s

परदेश पुगेपछि लुटिएको चाल पाउँछन्

श्रेया थापा

छोराछोरी पढाउने, परिवार पाल्ने वा घर ठड्याउने सामान्य सपना बोकेर बिदेसिने तन्नेरीको संख्या दिन प्रतिदिन बढ्दो छ। कतिपयका भोगाइ भने कहालीलाग्दा छन्।

अधिकांशले काम गरेको पैसै पाएका हुँदैनन् वा कुनै दुर्घटनामा परे पनि क्षतिपूर्तिको आश्वासनसमेत दिइँदैन। 'जाने बेलामा मलाई मासिक १ लाख १७ हजार दिन्छु भनेर कबुलेका थिए,' ६ वर्षअघि इराक पुर्‍याइएका कमल उप्रेतीले सुनाए, 'त्यहाँ पुगेपछि महिनाको ४० हजार रुपैयाँ पनि हात परेन।' पुग्नेबित्तिकै पासपोर्ट कब्जा गरिएका कमल कुनै ठेकेदारको हातमा सुम्पिए। तिनलाई नेपालमा उनको कससँग के सम्झौता भएको थियो भन्ने के मतलब!

उनी कबुलिएभन्दा तीन गुना थोरै पैसामा दिनको १२ घन्टा कठोर परिश्रम गर्न बाध्य भए। 'दुर्भाग्यको कुरा,' अमेरिकी वकिल म्याट ह्यान्डलीले भने, 'नेपालबाट जाने प्रायः युवाको यस्तै समस्या देखिन्छ।' सात वर्षअघि इराकमा मारिने १२ नेपालीलाई क्षतिपूर्ति दिलाउन खोजेका म्याट वैदेशिक रोजगारीमा जानेमाझ परिचित नाम हो। त्यसयता उनी ठगिएका नेपालीको मामिलालाई लिएर पटक पटक नेपाल आउजाउ गरिरहेका छन्। केही दिनअघि राजधानीमा उनले वैदेशिक रोजगारीमा जाने नेपालीको अधिकारका विषयमा छलफल कार्यक्रम गरे।

'नेपालबाट जाने प्रायः युवालाई यता कबुलिएका काम र कम्पनीका कुरा तिनका विदेशी रोजगारदाताले मान्दै मान्दैनन्,' म्याटले सुनाए, 'तलब के कति भन्ने पनि भाग्यमै निर्धारित हुन्छ।' 

क्मलले नेपालमा आफूसँग गरिएका सम्झौताबारे त्यहाँका मालिकलाई सम्झाउन खोज्दा नोकरी नै गयो। त्यसपछि जसोतसो १० महिना इराकमा बिताएर नेपाल फर्कन बाध्य भए। आफूले पाउनुपर्ने फिर्ता रकमका निम्ति भने उनले प्रयास छाडेका छैनन्। ठगिनेको सूचीमा घाइते हुनेको नाम पनि लामै छ।

'विदेशमा काम गर्दागर्दै घाइते हुने र मर्नेहरु पनि उत्तिकै हुन्छन्,' म्याटले भने, 'त्यस्ताले क्षतिपूर्ति पाएको राम्रो रेकर्ड छैन।' अझ कतिपय अवस्थामा त क्षतिपूर्ति परको कुरा, पारिश्रमिकसमेत मालिकले रोकिदिन्छन्। काम गर्दागर्दै घाइते भएका २८ वर्षे सुरज लामाको शरिर अहिले पनि तंग्रिएको छैन। नेपालमा कबुलेअनुसार त पाएनन् नै, १२ घन्टा परिश्रम गर्दा पनि तोकिएभन्दा आधा पैसा पनि दिइएन। अनि सुरजले त्यहाँको रोजगार छाडिदिए। 

नयाँ ठाउँमा उनको काम थियो- थोत्रा कारका अंगहरु टुक्राउनु र कुच्याउनु। दिनको दुईपटक जम्मा भएका फोहोर सल्काएर विसर्जन गर्नु। त्यसै क्रममा आगो लगाउँदै गरेको ठाउँमा विष्फोट भयो र धातुका टुक्रा पेटभित्रै पसे। बगदादस्थित अस्पतालमा उनलाई हेर्ने कोही भएन। उनले आफू कार्यरत कम्पनीकै क्वार्टरमा पठाइदिन अनुरोध गरे। त्यहाँ त उनलाई सोझै नेपाल पठाउने कुरा गर्न थालियो। 'मेरा सरसामानदेखि लिएर पाउनुपर्ने पैसाको हर हिसाबै बाँकी थियो,' उनले भने, 'सोझै फिर्ता पठाउने कुरा मैले कसरी मान्न सक्थेँ?' 

