s

डलरले बढायो कामदारको आम्दानी

योगेश खतिवडा

वैदेशिक रोजगारीमा गएका नेपालीलाई दसैंको बेलामा महँगिएको डलरले थप उमंग जगाएको छ । डलर महँगिदा वैदेशिक रोजगारीमा गएका परिवार थप रकम पाउन सफल भएका हुन् । 

एक महिनायता आकासिएको डलरका कारण रेमिट्यान्समा आश्रति परिवारलाई एक अमेरिकी डलरमा करिब ५ रुपैयाँ फाइदा भएको छ ।

भदौ ११ मा एक अमेरिकी डलर साट्दा ७३ रुपैयाँ ३० पैसा पाइन्थ्यो । बिहीबार त्यही डलरको मूल्य करिब ७८ रुपैयाँ ३० पैसा पुग्यो । यसबाट सीधै ५ रुपैयाँ फाइदा भएको देखिन्छ ।

महँगिएको डलरसँगै देश भित्रिने रकममा पनि सकारात्मक प्रभाव पारेको छ । अन्य समयभन्दा दसैंको समयमा ३० प्रतिशत रकम बढी नेपाल भित्रिन्छ । बैंकिङ च्यानलमार्फत दिनको करिब ७० करोड रुपैयाँ रेमिट्यान्स नेपाल भित्रिन्छ । कोरियालगायतका देशबाट अहिले प्रायः रकम हुन्डीमार्फत भित्रने गरेको छ । विभिन्न अध्ययनले करिब ४० प्रतिशत रकम अनौपचारिक माध्यमबाट आउने देखाएको छ । अनौपचारिक माध्यम पनि हेर्ने हो भने रेमिट्यान्स रकम दिनको १ अर्ब रुपैयाँ भित्रिने अनुमान छ ।

यसपटकको दसैंमा दैनिक एक अर्ब ५० करोडसम्म पुगेको अनुमान विज्ञहरूको छ । 'अहिले अमेरिकी डलरको सटही दर बढेको छ,' राष्ट्र बैंकका प्रवक्ता भाष्करमणि ज्ञवालीले भने, 'यसले मात्र थप १४ प्रतिशतका हाराहारीमा रेमिट्यान्स वृद्धि गरिदिएको हुनुपर्छ ।'

डलर बढ्दा सञ्चिति गरेर पैसा राखेका नेपालीले पनि पैसा पठाउने भएकाले दसैंका बेलामा रेमिट्यान्स बढ्ने गरेको हो । गत वर्ष औपचारिक रूपमा मात्र एक वर्षमा २ खर्ब ५३ अर्ब रुपैयाँ भित्रिएको राष्ट्र बैंकको तथ्यांकमा उल्लेख छ ।

'अघिल्लो महिनाको तुलनामा यस महिना २५ प्रतिशतभन्दा बढी रेमिट्यान्स भित्रिरहेको छ,' रेमिट्यान्स एसोसिएनका अध्यक्ष चन्द्र ढकालले भने, 'सबै कम्पनीमा यस्तै वृद्धिदर देखिएको छ ।' उनले दसैंमा यसरी डलर मजबुद हुनु नेपालमा रेमिट्यान्स पठाउनेका लागि फाइदा भएको बताए । फाइदा भएपछि स्वतः रेमिट्यान्सको मात्रा बढ्ने उनको अनुभव छ ।

रेमिट्यान्ससम्बन्धी विभिन्न अध्ययन गरेका श्रम विज्ञ गणेश गुरुङ जापान, कोरिया, खाडी र मलेसियामा रहेका कामदारले धेरै रेमिट्यान्स आउने गरेको बताए । 'काम गर्न गएका देशका नेपालीका परिवारमा खर्च पठाउनुपर्ने भएकाले यी मुलुकबाट बढी रेमिट्यान्स आउँछ,' उनले भने ।

सरकारी तथ्यांकअनुसार करिब १९ लाख नेपाली कामका लागि देश छाडेका छन् । अहिलेदैनिक १५ सयको औसतमा नेपालीहरू कामका लागि बिदेसिने गरेका छन् । जनआन्दोलन २ पछि मात्रै करिब साढे १२ लाख नेपाली काम खोज्दै बिदेसिएका छन् ।

Published on: 30 September 2011 | Kantipur 

Back to list

;