s

जापानबाट ४८ कामदारको माग रद्द

आशा गरिए अनुसार प्रशिक्षार्थी कामदार जान नसकेको जापानबाट आएको माग समेत रद्द हुन थालेको छ । जापान इन्टरनेसनल ट्रेनिङ कोअपरेसन अर्गनाइजेसन (जिट्को) अन्तर्गत आएको माग अनुसार कामदार पठाउन नसकेपछि हालै ४८ कोटा रद्द भएको हो ।

प|mेन्डसिफ इन्टरनेसनल नामक कम्पनीले जापानबाट केहीअघि ४८ जनाको माग ल्याएको थियो । मागपछि कम्पनीले वैदेशिक रोजगार विभागबाट पूर्वस्वीकृति समेत लिएर छनोट प्रक्रिया समेत सुरु गरेको थियो ।
 
तर छनोट गर्दा भनेजस्तो कामदार नपाएपछि कामदार लैजान सघाएको जापानी कम्पनी नागासाकी केन म्यानेजमेन्ट सपोर्ट एसोसिएनसले सम्झौता रद्द गरिदियो ।
 
'उताको कम्पनीले नै नलैजाने भनेपछि कम्पनीले यहाँ आएर पूर्वस्वीकृति रद्द गर्न आग्रह गरेको थियो,' विभागका एक अधिकारीले भने, 'हामीले आवश्यक विभिन्न अध्ययन गर्‍यौं । अध्ययनले रद्द गर्नु सही भएको पाएपछि प्रक्रिया रोकिएको हो ।'
 
कम्पनीले ल्याएको ४८ जनाको मागमा ३६ महिला र १२ पुरुष थिए । विभागले रद्द गर्नुअघि जाने कामदारबाट पैसा लिएको उजुरी समेत नआएको बताए । जापानबाट आएको माग पहिलो पटक रद्द भए पनि अब यो बढ्न सक्ने व्यवसायीहरू बताउँछन् । प्रक्रिया धेरै जटिल र झन्झटिलो हुनुका साथै एकै पटक आएको मागका कामदार पछि एक/एक जना गरी पठाउँदा समस्या आएको बताउँछन् । 'कागजात तयार पार्ने प्रक्रिया धेरै जटिल छ,' वैदेशिक रोजगार व्यवसायी संघका अध्यक्ष सोमलाल बटाजूले भने, 'सरकारले थोरै प्रवर्द्धन शुल्क छुट्याएको छ । यसले पनि कम्पनीहरू जापान कामदार पठाउन खासै चासो दिँदैनन् ।'
 
नेपालबाट जिट्को अन्तर्गत प्रशिक्षार्थी कामदार पठाउन खुला भएको दुई वर्ष भइसके पनि अहिलेसम्म १३ वटा म्यानपावर एजेन्सीले १ सय ३१ जना कामदार जापान पठाएका छन् । यी कामदार १८ वटा कम्पनीमा काम गर्न गएका हुन् । विभागका अनुसार अहिलेसम्म झन्डै तीन दर्जन कम्पनीले १ हजार २ सय ७७ कामदारको माग ल्याएका छन् । जसमा उद्योग वाणिज्य महासंघले माग ल्याएका १२ जना पनि छन् ।
 
म्यानपावरका अनुसार जापानका कम्पनीले खोजे अनुसार कामदार समेत नेपालमा पाउन गाह्रो भएको छ । जिट्को अन्तर्गत कामदार पठाउन नेपालको सम्बन्धित क्षेत्रमा  काम गरेको अनुभव हुनुपर्छ । यस्तै खेतीमा काम गर्नेसँग पनि कृषि उद्योगमा दुई वर्ष काम गरेको अनुभव हुनुपर्छ । अहिलेसम्म जापानबाट आएका मागहरू माछापालन र कृषि क्षेत्रमा छन् ।
 
विभागका महानिर्देशक पूर्णचन्द्र भट्टराई जापान जाने प्रशिक्षार्थी कामदारको संख्यामा उल्लेख्य वृद्धि नभएको बताउँछन् । उनले म्यानपावर कम्पनीले केही काम गरेपछि संख्या वृद्धि हुन सक्ने बताए । 'भियतनाममा सुरुमा यस्तै भएको थियो,' उनले भने, 'पाँच वर्षपछि मात्र त्यहाँ जानेको संख्या बढेको हो ।'
 
Published on: 21 November 2011 | Kantipur 

Back to list

;