s

एनआरएन अभियानका आठ वर्ष

जीवा लामिछाने

'नेपालीका लागि नेपाली' भन्ने सन्देश लिएर विदेशमा बस्ने नेपाली समुदाय संगठित हुनथालेको आठ वर्ष बितेको छ । संगठित भए विदेशमा पनि नेपालीको हकहित संरक्षणको आवाज बुलन्द बनाउन सकिन्छ तथा सीमित साधन, स्रोत र अनुभवलाई एकत्रित गरी मातृभूमिमा पनि केही योगदान गर्न सकिन्छ भन्ने मान्यता बोकेर गैरआवासीय नेपाली अभियान सुरु भएको थियो । नेपालको आर्थिक, सामाजिक रूपान्तरणमा आफ्नो सामूहिक भूमिकाको खोजीले गैरआवासीय नेपाली अभियानमा संलग्न हुन हामीलाई प्रेरित गरेको हो ।
संगठित हुने स्थापनाको पहिलो उद्देश्यमा हामीलाई निकै सफलता मिलेको छ । आठ वर्षको छोटै अवधिमा ५७ मुलुकमा विस्तार भई गैरआवासीय नेपालीको विश्वव्यापी सञ्जाल निर्माण भएको छ । विदेशमा नेपालीहरूका धेरै संगठन भएपनि सबैलाई समेट्न सक्ने साझा संगठनको खाँचोलाई गैरआवासीय नेपाली संघको सञ्जालले पूरा गरेको छ । हुन त भारतीय, चिनियाँ, ल्याटिन अमेरिकन र अपि|mकन डायस्पोराको आ-आफ्नो मूल देशमा बढेको सक्रियता र पारस्परिक सहयोगको सफलताको कथाले पनि हामीलाई प्रेरित गरेको थियो । तर अहिले हाम्रो सञ्जालले अरू डायस्पोरालाई उछिनेको छ । पछि जन्मिए पनि यति धेरै मुलुकमा विस्तारित भएको डायस्पोरा सञ्जाल सम्भवतः अर्को छैन । बलियो संगठनका कारण विदेशमा आफ्ना हकअधिकारमा दाबी गर्ने हाम्रो शक्ति त बढेको छ नै, नेपालमा पनि संगठित भएर सामूहिक सहभागिता जनाउने सामथ्र्यमा वृद्धि भएको छ । यही सुदृढ सञ्जाललाई मध्यनजर गरी बुधबार -आज) देखि सुरु हुने गैरआवासीय नेपाली संघको पाँचौं विश्व सम्मेलनको नारा 'हाम्रो सञ्जाल, हाम्रो पहिचान समृद्ध नेपाल' तय गरिएको छ ।   
 
अब विदेशमा आर्जित सीप, पुँजी र अनुभव मातृभूमिमा लगानी गर्ने हाम्रो दोस्रो लक्ष्यको कुरा । संघ स्थापना भएपछि गैरआवासीय नेपालीले मातृभूमिमा आर्थिक लगानी गर्ने प्रवृत्ति क्रमशः बढेको कुरालाई स्वीकार गर्नैपर्छ । गैरआवासीय नेपालीले जलविद्युत, दूरसञ्चार, पर्यटन, उद्योग, वित्तीय क्षेत्र, शिक्षा, स्वास्थ्य लगायतका व्यवसायमा लगानी गरेका छन् । व्यावसाय गरेर बसेकाहरू आफ्नो आम्दानीको केही अंश नेपालमा लगानी गर्न उत्सुक देखिन्छन् । धेरै लगानी गर्न नसक्ने पनि साथीहरूसँग मिलेर सामूहिक रूपमा केही गर्न प्रयासरत देखिन्छन् । लगानी गर्ने क्रम निरन्तर बढ्दै जाने निश्चित छ । फेरि आर्थिक लगानीमात्र लगानी होइन । विदेशमा सिकेका सीप र अनुभव मातृभूमिमा लगानी भएको छ । गैरआवासीय नेपालीले गरेका यस्ता बौद्धिक योगदानलाई पनि  नजरअन्दाज गर्नुहुन्न । तर राजनीतिक अस्थिरताको कारण नेपालबाट अपेक्षा गरिए जति लगानी हुन नसकेको पनि त्यत्तिकै सत्य हो  । यद्यपि प्रतिकूल अवस्थामै हामीले लगानी गरेर उदाहरण बन्नुपर्छ भन्ने जोश गैरआवासीय नेपाली समुदायमा विकास भएको छ । 'अनुकूल अवस्थामा त जसले पनि गर्न सक्छ, हामीले त प्रतिकूल अवस्थामा लगानी गर्ने हो ।' पछिल्ला समय हाम्रो समुदायको छलफलमा यस्तै आवाज सुनिन थालेको छ । दिगो शान्ति र राजनीतिक स्थिरता सुनिश्चित हुने हो भने गैरआवासीय नेपाली समुदायले विदेशी कम्पनीलाई पनि नेपालमा लगानी गराउने वातावरण बन्छ । मुलुकमा स्थिरता आउँदै जाँदा तिनलाई आकषिर्त गर्न सकिनेछ । तर त्यस बेलासम्म मुलुकको आर्थिक समृद्धिमा योगदान गर्ने कर्तव्य हाम्रै हो ।  
 
