितिसक्दा पनि उनलाई अदालत लगेको छैन ।

आरोप पुष्टि नभएका र अदालत पनि नलगिएका नेपालीहरूले समूह बनाएर अहिले आफ्नो आवाज बाहिर पुर्‍याउने प्रयास थालेका छन् । यसका लागि उनीहरूले इमेललाई साधन बनाएका छन् । जेलमै रहेका नेपाली 'कैदी'ले यसका लागि अनौठो इमेल आईडी बनाएका छन्, 'पीडितकैदी@याहु.कम' ।

'जेलमा दूतावासका अधिकारीहरूबाहेक अरू आउने सम्भावना हुँदैन । दूतावासको अधिकारीहरू जेलमा दुर्लभ रूपमा आउँछन् । आए पनि जेल प्रशासनसँग भेट्छन्, जान्छन् । हाम्रो स्थितिका बारेमा खासै वास्ता गर्दैनन्,' गुरुङले इन्टरनेटको सहारा लिनुको कारण बताए ।  हामीलाई भेट्न आउनेलाई भित्र आउन नदिने भएकाले इमेल चलाउन थालेका हौं,' उनले भने, 'जेलबाहिर रहेका साथीहरूको सहयोग लिई प्रयोगमा ल्याइरहेका छौं ।' साउदी जेलमा रहेका कैदी राम्रो खानपान, औषधि, खानेपानी, बस्ने असुविधा, सजाय अवधि भुक्तान गरेपछि पनि त्यही रहिरहनुपर्ने बाध्यता र अभियोग अस्वीकार गर्दा अदालत नलैजाने प्रवृति लगायत विषय उनीहरूले इमेलबाट सम्बन्धित निकायमा पठाइरहेका छन् ।

मेल सञ्चालनमा आएपछि दूतावास, प्रधानमन्त्री, चिनजानको राजनीतिक दलका नेताहरू, आफन्त, साउदीमै सामाजिक सेवामा सक्रिय सामाजिक संस्थाहरूलाई  ज्ञापनपत्र, ध्यानाकर्षण पत्र पठाइएको छ । राजदूत उदयराज पाण्डेदेखि प्रधानमन्त्री बाबुराम भट्टराईसमक्ष हालै पीडित कैदीले पठाएको ६ बुँदे ज्ञापनपत्रमा यस्तो उल्लेख गरिएको छ, 'निर्दोष व्यक्तिको सजायमाथि विशेष छानबिन गरियोस्, सजाय अवधि पूरा गरिसकेकालाई तत्कालै स्वदेश फिर्ता गरियोस्, स्वदेश फिर्ता हुन आवश्यक पर्ने कागजात तुरुन्तै उपलब्ध गराइयोस्, दूतावासको तर्फबाट समयसमय कैदी जीवन बिताइरहेका नेपालीको समस्या बुझी त्यसको समाधान गरियोस् र दूतावासको कार्यालय समयमा पनि सम्पर्क कक्षमा सम्पर्क नहुने हुँदा तुरुन्तै सम्पर्क हुने वातावरण सिर्जना गरियोस् ।' त्यसरी दूतावाससमक्ष पुर्‍याएको मागपत्र प्राथमिकतामा भने पर्ने गरेको छैन । 'प्रधानमन्त्री र राजदूतबाट कुनै प्रतिक्रिया आएको छैन,' गुरुङ भन्छन्, 'बाहिर साथीहरूले दूतावासमा गई प्रत्यक्ष रूपमा राखेका गुनासोलाई त गम्भीर रूपमा लिँदैनन् । हामी त जेलबाट एउटा नैतिक दबाब सिर्जना मात्रै गरिरहेका छौं ।'

पटकपटक दूतावासमा पठाएको मागपत्रको प्रतिक्रिया नआएपछि पछिल्लो पटक उनीहरूले चेतावनीपूर्ण रूपमा ध्यानाकर्षण पत्र पठाएका रहेछन् । तर, यसको पनि कुनै सुनुवाइ भने भएको छैन । साउदी अरबमा ५ लाख नेपालीमध्ये एक लाख गैरकानुनी रूपमा बसेको मानिन्छ ।

Published on: 12 November 2011 | Kantipur

Back to list

;