s

जापानमा आजीवन काराबास भोगिरहेका मैनाली निर्दोष रहेको प्रमाण 'भेटिए'

मणि दाहाल

एक जापानी महिलाको हत्या आरोपमा १४ वर्षदेखि त्यहाँकै जेलमा रहेका गोविन्द मैनालीको डिएनए परीक्षणका क्रममा उनी निर्दोष रहेको यथेष्ट प्रमाण भेटिएको जापानी सञ्चार माध्यमहरूले जनाएका छन्।  ती महिलाको शरीरमा भेटिएका पाँच वस्तुको डिएनए परीक्षण गर्दा मैनालीसँग नमिलेको जापानको सरकारी समाचार एजेन्सी क्योदोले उनका वकिललाई उद्धृत गर्दै उल्लेख गरेको छ।

महिलाको दायाँ स्तनमा रहेको थुक, रौंसहितका पाँच वस्तुको परीक्षण गर्दा तीमध्ये तीन वस्तुको डिएनए उनको शरीरमा भेटिएको विर्यसँग मिलेको छ। यसअघि नै भएको परीक्षणमा ती महिलाको शरीरमा भेटिएको विर्य मैनालीको नभएको डिएनए परीक्षणबाट पुष्टि भइसकेको छ।

अनुसन्धानकर्ताले ती महिलाको शरीरमा भेटिएको थुक 'ओ' रगत समूहका व्यक्तिको भएको जानकारी दिएका छन्। मैनालीको रगत समूह 'बी' हो।

नयाँ प्रमाणले घटनामा मैनाली नभई अरू कोही संलग्न भएको हुनसक्ने सम्भावना निकै बढेको डेली योमुरीको अनलाइन संस्करणले जनाएको छ। डिएनए परीक्षण नतिजाबारे मैनालीका वकिललाई सरकारी पक्षले शुक्रबार जानकारी गराएको थियो।

यसअघि ती महिलाको शरीरमा भेटिएको विर्यको डिएनए मैनालीसँग नमिलेको भेटिएपछि मुद्दाको पुनरावलोकन गर्न वकिलहरूले माग गरेका थिए। तर जापानको सरकारी वकिल कार्यालयले घटनास्थलमा भेटिएका अन्य वस्तुको डिएनए परीक्षण गर्ने फैसला गरेको थियो। घटनास्थलमा भेटिएका १५ सामग्रीको डिएनए परीक्षण गर्ने सहमति भएअनुसार पाँच वटाको नतिजा सार्वजनिक भएको हो।

'यो नतिजाले ती महिलाको हत्या मैनालीले नभई अन्य व्यक्तिले गरेको हो भन्ने हाम्रो तर्कमा सहयोग पुगेको छ, पुनरावलोकन चाँडै सुरु हुनेछ,' मैनालीका एक वकिलले भने, 'यी सबै प्रमाणले मैनाली चाँडै आरोपमुक्त हुने छन्।' ती महिलाको हत्या अभियोगमा मैनाली आजीवन काराबासको सजाय काटिरहेका छन्।

बाँकी सामग्रीको परीक्षण पनि चाँडै हुने भएको छ। 'जापानका सहयोग समिति सदस्यले बाँकी परीक्षणको नतिजा चाँडै सार्वजनिक गर्ने जानकारी दिएका छन्,' काठमाडौंमा रहेकी मैनालीकी पत्नी राधिकादेवीले आइतबार साँझ नागरिकसँग फोनमा भनिन्।

सरकारी पक्षले भने मैनाली नै दोषी रहेको अडान नछाड्ने बताएको छ। उक्त पक्षले अन्य स्थानमा यौन सम्पर्क भएर आएकी ती महिलाको शरीरमा ती वस्तु भेटिएको तर्क अदालतमा गर्ने उल्लेख गरेको छ।

इलामका ४५ वर्षे मैनाली २०५१ सालमा रोजगारीका लागि जापान पुगेका थिए। २०५३ चैत ५ गते मैनालीको छिमेकमा रहेको घरमा ती महिलाको शव भेटिएको थियो।

जापान प्रहरीले २०५३ चैतमा मैनालीविरुद्ध पहिलो मुद्दा दायर गरेकामा २०५७ वैशाख २ गते जिल्ला अदालतले मैनालीलाई निर्दोष मान्दै रिहा गरेको थियो। स्वदेश फर्कने क्रममा रहेका मैनालीलाई ती महिलाको हत्या आरोपमा अध्यागमन कार्यालयको प्रहरीले फेरि पक्राउ गरेको थियो।

उच्च न्यायालयले २०५७ पुस ७ मा जिल्ला अदालतको फैसला उल्टाउँदै मैनालीलाई आजीवन काराबास सुनाएको हो। छ महिनापछि सर्वोच्च अदालतले सोही फैसलालाई सदर गरेको थियो। सन् २००५ देखि मैनालीको मुद्दाको पुनरावलोकन प्रयास हुँदै आएको छ।

Published on: 24 October 2011 | Nagarik

Back to list

;