s

इजरायलको लागत खर्च २ लाख २७ हजार

होम कार्की

वैदेशिक रोजागारको लागि केयर गिभरमा इजरायल जाने लागत खर्च  २ हजार ९ सय २५ अमेरिकी डलर -२ लाख २७ हजार रुपैयाँ) तोक्न श्रम मन्त्रालयले  प्रधानमन्त्री बाबुराम भट्टराईलाई सिफारिस गरेको छ।

वैदेशिक रोजगारका लागि इजरायल सबैभन्दा सुरक्षित र आकर्षक मानिन्छ । श्रम मन्त्रालयको श्रम सम्बन्ध महाशाखाका प्रमुख पूर्णचन्द्र भट्टराईको अध्यक्षतामा बसेको वैदेशिक रोजगार व्यवसायी, परराष्ट्र मन्त्रालयका प्रतिनिधि, वैदेशिक रोजगार विभागका अधिकारीहरूको बैठकले यो लागत खर्च तोकेको हो । 
 
'भिसा शुल्क, प्रवर्द्धन खर्च र टिकट गरी यो रकम तोकिएको हो,' बैठकमा सहभागी एक सदस्यले भने, 'यो लागत खर्च तोक्न प्रधानमन्त्री समक्ष सिफारिस गरिएको छ ।' 
 
व्यवसायीले कामदारसँग लागतका रूपमा भिसा शुल्क कमिसन ९ सय ५०, टिकट खर्च १ हजार, प्रवर्द्धन २ सय ५०, बिमा ६३, स्वास्थ्य परीक्षण ४०, कल्याणकारी कोष १३, अभिमुखीकरण तालिम ९ गरी कुल २ हजार ९ सय २५ अमेरिकी डलर लिन पाउने भएको हो ।
 
'कानुनी रूपमा यी काम भए भने यो लागत खर्च पर्याप्त हो,' बैठकमा सहभागी फरेन इम्प्लोइमेन्ट एसोसिएसनका अध्यक्ष प्रेम कटुवालले कान्तिपुरलाई भने, 'अब इजरायल सरकारले पनि आपmनो म्यानपावर एजेन्सीलाई कानुनी रूपमा नियन्त्रणमा राख्नुपर्छ ।'
 
कामदारसँग अवैध रूपमा बढी पैसा असुल गरेको भन्दै इजरायल सरकारले २००९ अपि्रलमा नेपाली कामदार लैजना बन्द गरेर गत भदौमा खुला गरेको थियो । सरकारले कार्यविधि बनाएर र लागत खर्च तोकेर व्यवस्थित रूपमा पठाउन तयारी गरिरहेको छ । 
 
'कार्यविधि स्वीकृत भइसकेको छ,' श्रम प्रवक्ता समेत रहेका भट्टराईले भने, 'लागत खर्च निर्धारण हुने बित्तिकै पठाउने काम सुरु हुन्छ ।'  इजरायल सरकारले सुरुवातको लागि १ सय वटा भिसा जारी गरिसकेको छ । 
 
यो लागत खर्चमा व्यवसायी समेत पठाउन तायर भएपछि श्रम मन्त्रालयले अन्तर्राष्ट्रिय आप्रवासन संगठन -आइओएम) समेतको संलग्नतमा अनुगमन समिति बनाउने छ । वैदेशिक रोजगार विभागले स्वीकृत कार्यविधि अनुसार इजरायल पठाउने म्यानपावरको सूचीकरण गर्ने कामलाई अन्तिम चरणमा पुर्‍याएको छ । २ सय ४५ म्यानपावर कम्पनीले इजरायल कामदार पठाउने प्रस्ताव सरकार समक्ष पेस गरेका छन् । यसमा इजारायलस्थित दूतावासले कारबाहीको सिफारिस गरेका केही म्यानपावर कम्पनी समेत परेका छन् ।    
 
उनका अनुसार इजरायलमा हाल सात हजार नेपाली कामदार छन् । त्यसमध्ये ९० प्रतिशत कामदार महिला छन् । त्यहाँ एक कामदारको मासिक कम्तीमा १२ सय डलर कमाइ हुने उनले बताए ।
 
Published on: 3 November 2011 | Kantipur

Back to list

;