s

जापान कामदार पठाउन कम्पनी असफल

जापानमा औद्योगिक प्रशिक्षार्थी कामदार पठाउन खुला भएको दुई वर्षमा जम्मा १ सय २९ जना नेपाली जापान गएका छन् । व्यवसायीहरूले बजार प्रवर्द्धन गर्न नसकेकाले आकर्षक गन्तव्य मानिएको जापानमा आशा गरिएअनुसार कामदार जान नसकेका हुन् । 

जापान इन्टरनेसनल ट्रेडिङ कअपरेसन अर्गनाइजेसन (जिट्को) अन्तर्गत कामदार पठाउन अनुमति पाएको १ सय १७ वटा कम्पनीमध्ये केहीले आधा दर्जन कम्पनीले कामदार पठाएका छन् । जापानमा बजार प्रवर्द्धन गर्न उनीहरूसँग भाषाको ज्ञान भएका व्यक्ति कम भएकाले पनि माग कम आएको जानकारहरूले बताएका छन् । 

'सोचेभन्दा धेरै कम कामदार जापान गएका छन्,' वैदेशिक रोजगार विभागका निर्देशक काशीराज दाहालले भने, 'कम्पनीहरूले बजार प्रवर्द्धन गर्न नसकेकाले माग कम आएको हुन सक्छ ।' उनका अनुसार अहिलेसम्म दुई दर्जन कम्पनीले माग ल्याएका छन् । 'दुई दर्जन कम्पनीले १ हजार २ सय ७७ जना कामदारको माग ल्याएका छन्,' उनले भने, 'तर त्यसमध्ये ६/७ वटा कम्पनीले मात्र कामदार पठाएका छन् ।' व्यवसायीहरू लामो प्रक्रिया भएको र प्रवर्द्धन शुल्क पनि कम उठाउन पाउने व्यवस्थाले कम कामदार जापान पुगेको बताउँछन् । 'सरकारले एक जना कामदारबाट ५० हजार रुपैयाँ प्रवर्द्धन शुल्क लिन पाउने व्यवस्था गरेको छ,' वैदेशिक रोजगार व्यवसायी संघका महासचिव तथा फ्युजन इन्टरनेटसनका प्रबन्ध निर्देशक कुमुद खनालले भने, 'यति थोरै रकमले कामदार पठाउन गाह्रो हुन्छ ।' 

सहज रूपमा कामदार पठाउन नसक्ने अवस्था, अन्य मुलुकको तुलनामा नाफा कम हुने जस्ता कारणले जापानमा कामदार पठाउनु म्यानपावर कम्पनीको प्राथमिकतामा समेत पर्दैन । 

म्यानपावर कम्पनीहरूले प्रवर्द्धनका लागि जापान जान बढी खर्च लाग्ने तर त्यो उठाएको शुल्कबाट सम्भव नहुने भएकाले प्रवर्द्धनमा खासै चासो दिने गरेका छैन । '३ महिनामा जापान पठाउने कम्पनीले पुनः नवीकरण गर्नुपर्छ,' खनालले भने, 'तर प्रवर्द्धन खर्च धेरै नभएको र कामदार पठाउन पनि नसकिएको अवस्थामा धेरै कम्पनीहरू नवीकरण गर्ने/नगर्नेेमा अन्योल परेका छन् ।' 

सरकारले प्रवर्द्धन खर्च बढाएर व्यवसायीले केही कमाउन सक्ने अवस्था सिर्जना नगरे आफूले पनि नवीकरण नगर्ने बताए । सुरुमा २७ जना कामदारको माग ल्याएको खनालले अहिलेसम्म ५ जना कामदार जापान पठाएको बताए । तर त्यसमा दुई जना महिला फर्किएका छन् । 'औद्योगिक प्रशिक्षार्थीका रूपमा गएका उनीहरूले ओभर टाइम नपाएको र आम्दानी पनि राम्रो नभएको भनी फर्किएका छन्,' उनले भने, 'यस्तो अवस्थामा कसरी काम गर्न सकिन्छ ।'

Published on: 2 November 2011 | Kantipur

Back to list

;