s

गैरकानुनी श्रम स्वीकृति दिइरहन व्यवसायीको दबाब

होम कार्की

वैदेशिक रोजगार विभागबाट गैरकानुनी रूपमा हुँदै आएको श्रम स्वीकृति रोकिएपछि त्यसलाई निरन्तरता दिन व्यवसायीहरूले दबाब दिँदै आएका छन् ।

विभागका नवनियुक्त महानिर्देशक पूर्णचन्द्र भट्टराईले पूर्वस्वीकृतिमा उल्लेख भएबमोजिम कम्पनी, स्पोन्सर, पेसा र तलब फरक भएकालाई अन्तिम स्वीकृतिमा रोक लगाएपछि व्यवसायीले विगतमा जस्तै निरन्तरता दिन दबाब दिएका हुन् । यसै विषयलाई लिएर बुधबार दिनभर विभाग तनावग्रस्त बनेको थियो । विगतमा पूर्वस्वीकृतिमा उल्लेख गरिएको कम्पनी, पेसा, सुविधा फरक भए पनि अन्तिम स्वीकृति दिइन्थ्यो ।

अहिले विभागले कामदार छनोट गर्नुअघि दिएको पूर्वस्वीकृतिमा उल्लेख विवरण र अन्तिम श्रम स्वीकृतिको लागि पेस भएको भिसा र रोजगार सम्झौतामा फरक भेटे कडाइका साथ रोक लगाउन थालेको छ । 'पूर्व श्रमस्वीकृतिमा उल्लेख विवरणअनुसार भिसा र रोजगार सम्झौता फरक देखिएकालाई अनुमति नदिइएको हो,' महानिर्देशक भट्टराईले भने, 'कानुनविपरीत श्रम स्वीकृति दिने कुरा हुँदैन ।' विभागले सबैभन्दा बढी कामदार गइरहेको मुलुक कतारबाट यो अभियान सुरु गरेको हो । कतारमा अहिले मासिक १२ हजार कामदार गइरहेका छन् ।

विभागले कतारस्थित दूतावासबाट प्रमाणित मागपत्रको आधारमा मात्रै पूर्वश्रमस्वीकृति दिने नयाँ अभियान थालेको छ । त्यहाँस्थित दूतावासका अनुसार वैदेशिक रोजगारमा जाने नेपाली कामदार असुरक्षित हुनुको प्रमुख कारण नै पूर्वस्वीकृति भन्दा फरक कम्पनी र पेसामा काम लगाइनु हो । 'कतार आएका ७५ प्रतिशत कामदार नेपालमा म्यानपावर कम्पनीसँग सम्झौता गरेअनुसारको कम्पनी, पेसा र तलब नहुँदा असुरक्षित हुने गरेका छन्,' कतारका लागि राजदूत सूर्यनाथ मिश्रले भने, 'उनीहरू एउटा कम्पनी र पेसा भनेर आएका हुन्छन्, यता आउँदा अर्कै हुन्छ ।'

त्यसरी कम्पनी फरक भइदिँदा कतारको श्रम अदालतबाट कामदारले पाउने हक अधिकार दिलाउन समेत नसकिएको उनले बताए । 'भिसा र रोजगार सम्झौतामा उल्लेख कम्पनीमै कार्यरत भए तोकिएको काम र तलब नपाएमा अदालतले दिलाइछाड्छ,' राजदूत मिश्रले भने, 'तर श्रम स्वीकृतिमा उल्लेख कम्पनी र काम फरक भए मुद्दा लड्ने कानुनी आधार नै हुँदैन ।'

विभागले श्रम स्वीकृतिमा कडाइ गरेपछि त्यसलाई सहज गर्न माग गर्ने वैदेशिक रोजगार व्यवसायी संघ, फरेन इम्प्लोइमेन्ट एसोसिएसनका पदाधिकारीबीच बुधबार श्रम मन्त्रालयमा छलफल भएको थियो । व्यवसायीहरूले एकैपटक कडाइ हुँदा समस्या बढेकाले समाधानको दीर्घकालीन उपाय निकाल्नुपर्ने धारणा राखेका थिए । उनीहरूले पूर्व श्रम स्वीकृतिमा उल्लेख भएबमोजिमै कम्पनी, पेसा र तलब दिने ग्यारेन्टी पत्र दिएको आधारमा श्रम स्वीकृति दिन अनुरोध गरेका छन् ।

'कम्पनी फरक नपर्ने गरी आएको मागपत्रमा श्रमस्वीकृति दिन आग्रह गरेका छौं,' एसोसिएसनका अध्यक्ष प्रेम कटवालले भने, 'मागपत्रमा उल्लेख भएका सेवा, सुविधा  दिने ग्यारेन्टीपत्र व्यवसायीले पेस गरेमा हाललाई फुकुवा गर्ने गरी समाधान निकाल्नुपर्छ भन्ने हो ।'  

व्यवसायीबाट पत्रकार पिटिए वैदेशिक रोजगार व्यवसायी संघका प्रथम उपाध्यक्ष हंसराज वाग्लेले समाचार संकलन गर्न वैदेशिक रोजगार विभाग पुगेका पत्रकार मानछिरिङ तामाङमाथि हातपात गरेका छन् ।

विभाग महानिर्देशक कार्यकक्षमा पुगेका पत्रकार तामाङलाई वाग्लेले बाहिर निस्कन भन्दा विवाद भएपछि हातपात गरेका हुन् । त्यतिखेर व्यवसायीहरू महानिर्देशकलाई श्रम स्वीकृतिमा लगाइएको कडाइप्रति विरोध जनाउँदै त्यसलाई खुकुलो बनाउन दबाब दिइरहेका थिए ।

Published on: 17 November 2011 | Kantipur 

Back to list

;