s

खाडी पुगेका २९५ महिला सम्पर्कविहीन

मध्यपश्चिम क्षेत्रबाट रोजगारीका लागि खाडी पुर्‍याइएका २ सय ९५ नेपाली महिला सम्र्पकविहीन रहेको सम्बद्ध संघसंस्थाले बताएका छन् । उनीहरूमध्ये अधिकांश बेचबिखनमा परेको हुन सक्ने ती संघसंस्थाले शंका गरे । गैरकानुनी बाटोबाट त्यहाँ पुगेका महिला बढी बेचबिखनमा पर्ने गरेका हुन् । पारिश्रमिक बढी पाउने प्रलोभनमा दलालले नेपाली महिलालाई खाडीमा सजिलै लग्ने गरेका छन् । ती मुलुकमा बेचबिखनमा पर्नेको संख्या बर्सेनि बढ्दै गएको तथ्यांकले देखाएको छ । मानव बेचबिखनविरुद्ध जिल्ला समिति सदस्य तथा माइती नेपालका केशव कोइरालाले भारत र खाडी मुलुकमा रोजगारका लागि गएका २ सय ९५ महिलाको खोजतलास गर्न निवेदन आएको बताए ।

खाडीमा बिक्री भएकाको उद्धार गर्न निकै चुनौती रहेको उनी बताउँछन् । त्यहाँबाट अहिलेसम्म १ महिलाको मात्र उद्धार हुन सकेको छ । ६ महिलाको भारतबाट उद्धार गरिएको हो । बेचिएका चेलीबेटीको खोजीका लागि आमाबुवाले निवेदन दिने गरेका छन् ।

खाडीमा उद्धारको कुनै संयन्त्र नभएकाले त्यहाँ कस्तै सहयोग हुन नसक्ने सम्बद्ध संस्थाले जनाए । सरकारीस्तरबाट पनि उल्लेख्य पहल नभएको कोइरालाले दाबी गरे ।

खाडीमा पुगेका अधिकांश महिला आफन्तकै सहयोगमा बेचबिखन हुने गरेका छन् । आर्थिक अवस्था कमजोर भएका अभिभावकले चिनेजानेकै व्यक्तिको विश्वासमा आफ्ना चेली विदेश पठाइदिने र लामो समयसम्म फिर्ता नभएपछि खोजीका लागि निवेदन दिने गरेका छन् ।

'अभिभावकले नै सजिलै विदेश जाने सहमति दिए पनि पछि छोरी बेपत्ता भएको भन्दै खोजीका लागि आग्रह गर्छन्,' कोइरालाले भने । आर्थिक अवस्था कमजोर परिवारलाई चिनेका दाललले छिट्टै विश्वासमा पार्ने गर्छन् । निःशुल्क राहदानी बनाइदिएर भारतको बाटो हुँदै खाडी मुलुक पुर्‍याउने गरेको पाइएको छ ।

मानव बेचबिखनविरुद्ध जिल्ला समितिको कार्यसम्पादन सदस्य तथा अधिवक्ता वासुदेव ज्ञवालीले विदेश जाँदा अधिकांश महिलाले कुनै न कुनै रूपमा अभिभावकको सहमति लिएर जाने गरेकाले उनीहरूलाई जोखिमबारे जानकारी दिनुपर्ने बताए ।

आफन्तबाटै चेलीबेटी बेचबिखन हुन थालेपछि यस क्षेत्रमा क्रियाशील संस्थाले सचेतना कार्यक्रम सञ्चालन गर्दै आएका छन् ।

यता बाँकेमा मानव बेचबिखनविरुद्ध दिवसका अवसरमा समितिले र्‍याली प्रदर्शन गरेको छ । र्‍यालीमा रिक्सा मजदुर, सुरक्षा अधिकारलगायतको सहभागिता थियो ।

Published on: 7 September 2011 | Kantipur

Back to list

;