विदेशमा नेपालीबीच सहकार्य बढ्दै जाँदा एकअर्काको सफलताबाट सिक्ने मौका मिलेको छ । फलस्वरूप नेपाली युवामा जागिर नखोजी आफ्नै व्यवसाय सञ्चालन गर्ने प्रवृत्ति विकास भएको छ । व्यवसाय गर्ने सीप विकास गर्नसके मात्र नेपाली डायस्पोराले विदेशमा पर्याप्त आर्जन गर्न सक्छ । यसैले व्यवसाय गर्नुपर्छ भन्ने भावना विकास गराउनु पनि हाम्रो अभियानको ठूलो उपलब्धि हो । 
 
ठूलो पुँजी भएका नेपालीको संख्या कम भएकाले हामीले सामूहिक लगानीको अवधारणा अघि सारेका छौं । सामूहिक लगानी गर्दा पुँजी र प्रतिफलमात्र होइन, जोखिम पनि बाँडिने भएकाले यसलाई प्राथमिकता दिनुपर्छ । साना, मझौला र ठूला पुँजीलाई एकत्रित गरी कम्पनी बनाएर लगानी गर्ने सोच बनेको छ । त्यसो गर्दा खाडी, मलेसिया लगायतका ठाउँमा पसिना बगाइरहेका नेपाली दाजुभाइहरू पनि लाभाविन्त हुनेछन् । खासगरी जलविद्युत परियोजनामा सामूहिक लगानी भित्र्याई मुलुकको ऊर्जा संकट समाधानमा सघाउने अभियानमा हामी छौं । सरकारले पनि यही क्षेत्रमा लगानी गर्न हाम्रो समुदायलाई आह्वान गरेको छ । 
 
संघले वैदेशिक रोजगारीमा रहेका समस्यालाई सुरुवातदेखि जोडदार रूपमा उठाइरहेको छ । अनिवार्य बिमा, द्विपक्षीय श्रम सम्झौता, श्रम सहचारीको व्यवस्था, म्यानपावर कम्पनीको अनुगमन हुनुपर्ने हाम्रो आग्रह रहिआएको छ र यसमा क्रमिक सुनुवाइ भएको छ । विश्व सम्मेलन गैरआवासीय नेपाली संघको महाधिवेशन पनि भएकाले यसले नयाँ नेतृत्व चयनका साथै भावी रणनीति र कार्यक्रमको टुंगो लगाउनेछ । विश्व सम्मेलनमा पूरा गर्न नसकिने वाचाको पहाड खडा गर्नुभन्दा पनि प्रतिबद्धताको कार्यान्वयनमा केन्दि्रत हुनुपर्छ जस्तो लाग्छ । हामीले विगतमा समुदायसमक्ष गरेका कतिपय प्रतिबद्धता पूरा भएका छैनन्, तिनको कार्यान्वयनमा जोड दिन जरुरी छ । फेरि गैरआवासीय नेपाली संगठित भएको मातृभूमिलाई दिन हो, लिनका लागि होइन भन्ने कुरा मनन गर्न आवश्यक छ । 
 