उनलाई क्वार्टर त पठाइयो तर काम गर्नका निम्ति अयोग्य ठहरिए। 'काम गर्न नसक्ने भएपछि मलाई पूरै तलब चुक्ता गर्नुका साथै अस्पताल बस्दाको खर्च बेहोर्न कम्पनी तयार भयो,' उनले सुनाए, 'त्यो पैसा पनि मलाई मुख्य रोजगारदाता अमेरिकी कम्पनीले बेहोरिदिएको थियो वा दुबईको अर्को ठेकेदारले भन्ने जानकारी छैन।' 

सुरजले औषधोपचारका निम्ति डेढ लाख रुपैयाँ पाए। 'मेरो साथीले जीवनै यसरी बर्बाद भएपछि जाबो पैसाले के हुन्छ भनेर हाकिमसँग कुरा गरेको थियो,' उनले भने, 'त्यसैको परिणाम नेपाल फर्कने बेला चार लाख रुपैयाँ हात पारेँ।' सुरजको पेटभित्रका थप धातुको टुक्रा निकाल्न फेरि शल्यक्रिया गर्नुपर्ने चिकित्सकहरुले बताइरहेका छन्। यो सारा खर्च अहिले सुरज आफैँले बेहोर्नु परिरहेको छ। शारीरिक क्षतिबाहेक मानसिक रुपले यातना पाउने नेपाली पनि उत्तिकै छन्। त्यसमा बढी संख्या महिलाको छ।

'वैदेशिक रोजगारीमा जाने अधिकांश दिदीबहिनी नपढेका र १८ वर्ष नाघेका हुन्छन्,' 'पौरखी नेपाल' की निर्देशिका विजया राई श्रेष्ठले भनिन्, 'यसरी गएकाहरु सबैले घरेलु कामदारकै रोजगारी पाउँछन्।' एकोहोरो कुरा सुनेकै भरमा विदेसिने उनीहरुलाई भाषा ज्ञान हुँदैन।

'भाषै नभएपछि एक त अह्राएको काम बुझ्नै गाह्रो,' उनले भनिन्, 'त्यसमाथि सम्बन्धित कामको तालिमै नपाएका उनीहरु रोजगारदाताका निम्ति टाउको दुखाइ बन्न पुग्छन्।'

यस्तो अवस्थामा कतिपयलाई मालिकले राम्ररी खाना पनि दिन छाडिदिन्छन्, कतिपयले तलबै पाउँदैनन्। 'पासपोर्ट र पैसा दुवै साथमा नभएको बेला उनीहरु अलपत्र पर्छन्,' श्रेष्ठले भनिन्, 'त्यस्तो बेला थुप्रै युवती चरम मानसिक दबाबमा काम गर्न र कहिलेकाहीँ यौन दुर्व्यवहारसमेत झेल्न बाध्य हुन्छन्।' 

यस्तो अवस्थामा के गर्ने त?

'आफ्ना पासपोर्ट, नागरिकता र पाएका सम्पूर्ण कागजातका एक प्रति फोटोकपी गरेर राख्न नबिर्सनू,' विजयाले भनिन्, 'त्यसको एक एक प्रति नेपाल बस्ने परिवारलाई पनि छाडेर जाँदा राम्रो हुन्छ।' आफू जान लागेको ठाउँबारे राम्ररी बुझ्ने, उताको काममा यतै सिपालु हुने, कामको टुंगो कागजी रुपमै गर्ने, जाने मुलुकको भाषा सक्दो बढी जान्ने र दुवै मुलुकका आधारभूत कानुनबारे जानकारी राख्ने हो भने समस्या अत्यन्त न्यून हुने सुझाव म्याट र विजयाको छ।

Published on: 11 November 2011 | Nagarik

Back to list

;