s

मृत्युदण्ड सुनाइएका नेपालीलाई दूतावासले भेट्यो

दिनेश रेग्मी

साउदी अरबमा एक पाकिस्तानी नागरिकको हत्या अभियोगमा त्यहाँको अदालतले मृत्युदण्ड सुनाएका नेपाली उमेश यादवलाई बुधबार साउदीस्थित नेपाली दूतावासका कर्मचारीले भेटेर विवरण लिएका छन्् ।

धनुषाको माझिझिटकैया-४ का ३१ वषर्ीय यादव काममा आएको दुई महिनामै हत्या र चोरी अभियोगमा ५ वर्षअघि जेल परेको उनलाई भेटेका दूतावासका द्वितीय सचिव सागरप्रसाद फुयालले बताए । 
 
काठमाडौंको सुवास मेनपावर कम्पनीमार्फत साउदी पुगेका उनी 'साउदी बिनलादेन कम्पनी' मा निर्माण मजदुरका रूपमा कार्यरत थिए । उनले अदालतले मृत्युदण्डको फैसला गरेको समेत थाहा नपाएको फुयालले बताए । 'यादवलाई उनका साथीहरूले यस्तो मुद्दामा मृत्युदण्ड हुन सक्नेचाहिँ भनेका रहेछन्,' उनले भने, 'निराशाले होस हवास उडेजस्तो गरी बसेका छन्् । निराश नहुनु, हामी हिम्मतसाथ लडेर ज्यान बचाउँछौं भनेर आश्वस्त पारेका छौं ।' यादव राजधानी रियादबाट करिब ५ सय किलोमिटर पूर्वको जुबेल कारागारमा छन्् ।
 
साउदीको विदेश मन्त्रालयले गम्भीर मुद्दामा परेका नेपालीबारे दूतावासलाई जानकारी दिने क्रममा गत साता उनलाई मृत्युदण्डको फैसला भएको थाहा भएको हो । विदेश मन्त्रालयको पत्रमा अन्य जानकारी नभएकाले राजदूत उदयराज पाण्डेले कारागार र पाकिस्तानी दूतावासबाट जानकारी लिएर उनको जीवनरक्षा गर्ने कान्तिपुरलाई बताएका थिए । यादवमाथिको अभियोगबारे दूतावासमा कुनै जानकारी नभएपछि कर्मचारी बुझ्नका लागि कारागार पुगेका हुन् । 'मैले दूतावासका पहिलाका कर्मचारीलाई फोनमा पटक-पटक भनेको हुँ भनेर यादव भन्छन््, तर दूतावासमा कुनै नै रेकर्ड छैन,' फुयालले भने, 'परिवारले पनि दूतावासमा सम्पर्क गरेको छैन र दूतावासमा पनि रेकर्ड नभएपछि समस्या परेको छ ।'
 
यादवको घरमा बुबा, आमा, श्रीमती र २ छोरा छन्् । उनले घरमा पछिल्लो ७ महिनादेखि सम्पर्क नभएको सुनाएका थिए । दूतावासले यादवलाई सुनाइएको फैसलाबारे अझै विस्तृत विवरण प्राप्त भइनसकेको जनाएको छ । 
 
दूतावासले साउदीको विदेश मन्त्रालयलाई पत्र लेखेर मृतकका परिवारसँग सम्पर्क गर्न लागेकाले यादवको मृत्युदण्ड प्रक्रियालाई अघि नबढाउन आग्रह गर्ने जनाएको छ ।
 
Published on: 24 November 2011 | Kantipur

Back to list

;