s

नक्कली आत्मीयताले नेपाली लुटिँदै

माधव ढुंगाना

परिवारसाथ रमाइलो दसैं मनाउन घर फर्केका गोरखा आँपचौरका अश्विन परियारलाई अपरिचितले देखाएको नक्कली आत्मीयताले १० हजार र मोबाइल लुटियो । उनको ज्यान भने जोगिएको छ ।

मुम्बईको होटेल सन्ध्यामा कुकको काम गर्दै आएका परियार दसैं मान्न घर आउने क्रममा बनारसबाट सँगै रहेका एक नेपालीले आत्मीयता देखाउँदै एउटा जुस खान दिएका थिए । उनलाई त्यही जुसले लुटायो । 'बनारसबाट सुनौलीको रात्रिबसका सँगैका यात्री उसले आफ्नो घर पोखरा र एउटै अञ्चल परेछौं, भाइ माया लाग्यो भन्दै जुस खान दियो' सीमावर्ती नेपालको बेलहिया इप्रकामा मंगलबार अपराह्न होस खुलेपछि उनले भने, 'जुस खाएपछि निद्राले लठ्ठ बनायो, केही थाहा भएन ।' 

उनको जस्तै हालत गोरखा चिसापानीकै प्रकाश थापाको पनि छ । जुस पिएपछि बेहोस भएका थापाको ७ हजार, मोबाइल र घडी लुटियो । मंगलबार बिहान सुनौली बसपार्कमा अचेत अवस्थामा भेटिएपछि नेपाल प्रहरीले उद्धार गरी उनीहरूलाई कार्यालयमा ल्याएको हो । 
उनीहरूले बनारससम्म रेलमा र त्यहाँबाट बसमा यात्रा गरेका थिए । सोमबार साँझ ७ बजेतिर जुसमा मिसाएको नशालु पदार्थ सेवनले बेहोस बनेका ती युवाको २० घन्टापछि होस खुलेको छ ।

विगत केही वर्षदेखि भारतमा रोजगारी गरी घर फर्केका आमनेपाली यस्तै घटनाबाट पीडित बन्दै आएका छन् । परिवारको गुजारा चलाउन घर छाडेर वषौर्ंसम्म विदेशमा पसिना चुहाएको कमाइ क्षणभरमै अर्काको विश्वासले खत्तम हुने गरेको छ । 

भारतको दिल्ली, पन्जाव, इलाहावाद, लखनउ, कानपुर र बनारसबाट घर फर्केका धेरै नेपाली यात्राको क्रममा बीच बाटैमा लुटिने गरेका छन् । पीडितका अनुसार यात्राका क्रममा नेपाली युवाको समूह आफू पनि भारतमा रोजगारी गरी फर्केको बताउँदै सँगै बस र रेलमा चढेर यात्रा गर्ने गर्छन् । यात्राको क्रममा सुख-दुःख र गाउँ-घरको कुराकानी गरेर उनीहरूले विश्वासमा पार्ने गर्छन् । बस रोकिएको कुनै ठाउँमा समूहमध्येको एक जना झरेर खाने कुरा किनेर सबैलाई बाँडेर खुवाउँछ । खाएको केहीबेरमै बेहोस भएपछि उनीहरू लुटिन्छन् । सीमावर्ती बेलहिया इलाका प्रहरीका निरीक्षक वीरेन्द्र गोदारले दसैं र चाडबाडमा यस्ता घटना बढी हुने गरेको बताए । खबर पाउनासाथ ल्याएर औषधि गर्ने गरेको जनाउँदै यस्ता घटना न्यूनीकरण गर्न सबैको प्रयास आवश्यक छ । 

'आफू जस्तै विदेशमा काम गरेको व्यक्तिलाई परदेशको पीडा थाहा होला भनेर आत्मीयताले विश्वासले दिने खानेकुरा खाइन्छ' तीन दिनअघि यसरी नै पीडित बनेका तनहुँ दुलेगौंडाका श्यामबहादुर नेपालीले भने, ‘एउटा नेपालीले अर्कोलाई विदेशमा बेहोस बनाएर ठग्लान् भन्ने कल्पना नै गर्न सकिँदैन।’

Published on: 28 September 2011 | Kantipur 

Back to list

;