s

पीडित खोज्दै अमेरिकी वकिल

होम कार्की

इराकमा गोली खाएका रजहर, नवलपरासीका सुरज लामा अमेरिकी माथेउ हन्डेलीलाई खोज्दै काठमाडौं आइपुगे । इराकस्थित ब्रलम्मरी कम्पनीबाट क्षतिपूर्ति नपाएका उनी राहतको आशा लिएर हन्डेली भेट्न राजधानी आइपुगेका थिए ।

हन्डेली अमेरिकी वकिल हुन् ।  उनी इराकमा हत्या गरिएका १२ जना नेपालीका पीडित परिवारको पक्षमा मुद्दा लडेर पीडितलाई क्षतिपूर्ति दिलाउन सफल भएका थिए । हन्डेलीले अमेरिकी कम्पनी र तिनीसँग साझेदारी गरेर चलेका कम्पनीबाट पीडित नेपाली कामदारको पक्षमा निःशुल्क मुद्दा लडिदिने घोषणा गरेपछि उनलाई भेट्न पीडितहरू धाएका हुन् ।

'हन्डेलीलाई मैले अमेरिकी कम्पनीबाट आफूमाथि भएको अन्यायको विषयमा पूर्ण जानकारी गराएँ,' भेटपछि लामाले कान्तिपुरसँग भने, 'गुमेको क्षतिपूर्ति पाइन्छ कि भन्ने आशा लागेको छ ।' इराकी क्याम्पभित्र काम गरिरहेको अवस्थामा गोली लाग्दा उनको  पेटमा ठूलो क्षति पुगेको थियो । कम्पनीले उनलाई उपचार खर्च ५ हजार अमेरिकी डलरबाहेक अरू क्षतिपूर्ति दिएको छैन ।

इराक, अफगानिस्तानजस्ता मुलुकमा जोखिम मोलेर काम गर्ने लामाजस्ता नेपाली कामदारको पक्षमा वकालत नहुँदा कानुन बमोजिम पाउने क्षतिपूर्तिबाट वञ्चित भएका छन् । न्यायका लागि अमेरिकी कम्पनीविरुद्ध मुद्दा मामिला गर्न सक्ने हैसियत र त्यो पहुँचमा उनीहरू छैनन् । 'अमेरिकी कानुन अनुसार अमेरिकाबाहिर कार्यरत अमेरिकी कम्पनी, एजेन्सी र यसका साझेदार कम्पनीले जोसुकै कामदारमाथि गर्ने व्यवहार अमेरिकी कानुनअनुसार नै गर्नुपर्छ,' हन्डेलीले भने, 'तर, के देखियो भने ती कम्पनीहरूले सोझासिधा कामदारलाई झुक्याइरहेका छन् । उनीहरूमाथि अन्याय गरिरहेका छन् ।' उनले इराक र अफगास्तिानस्थित अमेरिकी कम्पनीमा काम गरेर क्षतिपूर्ति नपाएका आधा दर्जन नेपालीको पक्षमा अमेरिकी अदालतमा लडेको मुद्दामा सफलता पाएकाले त्यस्ता नेपालीका विषयको मुद्दा लड्ने घोषणा गरेका हुन् । बुधबार उनले गलत सूचना दिई इराक लगेका, इराकमा समान काममा असमान तलब पाएका र अंगभंग भएका पीडित नेपालीलाई भेटेका थिए । 'मैले बहस गरेको पैसा पीडित नेपालीसँग लिन्नँ,' पीडितहरूलाई उनले भने, 'मुद्दा जितेको खण्डमा मैले अमेरिकी श्रम मन्त्रालयबाटै बहस गरेको घन्टाको आधारमै पारिश्रमिक पाउनेछु । त्यसकारण डराउनु पर्दैन ।' चितवनका केशव पराजुलीले उनीसमक्ष आफू 'मानव ओसारपसार'मा परेको भन्दै यसविरुद्ध मुद्दा लडिदिन अनुरोध गरे । 'म्यानपावरले मलाई ओमनको होटलमा काम गर्ने भनी लिएर गएको थियो । ओमन पुर्‍याएपछि त्यहाँको एजेन्सीले ओमनको सलल भन्दै इराक पुर्‍यायो,' उनले हेन्डलीसमक्ष भने, 'यो मानव तस्कर हो । मलाई काममा लगाउने कम्पनीविरुद्ध मानव तस्करीको मुद्दा चलाउनुपर्‍यो ।'

राष्ट्रिय योजना आयोगका पूर्वसदस्य समेत रहेका श्रमविज्ञ गणेश गुरुङका अनुसार इराक, अफगानिस्तानमा काम गरेर अन्यायमा परेका नेपालीहरू ठुलो संख्यामा छन् । 'उनीहरूको मृत्यु, अंगभंग भएमा पीडित परिवारले राहत पाउने गरेको छैन । त्यसको लागि सरकारी पहल प्रभावकारी देखिँदैन,' श्रम मन्त्रालयद्वारा गठित वैदेशिक रोजगार सुधार अध्ययन समितिका अध्यक्ष समेत रहेका गुरुङले भने, 'यो प्रयासले  पीडित नेपालीको पक्षमा बोल्ने व्यक्ति भेटिएको छ ।'

Published on: 20 October 2011 | Kantipur

Back to list

;