s

जापानमा १४ वर्षदेखि नेपाली बन्दी, फैसला आउन थप केही महिना लाग्ने

एक महिलाको हत्या अभियोगमा १४ वर्षदेखि जापानमा बन्दी जीवन बिताइरहेका ४४ वर्षीय गोविन्दप्रसाद मैनालीबारे जापानको टोकियो उच्च न्यायालयबाट फैसला आउन थप केही महिना लाग्ने भएको छ। सरकारवादी वकिलले हालै पेस भएका १५ वटा नयाँ प्रमाणको डिएनए परीक्षण गर्नुपर्ने अडान लिएपछि प्रक्रिया लम्बिएको हो।

मृतक महिलाको शरीरमा भेटिएको र्‍याल, रौं र वीर्यको डिएनए परीक्षण गर्दा गोविन्दसँग नमिलेपछि उनका वकिलले गोविन्द निर्दोष रहेको भन्दै जेलमुक्त गर्न आग्रह गर्दै आएका छन्। 

गत बुधबार टोकियोमा सम्पन्न सरकारवादी, प्रतिवादी र उच्च न्यायालयका न्यायाधीश सम्मिलित त्रिपक्षीय बैठकमा सरकारी वकिलले हालकै अवस्थामा गोविन्दलाई निर्दोष ठहर गरी जेलमुक्त गर्न नमिल्ने अडान लिएपछि थप प्रमाणको डिएनए परीक्षण गर्ने निर्णय गर्दै बैठक टुंगिएको थियो। 

'घटनासँग सम्बन्धित १५ प्रमाणको डिएनए परीक्षण गरेपछि मात्र त्यसका आधारमा मुद्दा पुनरावलोकन गर्ने/नगर्ने भन्ने निर्णय लिइने भएको छ,' मैनालीका दाइ इन्द्रप्रसादले नागरिकसँग भने, 'डिएनए परीक्षण सक्न कम्तीमा अढाइ महिना लाग्ने बताइएको छ।' 

डिएनए परीक्षण गरिने थप प्रमाण के-के हुन् भन्नेबारे आफूहरूलाई कुनै जानकारी नदिइएको उनले बताए। तर, जुन प्रमाणको डिएनए परीक्षण सकिन्छ त्यसलाई तत्काल सार्वजनिक गर्ने सहमति बुधबारको त्रिपक्षीय बैठकमा भएको इन्द्रप्रसादले जानकारी दिए। 'जुन प्रमाणको परिक्षण पहिला सकिन्छ पालैपालो बाहिर ल्याउने भन्याछन्,' उनले भने। 

त्रिपक्षीय बैठकमा थप नयाँ प्रमाणको डिएनए परीक्षण गर्ने जिम्मा टोकियोस्थित ओसाका मेडिकल कलेजका प्राध्यापक सुजुकीलाई दिने सहमति भएको थियो। यसअघि गत जुलाइमा सार्वजनिक गरिएका तीन नयाँ प्रमाण (र्‍याल, रौं र विर्य) परीक्षण पनि सुजुकिले नै गरेका थिए। 

सन् १९९७ मा ३९ वर्षीया जापानी महिला यासुको वाटानाबीको लुटपाटपछि हत्या गरेको आरोपमा टोकियो उच्च न्यायालयले गोविन्दलाई डिसेम्बर २००० मा दोषी ठहर गर्दै आजीवन कारबासको सजाय सुनाएको थियो। हत्या भएकी महिलाको शव भेटिएको कोठाबाट प्राप्त रौं, उनको छातीमा भेटिएको र्‍याल र वीर्य परीक्षण गर्दा गोविन्दसँग नमिलेको तीन नयाँ तथ्य बाहिर आएपछि घटनाले नयाँ मोड लिएको हो। जापान गएको तीन वर्षपछि सन् १९९७ मार्चमा इलामका गोविन्दमाथि वाटानाबीको हत्या आरोप लागेको थियो। ती महिलाको शव गोविन्द बस्ने घरसँगै जोडिएको अर्को घरमा भेटिएको थियो। मार्च ८ का दिन हत्या भएका ती महिलाको शव मार्च १९ मा टोकियो प्रहरीले फेला पारेको थियो। महिलाको शव भेटिएको तीन दिनपछि प्रहरीले आफ्नो खोजी गरिरहेको जानकारी पाएलगत्तै गोविन्द आफैं प्रहरीकहाँ उपस्थित भएका थिए। 

सन् १९९७ मार्चमा टोकियो जिल्ला अदालतमा प्रहरीले गोविन्दविरुद्ध पहिलोपटक मुद्दा दायर गरेको थियो। जिल्ला अदालतले सन् २००० अप्रिल १४ का दिन गोविन्द निर्दोष भएको फैसला सुनाएको थियो। 

निर्दोष ठहर गरेपछि नेपाल फर्कने क्रममा रहेका गोविन्दलाई तीनै महिलाको हत्या आरोपमा अध्यागमन कार्यालयबाट प्रहरीले पुनःपक्राउ गरेको थियो। त्यसपछि सरकारी वकिलले टोकियो उच्च न्यायालयमा गोविन्दविरुद्ध मुद्दा दायर गरेका थिए। उच्च न्यायालयले सन् २००० डिसेम्बर २२ का दिन पहिलेको फैसला उल्टाउँदै उनलाई दोषी ठहर गरी आजीवन कारावास सजाय सुनायो। 

त्यसपछि २००१ जुलाइमा प्रतिवादीका वकिलले टोकियोस्थित सर्वोच्च अदालतमा अपिल गरेका थिए। केही दिनमै सर्वोच्च अदालतले उच्च न्यायालयको फैसला सदर गरेपछि गोविन्द नेपाल फर्कने सम्पूर्ण बाटा बन्द भएका थिए। सन् २००५ बाट मुद्दा पुनरावलोकन गर्ने प्रयास भए पनि अझसम्म सफल हुन सकेको छैन। 

'गोविन्द निर्दोष भएको तथ्य भेटिँदै छन्,' इन्द्रप्रसादले भने, 'भाइको पक्षमा सकारात्मक माहोल बन्दै छ।'

Published on: 10 October 2011 | Nagarik

Back to list

;