s

फेसबुकले जुटायो ११ लाख

विमल खतिवडा/लालप्रसाद शर्मा

इजरायलमा कार्यरत बाँके कोहलपुरका सूर्य बस्यालले युट्युवमा भेटिएको अपांगसम्बन्धी भिडियो फेसबुक स्टाटसमा राखे । र, लेखे- 'अपांगलाई सहयोग गर्न पाए उनीहरू र परिवारको आँसु र व्यथामा राहत मिल्ने थियो ।'

पर्वत रानीपानीका एकै घरका ५ अपांगको कथा-ब्यथाले भरिएको उक्त भिडियो इजरायलका नेपाली कामदारको फेसबुक सन्जाल 'नेप्लिज इन इजरायल' मार्फत सर्वत्र फैलियो । अनि फेसबुकबाट सुरु भयो- सहयोग संकलन अभियान । फलतः दुर्गम गाउँका एकै परिवारका ५ अपांगका लागि जुट्यो ११ लाख रुपैयाँ ।

रानीपानी-६ का बलबहादुर परियारले ५ अपांग छोरीका लागि यसै साता १० लाख रुपैयाँ हात पारेका छन् । 'संकलित रकम पर्वत सदरमुकामस्थित काष्ठमण्डप बैंकमा आएको छ,' बलबहादुरले भने । उनीहरूले छुट्टै खाता खोल्न लगाई दुई पटक गरेर बैंकमा रकम जम्मा गराएको बैंक कर्मचारीले बताएका छन् । बलबहादुर र कौशिलाका छोरीहरू १९ वषर्ीया मिठु, १७ वषर्ीया गंगा, ११ वषर्ीया जमुना तथा गंगा र ८ वषर्ीया अनिता परियारको हातखुट्टा चल्दैन । चल्न नसक्दा उनीहरू ओछ्यानमै बस्न बाध्य छन् । जन्मिदा सामान्य अवस्था भए पनि पाँचैजनाको सात महिनापछि हातखुट्टा सुक्दै गएर यो स्थिति भएको हो । शरीर पनि डल्लो भएको छ । शरीर दुख्ने भएकाले औषधि खुवाइरहनुपर्छ ।

'फेसबुककै माध्ययमबाट सहयोग जुटाउन सफल भयौं,' अपांग सहयोग समितिका संयोजक पोखराका कुमार पौडेलले टेलिफोनमा कान्तिपुरसँग भने, 'निःस्वार्थ भावनाबाट प्रेरित भई अभियान थालेका थियौं, सबै साथीले राम्रै सहयोग गरेका छन् ।' १० लाख पठाए पनि बाँकी लाख रुपैयाँ भने नेपालमै आएर दिने योजना रहेको उनले बताए  ।
टेलिभिजन कार्यक्रम अपांग सरोकारका सञ्चालक लक्ष्मीप्रसाद पौडेलले उक्त भिडियो ६ महिनाअघि युट्युवमा राखेका थिए । त्यसलाई दुई महिनाअघि बस्यालले फेसबुक स्टाटसमा राखेका थिए । 'भिडियो र स्टाटसबाट अपांगको पीडा र क्रन्दन सुनेपछि सबै भावुक भए, सहयोग गर्न सबैलाई उत्साहित पनि बनायो,' पौडेलले भने ।

स्टाटस पढेपछि बस्याल, कुमार र झापाका गोपाल सिटौलाबीच सहयोग जुटाउनेबारे सल्लाह भयो । उनीहरूले पनि आफ्ना फेसबुक साथीलाई सहयोगको अनुरोध गरे । सबैले सहयोगको आश्वासन दिए । फेसबुक साथीले सहयोग गर्ने भनेपछि रकम संकलन कामलाई विधिवत समितिको प्रत्यक्ष निगरानीमा व्यवस्थित र पारदर्शी गर्दै कुमार पौडेलको संयोजकत्वमा ७ सदस्यीय सहयोग समिति गठन भएको थियो । उनीहरूले 'नेप्लिज इन इजरायल' को भित्तोमा अपांग र समितिको सबै विवरण राख्दै गए । साप्ताहिक गतिविधि र रकम संकलनको सबै विवरणलाई फेसबुकमै राखे । तिहारको बेला तेलअबिबमा देउसी-भैलोसमेत खेले ।
विदेशमा रहेका दयालु दाजुभाइले सहयोग गरेपछि परियार परिवारमा खुसी छाएको छ । 'बिहान बेलुकीको छाक टार्न गाह्रो थियो,' बलबहादुरले टेलिफोनमा भने, 'सहयोगी मनका कारण राहत मिलेको छ ।'

यसअघि पनि कान्तिपुरमा समाचार छापिएपछि काठमाडौंका वासु केसीले मासिक १० हजार रुपैयाँ सहयोग गर्दै आएका छन् । इजरायलका नेपालीको यो सहयोग अभियानमा लन्डन, कुवेत, जापान, कोरिया र अस्ट्रेलियामा बस्ने नेपालीले पनि साथ दिन खोजेको लक्ष्मीप्रसादले बताए । अपांग परिवारमा एक जना दिनहुँ रेखदेखमा बस्नुपर्छ ।  लवाइ-खवाइ तथा दिसापिसाब सम्हाल्नुपर्छ । चिकित्सकले क्याल्सियमको कमीले बिरामी परेको बताएपछि ऋण काढेर पाल्पा, बुटवल, भरतपुरलगायतका अस्पताल पुर्‍याए पनि उपचार हुन सकेको थिएन । '१५ दिन खान नपुग्ने बारी छ, अर्काको घरमा गएर बनिबुतो गरी केही नल्याए सबैजना भोकभोकै बस्नुपर्ने अवस्था छ,' अपांगकी आमा कौशिलाले भनिन्, 'सहयोगले गुजारा गर्न सजिलो बनाएको छ ।'

Published on: 18 November 2011 | Kantipur 

Back to list

;