s

घर र्फकंदै लाहुरेहरू

घनश्याम खड्का

दसैं नजिकिँदै जाँदा कामको खोजीमा सात समुद्रपारि पुगेका 'लाहुरे' चाड मनाउन धमाधम र्फकंदै छन् । राजधानीबाट जिल्ला भित्रने सबै सवारीमा आधा बढी यात्रु खाडी मुलुकको श्रमबजारबाट फर्केका लाहुरे तन्नेरी देखिन्छन् । 

दसैंमा घर र्फकने सहरवासी, कर्मचारीसँगै यस्ता लाहुरेलाई राजधानीको एयरपोर्टदेखि बसपार्क हुँदै जिल्लाबाट गाउँमा पुगेको बस स्टेसनसम्मका यातायात व्यवसायीले 'मुर्गा' भन्दै ठग्ने गरेका छन् । 'तीन वर्ष कुवेतमा बसेपछि दसैं मान्न तीन महिनाको छुट्टी आएको हुँ । बसवालाको गुन्डागर्दी नै चल्ने रहेछ । सानो झोलाको समेत लकेज भन्दै महँगो रकम असुले' बेनीमा बालबालिकालाई लत्ताकपडा किन्दै गरेका भगवती ८ राखुका कृष्ण खत्रीले बताए ।

पछिपछि सुटकेसमाथि ठूलो क्यासेट प्लेयर, टिभी र ब्लांकेट बोकेका भरिया लगाएका लाहुरे घर फिर्ती हुँदा गाउँघरको चहलपहलमा पनि रौनक थपिएको छ । लाहुरेको घर फिर्तासँगै केटाकेटी र चेलीहरूको मन फुरुंग छ । बजारमा किनमेलको क्रम बढेको छ । दसैं नजिकिँदै गर्दा लाहुरेमात्र होइन, बालबच्चा पढाउन सहर झरेका पनि नानीबाबुलाई अगाडि लगाएर धमाधम घर र्फकन थालेका छन् । गाउँगाउँमा स्थानीयस्तरका खेलकुद प्रतियोगितासहित मनोरञ्जनपूर्ण मेलाको आयोजना गरिएका छन् ।

घर र्फकन नपाएका लाहुरेले परिवारलाई दसैंमा घर खर्च रेमिटान्स रकममा पनि वृद्धि भएको छ । नेपाल बैंक र वाणिज्य बैंकका जिल्ला शाखाले दिएको जानकारीअनुसार भदौ महिनामा मात्र झन्डै १० करोड रुपैयाँ भित्रिएको छ । अन्य महिनामा सरदर मासिक ८ करोड ५० लाख रेमिटान्स भित्रने गरेको छ । यस जिल्लाका ८० प्रतिशत युवा वैदेशिक रोजगारीका लागि विदेश पुगेका छन् । जिल्लाबाट भारतीय र बेलायती सेनामा कार्यरत आवासीय भिसा लिएका परिवारबाहेक पनि करिब १० हजार युवायुवती विभिन्न मुलुकमा बसोबास गर्छन् । 

 सडकले सास्ती
मन्थली- दसैंका लागि सहरबाट गाउँ र्फकने सर्वसाधारणले सडकमा यातायात नगुड्दा सास्ती बेहोर्नुपरेको छ । महिला र स-साना बालबालिकासहित दसैंका लागि आवश्यक सरसामान ल्याउनेबीच बाटोमै अलपत्र पर्न थालेका छन् । काठमाडौंबाट अरनिको यातायात सेवा समितिले बस थपे पनि सडकमा पहिरो जाँदा अधिकांश ग्रामीण क्षेत्रमा यातायात सञ्चालन हुन सकेका छैनन् । बुधबारदेखि समितिले थपेका बसमा आउने खचाखच यात्रु बीच बाटोमै ओर्लिएर पैदल यात्रा गर्न बाध्य छन् । 

केही दिनअघिको वषर्ाले सडकमा ग्रस्त पुर्‍याएपछि काठमाडौंबाट रामेछाप साँघुटार, देउराली, प्रीति, बाम्ती, फुलासी देउराली, सिरिसेलगायत स्थानका लागि छुटेका बस निर्धारित स्थानमा नपुगी बीचैबाट र्फकने गरेका छन् । चार दिनअघिको वषर्ाले सडकका विभिन्न भागमा झरेको पहिरो पन्छाउन नसक्दा सालु देउराली साँघुटार जाने सवारी सुनारपानीबाटै फर्किन्छन् । धेरै ठाउँमा पहिरो झरेकाले तत्कालै मर्मत असम्भव भएको स्थानीय व्यवसायीले जनाए । मन्थलीका व्यवस्ाायी यज्ञ सुवेदीका अनुसार सालुदेखि साँघुटारको सडक मर्मतका लागि अझै महिनौं लाग्न सक्छ । 
जिविसले दसैंलाई मध्यनजर राख्दै साताअघि मात्र उक्त सडक मर्मत गरेको थियो । सडक मर्मत गरी साँघुटारमा यातायात पुगे पनि त्यसपछि परेको अविरल वषर्ाले सडक क्षति भएको हो । दसंै लागेकाले जिविसलगायत निकायका अधिकारीसमेत जिल्लामा नहुँदा अवरुद्ध सडक खुल्ने सम्भावना छैन । डोजरको सहायताबिना सडक सुचारु हुन नसक्ने स्थानीय उपभोक्ताले बताए । यसैगरी सैपुको शिरिसे जाने सडक विभिन्न स्थानमा अवरुद्ध छ । काठमाडौं छुटेका बस धोबी नजिकैको कोटगाउँबाट र्फकने गरेका छन् । उक्त सडकमा चार महिनादेखि यात्रुवाहक बस गएका छैनन् ।

जिल्लाको उत्तरी गाविस बाम्ती र प्रीति पुग्ने सडक महिनौंदेखि बन्द छन् । दोलखाको जिरीबाट नै बाटो बिग्रेपछि अरनिको यातायात सेवाले यात्रु सेवालाई जिरीसम्म मात्र कायम गरेको थियो । जिरीबाट रामेछापको सडक मर्मत गर्न जिविस र आसपासका गाविसले करिब ४ लाख खर्चेपछि बुधबारदेखि बेताली र चुचुरेको शिवालयमा बस पुगेका छन् । तीन महिनापछि यी ठाउँमा बुधबारमात्र बस पुगेको हो । यही मार्गबाट रामेछापका अतिरिक्त ओखलढुंगा र सोलुका बासिन्दा ओहोरदोहोर गर्छन् ।

Published on: 30 September 2011 | Kantipur 

Back to list

;