s

हङकङ भिसा खुकुलो हुने

पूर्ण बस्नेत

चीनको विशेष प्रशासनिक क्षेत्र हङकङले नेपालीका लागि बन्द गरिएको भिसा प्रक्रिया खोल्नेबारे समीक्षा गर्ने भएको छ।

उपप्रधान तथा परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठसँग सोमबार भएको भेटवार्तामा प्रमुख सचिव स्टिफन लामले छ वर्षअघि नेपालीका लागि बन्द गरिएको भिसा खुकुलो बनाउने संकेत दिएका हुन्।
'हामीले हङकङका प्रमुख सचिवसँग नेपाली नागरिकका लागि पहिलेकै अवस्थामा भिसा खोल्न आग्रह गरेका छौं,' भेटवार्तापछि मन्त्री श्रेष्ठले नागरिकसँग भने, 'उनले कसरी खुकुलो बनाउन सकिन्छ, इमिग्रेसन (अध्यागमन) अधिकारीहरूलाई समीक्षा गर्न निर्देशन दिन्छु भनेका छन्।'
चिनियाँ प्रधानमन्त्री वेन जियाबाओको पुस पहिलो साता हुने नेपाल भ्रमणको तयारीका क्रममा साता लामो चीन भ्रमणको अन्तिम दिन उपप्रधान तथा परराष्ट्रमन्त्री श्रेष्ठले हङकङका प्रमुख सचिव लामसँग भेटवार्ता गरेका हुन्। हङकङमा कार्यकारी प्रमुखपछि प्रशासनिक रूपमा प्रमुख सचिव दोस्रो उच्च तह मानिन्छ।
 
भिसा खोल्न विभिन्न चरणमा छलफल भए पनि उपप्रधान तथा परराष्ट्रमन्त्री तहमा हङकङ सरकारसँग भएको यो पहिलो पहल हो। सोमबार अपराह्न गैरआवासीय नेपाली संघ (एनआरएन) हङकङले भिसा खोल्ने पहल गर्न मन्त्री श्रेष्ठलाई विशेष आग्रह गरेको थियो।
 
नेपाललगायत आठ देशका नागरिकलाई हङकङले सन् २००५ देखि भिसा बन्द गरेको थियो। कूटनीतिक, विद्यार्थी, ट्रान्जिट, भ्रमण र रोजगार भिसा बन्द हुँदा नेपालीले ठूलो समस्या भोग्दै आएका छन्। हङकङ आइडी लिएर बसेका करिब ३१ हजार नेपालीले भिसा समस्याका कारण आफन्तलाई पाहुनाका रूपमा ल्याउन समेत समस्या झेल्दै आएका छन्। रोजगार भिसामा नेपाली घरेलु कामदार आउने प्रक्रिया पनि रोकिएपछि अन्तर्राष्ट्रिय संघसंस्थाले भिसा खोल्न आग्रह गर्दै आएका छन्।
 
नेपाल सरकार र हङकङका नेपाली समुदायले पटकपटक आग्रह गरे पनि नेपालीहरू शरणार्थीका रूपमा समेत बस्न थालेको भन्दै हङकङ सरकारले भिसा खोल्न अस्वीकार गर्दै आएको थियो।
 
मन्त्री श्रेष्ठसँग भेटवार्तामा रहेका हङकङका महावाणिज्यदूत विनोद उपाध्यायका अनुसार यसपटक पनि प्रमुख सचिव लामले नेपालीको उक्त समस्या दर्शाएका थिए। 'तर नेपाल शान्ति प्रक्रिया पूरा गर्ने चरणमा रहेकाले अहिले यातनाको दाबी गरेर नेपालीहरू हङकङमा बस्ने अवस्था नरहेको मन्त्रीले सम्झाएका छन्,' उपाध्यायले भने।
 
हङकङका कार्यकारी प्रमुखको कार्यालयमा भएको करिब एक घन्टा लामो भेटवार्तामा मन्त्री श्रेष्ठले नेपालमा लगानीका लागि हङकङका व्यवसायीहरूलाई उत्प्रेरित गर्न सचिव लामसँग आग्रह गरेका थिए। मन्त्री श्रेष्ठका अनुसार नेपालमा लगानीको सम्भावना खोज्न उद्योगी व्यवसायीहरूको प्रतिनिधिमण्डलले हङकङ आएर यहाँको चेम्बर अफ कमर्सका अधिकारीहरूसँग छलफल गर्ने समझदारी भएको छ।
नेपालको पर्यटन प्रवर्द्धनमा सहयोग गर्न मन्त्री श्रेष्ठले गरेको आग्रहमा हङकङका प्रमुख सचिव लामले सकारात्मक चासो देखाएका छन्। उपाध्यायका अनुसार हङकङ विश्वको एक उत्कृष्ट पर्यटक गन्तव्य भएकाले नेपालको पर्यटन प्रवर्द्धनमा सहयोग गर्न सकिनेबारे छलफल भएको थियो। हङकङ आएलगत्तै महावाणिज्य दूतावासमा मन्त्री श्रेष्ठले केही चिनियाँ पर्यटन व्यवसायीलाई पनि भेटेका थिए।
 
Published on: 29 November 2011 | Nagarik 

Back to list

;