s

इराकमा दुई नेपालीलाई तीन वर्ष कैद

अफगानिस्तान लैजाने भन्दै छ महिना अगाडि इराक पुर्‍याइएका चितवनका ३४ वर्षीय गोपाल शर्मा अमगाईं र मकवानपुरका राजेश लामालाई 'ओभर स्टेको' अभियोगमा तीन वर्ष जेल सजाय तोकिएको छ ।

बग्दादस्थित अदालतले गत सोमबार सुनाएको निर्णयबारे अमगाईंका भाइ सुनिलले जानकारी दिएका हुन् । ओभर स्टेको आरोपमा बार्सा सहरबाट एकैसाथ पक्राउ परेका अर्का फिलिपिनो नागरिकले भने छुट पाएका छन् । गत चैतमा चितवनकै चिनारु दलाल बलराम श्रेष्ठ, नुनराज गिरी तथा दुबईमा रहेका कार्की थरका एजेन्टलाई २ लाख ५० हजार रुपैयाँ जनही बुझाएर अमगाईं र लामा अफगानिस्तान हिँडेका थिए ।

'इराकमा हाम्को नामको होटलमा काम गरिरहेका थिए, भिसा सकिएकाले होटल सञ्चालकले आफैं योजना बनाएर जेल हाल्ने काम भएको छ,' सुनिलले भने । छुटाउन पहल नगरे तीन वर्षभित्रमा आतंककारीको अभियोग लगाउँदै आजीवन कारवासको सजाय हुन सक्ने बार्सास्थित एक नेपालीले बताएको सुनिलले जानकारी दिए ।

आफन्तलाई फसाएर लैजाने दलालमध्ये नुनराज गिरी हाल भागेर अफगानिस्तान पुगेको सुनिलले बताए । प्रधानमन्त्री कार्यालयको 'हेलो सरकार' अभियानले यी दुई नेपाली रिहाइबारे पहल गर्ने आश्वासन दिएको उनले बताए ।

Published on: 6 November 2011 | Kantipur 

Back to list

;