s

एनआरएन सम्मेलन चहलपहल सुरु

गैरआवासीय नेपाली संघ (एनआरएनए) को पाँचौं विश्व सम्मेलनको चहलपहल राजधानीमा सुरु भएको छ । बुधबारदेखि सुरु हुने सम्मेलनले संघमा नयाँ नेतृत्वको चयन गर्नेछ । सम्मेलनमा विभिन्न देशमा छरिएर रहेका नेपालीहरूलाई नेपालको विकास प्रयासमा सहभागी बनाउन विभिन्न क्षेत्रमा छलफल हुने कार्यक्रम छ ।

'हाम्रो सञ्जाल, हाम्रो पहिचान :समृद्ध नेपाल' मुख्य नारा दिइएको सम्मेलनमा करिब ७ सयको सहभागिता रहनेछ । 'विदेशमा नेपालीले कमाएको पैसा मुलुकभित्र रहेका नेपालीसँग मिलेर देश निर्माणमा सहयोग गर्नु एनआरएनएको अभियान हो,' सोमबार आयोजित पत्रकार सम्मेलनमा संघका अध्यक्ष देवमान हिराचनले भने, 'सरकार, सर्वसाधारण जनता र गैरसरकारी संस्थासँग सहकार्य गरेर अगाडि बढ्न एनआरएनले चाहेको छ ।' 

विश्वका ५७ देशमा सञ्जाल रहेको संघले सम्मेलनका क्रममा समृद्ध नेपाल निर्माणमा शीर्ष नेता तथा नागरिक समाजको आकांक्षा र दृष्टिकोण, गैरआवासीय नेपाली अभियानमा महिला तथा दोस्रो पुस्ताको सहभागिताको बारेमा पनि छलफल हुनेछ । यस्तै वैदेशिक रोजगारीलाई सुरक्षित र मर्यादित बनाउन चालिनुपर्ने कदम, संघको वैधानिकता एवं वित्तीय सुदृढीकरणका लागि भावी रणनीति तथा कार्यक्रम, गैरआवासीय नेपालीसम्बन्धी

ऐन-कानुनको पुनरावलोकन लगायतका विषयमा छलफल हुने छ । 

दोहोरो नागरिकता, सामूहिक तथा विभिन्न परियोजनामा लगानी, खुला विश्वविद्यालय, सामाजिक क्षेत्रमा एनआरएनको संलग्नताको बारेमा पनि सम्मेलनमा छलफल हुनेछ । सम्मेलन हरेक दुई वर्षमा हुने गरेको छ । 

कार्यक्रममा उद्योग वाणिज्य महासंघका अध्यक्ष सुरज वैद्यले एनआरएनले नेपालको विकासमा सहयोग गरोस् भनेर महासंघले सहभागिता जनाएको बताए । '२०१२ र २०१३ लाई महासंघले लगानी वर्षको रूपमा घोषणा गरेको छ,' वैद्यले भने, 'यसमा एनआरएनले सक्दो योगदान पुर्‍याउनुपर्छ ।' महासंघ एनआरएन अभियान सुरु भएदेखि नै साझेदारका रूपमा रहँदै आएको छ । 

मुलुकमा राजनीतिक स्थिरता भएको भन्दै उनले राजनीतिक अस्थिरताको निहुँमा लगानीको वातावरण नभएको कारण दिनु उचित नभएको बताए । 'एनआरएनले नेपालमा लगानीको वातावरण छ भन्ने सन्देश अरूलाई पनि दिन सक्नुपर्छ,' उनले भने, 'कहीँ कतै समस्या छ भने सम्मेलनले त्यसको समाधान गर्ने पहल गर्नुपर्छ ।'

'सामूहिक लगानी भित्र्याउन पहल गर्छु'
गैर आवासीय नेपाल संघ (एनआरएनए) को पाँचौं सम्मेलनमा अध्यक्षको उम्मेदवारी घोषणा गरेका वर्तमान उपाध्यक्ष जीवा लामिछानेले  जलविद्युत् लगायतका क्षेत्रमा सामूहिक लगानी भित्र्याउन पहल गर्ने बताएका छन् । सोमबार राजधानीमा आयोजित कार्यक्रममा उनले यसबारे धेरै एनआरएनको चासो भएकाले कार्यान्वयन गर्न सकिने बताए । 

'एनआरएनबाट पुँजी संकलन गरेर एक सय मेगावाटका जलविद्युत् आयोजनामा लगानी गर्ने योजनामा छ,' उनले भने, 'विदेशमा उद्यमी नेपालीको संख्या बढी रहेको छ । उनीहरू नेपालमा लगानी गर्न इच्छुक छन् ।' 

उनी आबद्ध सानिमा समूहले नेपालको जलविद्युत्, बैंकिङ, अस्पताल लगायतका क्षेत्रमा लगानी गरेको छ । 

यससँगै विदेशमा रहेका झन्डै ३० लाख नेपालीमध्ये करिब दुई तिहाइ वैदेशिक रोजगारीमा भएकाले त्यसलाई मर्यादित र व्यवस्थित बनाउन विशेष पहल गर्ने उनले बताए । 

विदेशको नागरिकता लिए पनि नेपाली नागरिकतालाई निरन्तरता दिनका लागि संविधानमा व्यवस्था गर्न समेत आफूले पहल गर्ने उनले बताए । एकपटकको नेपाली सधैंको नेपाली भन्ने नारामा म प्रतिबद्ध छु र त्यसका लागि पहल गर्नेछु,' उनले भने । उनले आफूले एक कार्यकाल मात्र अध्यक्ष पदमा रहने भन्दै थपे, 'अध्यक्षमा निर्वाचित भएँ भने म पुनः अर्को कार्याकालमा उम्मेदवारी दिने छैन ।'

Published on: 11 October 2011 | Kantipur 

Back to list

;