वैदेशिक रोजगारीमा व्याप्त समस्याको समाधान, दोहोरो नागरिकताको अडानमा प्रतिबद्धता, सामूहिक लगानीको अवधारणा, संघको वैधानिक तथा आर्थिक सबलीकरण र सामाजिक कार्यमा निरन्तरता हाम्रा प्रमुख एजेन्डा छन् । खाडी, मलेसिया लगायतका ठाउँमा छोटो समयका लागि वैदेशिक रोजगारीमा जाने नेपालीको रोजगारीलाई सुरक्षित र मर्यादित बनाउनका लागि संघको भूमिका प्रभावकारी बनाउन जरुरी छ । नयाँ बन्ने संविधानमा गैरआवासीय नेपालीको नागरिकता बदर नहुने अर्थात् एक पटकको नेपाली सधैंको नेपाली रहने प्रावधान राख्न संघले सशक्त लबिङ गर्नुपर्ने भएको छ । संघले सञ्चालन गरिरहेका लोककल्याणकारी कार्यलाई निरन्तरता दिएर विस्तार गर्नसके गैरआवासीय नेपालीको परोपकारी पहिचान बनाउन सघाउनेछ । खुला विश्वविद्यालय र हाल सञ्चालनमा रहेको पब्लिक लाइब्रेरी कार्यक्रमलाई अझ पूर्णता दिन जरुरी छ । पशुपतिमा किरियापुत्री भवनको दोस्रो चरणको निर्माण हालै सम्पन्न भएको छ ।  देवघाटमा वृद्धाश्रमको निर्माण, नेपालमा दैवीप्रकोपका बेला आर्थिक सहयोग, विदेशमा अलपत्र परेका नेपालीहरूको उद्धार आदि जस्ता कल्याणकारी काममा गैरआवासीय नेपालीहरूको सहभोगिता बढ्दै गएको छ । संस्थापक अध्यक्ष डा. उपेन्द्र महतोको लगानीमा विदेशमा अपांग भएका नेपालीको परिवारका सदस्यको सीप विकासका लागि ५ करोडको अक्षयकोषको घोषणा भएको छ, जसमा सबै गैरआवासीय नेपाली साथीहरूलाई सहयोगको आह्वान गरिएको छ । 
 
गैरआवासीय नेपाली संघले सरकार र समाजका हरेक तप्काबाट मान्यता पाइसकेको अवस्था छ । तर गैरआवासीय नेपाली ऐनको परिभाषामा विद्यमान विरोधाभाषका कारण संघ दर्ता हुनसकेको छैन । गैरआवासीय नेपालीको परिभाषा विश्वव्यापी मान्यताअनुरूप हुनुपर्छ भन्ने हाम्रो आग्रह हो । विद्यार्थी र दुई वर्षभन्दा कम अवधिको वैदेशिक रोजगारीमा जाने गैरआवासीय नेपाली नसमेटिएका कारण खासगरी खाडी, मलेसिया लगायतका ठाउँका नेपालीहरूलाई ऐनको परिभाषाले मर्का परेको छ । हाम्रो संगठन अब यो समस्याको समाधानमा केन्दि्रत हुनु जरुरी छ ।
 
अन्त्यमा नेतृत्वको प्रश्न । गैरआवासीय नेपाली संघलाई आजको अवस्थामा ल्याउन संस्थापक अध्यक्ष उपेन्द्र महतोको योगदान अविस्मरणीय छ । उहाँको दूरदृष्टि, पहँुच र साधनस्रोत नहुँदो हो त आठ वर्षमा यतिका उपलब्धि हासिल गर्न कठिन थियो । उहाँले दोस्रो कार्यकालमै अध्यक्ष बन्न अनिच्छा जनाउँदै अरूलाई नेतृत्व हस्तान्तरण गर्ने चाहना व्यक्त गर्नुभएको थियो । तर  प्रारम्भिक अवस्थ्ाामा रहको संघलाई अघि बढाउन उहाँको खाँचो महसुस गरी हाम्रो समुदायले उहाँलाई तेस्रो कार्यकालसम्म नेतृत्वका लागि राजी बनाएको थियो । अब बन्ने नयाँ नेतृत्वले उहाँको नेतृत्व कुशलता तथा सबैलाई समेट्न सक्ने उदारताबाट सिकेर संगठनलाई अगाडि बढाउन सक्नुपर्छ । 
 
Published on: 12 October 2011 | Kantipur

Back to list

;