s

कोरियाबाट फर्केर पशुपालन

प्रताप विष्ट

एक दशक दक्षिण कोरियामा रोजगारी गरेर फर्किएका नवराज रेग्मीसहित तीन युवाले संयुक्त पशुपालन थालेका छन् । कोरियामा बंगुर, गाईलगायत पशुपालन अनुभव हासिल गरेका उनलाई रामप्रसाद ढोडरी र बसामाडी गाविसका नवराज सुवेदीले सघाएका छन् ।

बसामाडी २ नेवारपानीमा करिब १ करोड लागतमा माछा, बंगुर र गाईपालन गरेका छन् । च्याउ उत्पादन गर्न छाप्रो बनाएका छन् । पराल अभावमा च्याउ खेती सुरु गरेका छैनन् । पूर्वपश्चिम राजमार्गअन्तर्गत हेटौडा-मनहरी खण्डको नेवारपानीमा राजमार्गसँगै जोडिएको डेढ बिघा जमिन वाषिर्क १ लाख ५० हजार भाडामा लिएर व्यवसाय सुरु गरेका हुन् ।

बंगुरपालन निम्ति निर्माण गरिएको खोरमा १ सय ७० पाठा छन् । बंगुरका पाठा जोडीको २ हजार ५ सयमा रुपैयाँ पोखराबाट ल्याइएको हो । त्यसमध्ये आधा भाले र आधा पोथी छन् । भाले बिक्री गरिन्छ र पोथी पालेर बंगुर उत्पादन गरिने रेग्मीले बताए । उनीहरूले ३ सयवटा बंगुर पाल्ने लक्ष्य लिएका छन् । बंगुरको खोरको तल्लो भागमा माछापोखरी छ । बंगुरको मल माछालाई आहार बनाउने गरिएको छ । माछापालनका लागि निर्माण गरिएको दुई पोखरीमा ४० हजार माछाको भुरा तीन महिनाअघि हालिएको छ । ६ महिनापछि माछा बिक्री गर्ने अवस्थाको हुने उनीहरूले बताए । बंगुरको आहारा भन् आफैंले उत्पादन गर्ने गरेका छन् । आधुनिक गोठमा चारवटा गाई छन् । दैनिक ४० लिटर दूध दिने ती उन्नत जातका चार गाई एक महिनाभित्रै ब्याउनले रेग्मीले बताए ।

सरकारले गाईको आयात र निर्यात कडाइ गरेकाले भारतबाट एकसाथ २० वटा गाई ल्याउन समस्या परेको उनको गुनासो छ । 'होलस्टेनलगायत उन्नत जातको गाईको निर्यातमा भारतले पनि रोक लगाएकाले समस्या परेको छ,' उनले भने । भाडामा लिएको जग्गामा उनीहरूले गाईलाई खुवाउन घाँस लगाएका छन् । गाईको पिसाब पनि उनीहरूले ठूलो खाल्टोमा संकलन गरेका छन् ।

संकलन गरिएको पिसाबलाई सदुपयोग गर्न उनीहरूले टनेल बनाएर अर्गानिक तरकारी खेती लगाएका छन् । टनेल बनाउन थालेका छन् । ३ वर्षपछि नाफा हुने लक्ष्य लिएका यी तीन युवाले संयुक्त रूपमा सुरु गरेको व्यवसायले जाँगरिला युवाहरूलाई पशुपालन गर्नतर्फ आकष्ािर्त गरेको छ । उन्नत जातका चारवटा मात्र गाई पाले पनि विदेशमा कमाउने पैसा घरमा नै बसेर कमाइन्छ रेग्मीले भने- जोस र जाँगर भएपछि कमाइ गर्न विदेश जानु पर्दैन ।

Published on: 10 September 2011 | Kantipur

Back to list

;