s

एनआरएन अभियानका ८ वर्ष

चिरन शर्मा

'हाम्रो सञ्जाल, हाम्रो पहिचान, समृद्ध नेपाल' भन्ने  नाराका साथ  गैरआवासीय नेपाली संघ अन्तर्राष्ट्रिय परिषद्को पाँचौं सम्मेलन काठमाडौंमा अक्टोबर १२ देखि १४ सम्म हुँदै छ । 

विदेशमा बस्ने नेपालीको हित संरक्षण गर्ने, नेपालको प्रवर्द्धन गर्ने, गैरआवासीय नेपालीको पुँजी तथा मानव संसाधनको लगानी स्वदेशमा गर्नेजस्ता मुख्य उद्देश्यसाथ अगस्ट २००३ मा लन्डनबाट सुरु गरिएको यो अभियान नवौं वर्षमा प्रवेश गर्दै छ । गैरआवासीय नेपाली संघको अभियानभित्र करिब ३० लाख नेपाली अटाएको अनुमान छ ।

यसअघिका चारवटा अन्तर्राष्ट्रिय सम्मेलन काठमाडौंमा सम्पन्न भएका थिए । यसबीचमा ६ वटा क्षेत्रीय सम्मेलन आयोजना भए । करिब ५६ देशमा राष्ट्रिय समन्वय परिषद् गठन भएको छ । कुनै दलीय, पारिवारिक, व्यक्तिगत स्वार्थ नभएको अभियानमा देशबाहिर बसोबास गरिरहेका नेपाली अटाएका छन् ।

गैरआवासीय नेपालीले बाध्यताबस बिदेसिनुपर्दा नेपालीत्वको पहिचान भनौं अथवा चिनो नागरिकता खोसिएकामा बारम्बार दुःखमनाउ गरिरहेका छन् ।

सुरुसुरुमा 'गैरआवासीय नेपाली दोहोरो फाइदाका लागि नेपाल आउन चाहेको' जस्ता नकारात्मक सन्देश पनि प्रवाह भए । तर, एनआरएनकै पछिल्लो अभियानले नेपालको बौद्धिक, राजनीतिक तथा नागरिक समाजलाई सकारात्मक छाप छोड्न सफल भएको छ । गैरआवासीय नेपाली संघकै अगुवाइमा नेपाल सरकारले विदेशमा बस्ने नेपालीको अस्तित्व स्वीकार गर्दै एनआरएन परिचयपत्र जारी गरेको छ । यस सम्बन्धमा आवश्यक कानुनको व्यवस्था गर्दै एनआरएनलाई दर्ता हुने बाटो खोलिदिने प्रयास गरिएको छ । यसलाई एनआरएनले आंशिक उपलिब्धका रूपमा लिएको छ । एनआरएनले दोहोरो नागरिकता खोजेका होइनन्, बरु उनीहरू एकपटक पाएको नागरिकता नखोसियोस् भन्ने चाहन्छन् ।

एनआरएनले देशका लागि के गर्‍यो त ? जस्ता जिज्ञासा पनि मान्छेका मनमा उठ्न सक्छन् । एनआरएनको सथापनाकालदेखि अहिलेसम्मको कामको मूल्यांकन गर्दा थुप्रै आश गर्ने ठाउँ देखिन्छ ।

उनीहरूको सहयोगमा देशका विभिन्न स्थानमा पुस्तकालय खोलिएका छन् । कयौं विद्यालयमा निःशुल्क कम्प्युटर वितरण गरिएका छन् । एनआरएनकै पहलमा एक जिल्ला एक परियोजना सञ्चालनमा छन्, त्रिभुवन विमानस्थलमा ट्रली व्यवस्था भएको छ । संस्थापक अध्यक्ष डा. उपेन्द्र महतोसमेत सहभागी भएको समता विद्यालयमार्फत गरिब र जेहेनदार विद्यार्थीले उच्च गुणस्तरको शिक्षा पाइरहेका छन् । वैदेशिक रोजगारमा दुर्घटनामा परेकाहरूको आफन्तलाई सहयोग गर्न एनआरएनले पाँच करोड रुपैयाँको अक्षयकोष स्थापना गरेको छ भने देवघाट वृद्धाश्रम, ट्रेड स्कुल, पशुपति किरियापुत्री भवनलगायत परियोजना सम्पन्न भएका छन् । पर्यटन अभियानमा गैरआवासीय नेपालीको भूमिका छ । बुद्ध नेपाल अभियान, सेन्ड होम ए पाउन्ड अभियानलगायत थुप्रै कार्यक्रम एनआरएनका पहलमा सम्पन्न भएका छन् ।

एनआरएनले हालै मात्र नेपालको संस्कृति र पर्यटन विकासका लागि व्यावसायिक भए पनि करोडौं लगानीमा मस्कोमा नेपाल घर स्थापना गरेको छ । एक गाउँ एक उत्पादन परियोजना सञ्चालनमा ल्याइएको छ ।

कसैले तर्क गर्न सक्छ- समृद्ध नेपालको सपना देखेका गैरआवासीय नेपालीले देशमा लगानीचाहिँ कति गरे त ? व्यक्तिगत र संस्थागत गरी करिब तीस करोड डलर नेपालमा लगानी भएको छ । यसलाई गैरआवासीय नेपालीले सुरुवात मात्र भनेका छन् । देशमा सञ्चालित उद्योगधन्दा धमाधम बन्द भइरहेका र शान्ति सुरक्षाको अवस्था नाजुक भएको अवस्थामा पनि गैरआवासीय नेपालीले जोखिम मोलेरै करोडौं रुपैयाँ भित्र्याएका छन् । मुख्यतः हाइड्रोपावर, बैंक, सञ्चार, शिक्षा, स्वास्थ्यका क्षेत्रमा एनआरएनले लगानी गरेको छ । हजारौं नेपालीले रोजगारी पाएका छन् ।

Published on: 2 October 2011 | Kantipur 

Back to list

;