s

डोल्माबारे पत्र लेखियो

आकस्मिक तवरमा एम्नेष्टी दिएर घरफिर्ती केन्द्रमा लगिएपनि कागजात नमिलेको भन्दै फेरि जेल पुर्याइएकी डोल्मा शेर्पाको कानूनी र अन्य स्थिती स्पष्ट पारिदिन कुवेतस्थित दुतावासले विदेश मन्त्रालयलाई पत्र लेखेको छ । ‘हामीले सोमबारै पत्र लेखेका छौं,’कुवेतस्थित राजदूत मधुवन पौडेलले इकान्तिपुरसग भने । मन्त्रालयले दिने जवाफका आधारमा डोल्मा घरफिर्तीबारेको कामकारवाही अघि बढाइने भएको छ । एक हत्या अभियोगमा कुवेतको केन्द्रिय जेलमा आजीवन कारावास सजाय भोगिरहेकी सिन्धुपाल्चोककी डोल्मा शेर्पाले एकाएक एम्नेष्टी पाएर घर फिर्ती केन्द्रमा ल्याइएपनि ‘आवश्यक कागजातबाट पुष्टी नपाउ“दा’ अहिले फेरि कारागार चलान गरिएको छ । चार बर्षअघि एक फिलिपिनो सहकर्मी हत्या अभियोगमा थुना परेकी डोल्मालाई अदालतले सुरुमा मृत्युदण्ड र त्यसपछि आजीवन कारावासको सजाय सुनाएको थियो । सजाय छुट हु“दै गएर उनी २०१२ को जून महिनामा नेपाल फिर्ने भएकी थिइन् । खाडी मुलुकमा हत्या अभियोगमा परेकालाई सामान्यतया एम्नेष्टी नहुने भएपनि कुवेतस्थित दुतावासले गत बर्ष ‘डोल्मालाई एम्नेष्टी दिन’ कुवेती अमिरलाई अनुरोध पत्र बुझाएको थियो ।

कुवेतमा घरेलु कामदार पठाउन प्रतिबन्ध रहेकै बेलामा छ बर्षअघि रोजगारीमा गएकी एक छोराकी आमा डोल्माले मृत्युदण्ड पाएको खबरले विश्वभरका नेपाली समुदायले ‘डोल्मा बचाउ’ अभियान चलाएका थिए । इश्लामिक कानूनअनुसार हत्या गरिएको व्यक्तिको परिवारले माग गरेअनुसार ‘रगतबापतको मुल्य’ तिरेमा सजाय कम हुने भएकाले १० हजार डलर ‘ब्लड मनी’ बुझाएपछि डोल्माले पाएको मृत्युदण्ड आजीवन कारावासमा परिणत भएको थियो ।

ब्लड–मनि बुझाउन तथा डोल्मा बचाउ अभियानमा आवश्यक कानूनी प्रकृया अघि बढाउन परराष्ट्र मन्त्रालयले २०६४ फागुनमा ४ लाख रुपैंयाको ‘बिउ पैसा’ बाट कोष बनाउन थालेको थियो । डोल्मा बचाउ अभियानमा बिभिन्न मुलुकमा रहेको गैर आवासीय नेपाली संघ च्याप्टरसहित शुभेच्छुकबाट आवश्यक रकम संकलन भएको थियो । ३३ बर्षिया डोल्माका आठ बर्षिय एक छोरा र श्रीमान काठमाडौंमा छन् । डोल्मालगायत खाडीमा घरेलु कामदार भएर अवैध बाटोबाट पुग्ने नेपाली युवतीहरुका बारे निर्देशक केसाङ छेतेनले ‘सेभिङ डोल्मा’ नाममा एक फिल्म पनि बनाएका छन् ।

Published on: 26 May 2011 | Kantipur

Back to list

;