s

देशभर एमआरपी सुरु

मेसिन रिडेवल पासपोर्ट (एमआरपी) वितरणलाई सहज बनाउन शुक्रबार थप ३४ जिल्ला प्रशासनले पनि फाराम वितरण र संकलन सुरु गरेका छन् । अब मुलुकका सबै प्रशासन कार्यालयले एमआरपी फाराम संकलन गर्नेछन् । एमआरपी वितरणबारे कालिकोटबाट तुलाराम पाण्डे, काँकडभिट्टाबाट पर्वत पोर्तेल, ताप्लेजुङबाट आनन्द गौतम र रसुवाबाट कृष्ण थापाले पठाएको रिपोर्ट :

एउटै निवेदन आएन
कालिकोट- एमआरपी (राहदानी)का लागि शुक्रबार जिल्ला प्रशासनमा एउटा पनि निवेदन परेन । प्रशासनमा निवेदन दिएर जुम्लामार्फत राहदानी वितरण गर्ने भएकाले लामो प्रक्रियाका कारण कसैको निवेदन नपरेको प्रजिअ दुर्गादत्त ढकालले बताए । जिल्लाबाट राहदानी लिन चाहनेले कम्तीमा एक महिनाअघि निवेदन दिनुपर्छ । यही कारण कसैको निवेदन परेन । प्रजिअ ढकालले भने जिल्लाबाट सिफारिस भएर काठमाडौंमा राहदानी बनेर आउन एक महिना बढी समय लाग्छ । उनका अनुसार छिटो राहदानी आवश्यक पर्नेले दु्रत सेवाअन्तर्गत १० हजार तिरेपछि अर्जेन्ट भनेर प्रशासनले पठाएपछि काठमाडौंको राहदानी कार्यालयले छिटो पठाइदिने व्यवस्था छ । नियमित प्रक्रियाअनुसार राहदानी लिँदा भने बैंकमार्फत ५ हजार तिरे पुग्छ । कर्नाली, हुम्ला, मुगु र डोल्पाका लागि नेपालगन्जमार्फत निवेदन केन्द्रमा जाने भए पनि कालिकोटका लागि जुम्लाबाट जाने व्यवस्था भएकाले रुट उल्टो परेको उपभोक्ताको गुनासो छ । जिल्ला प्रशासनबाट प्राप्त जानकारीअनुसार कालिकोटबाट वैदेशिक रोजगारमा जाने युवाको संख्या न्यून भए पनि भदौ १८ यता राहदानीका लागि १ सय ३७ को निवेदन परेको छ ।

फाराम नबुझ्दा समस्यामा
काँकडभिट्टा- झापा भद्रपुर ५ की कविहिरा कोइराला एमआरपीका लागि आवेदन फाराम बुझाउन शुक्रबार जिल्ला प्रशासन पुग्दा कार्यालयले फाराम नबुझेपछि त्यसै फर्किइन् । 'फाराम बुझाउन आएको थिएँ,' जिप्रका झापाको राहदानी फाँटबाट बाहिरिँदै गर्दा भेटिएकी कविहिराले भनिन्, 'कार्यालयले नबुझ्ने रे काठमाडौंतिर जान्छु ।'

झापामा शुक्रबार पहिलो दिन सम्भव भएन । प्रशासकीय अधिकृत चन्द्रकान्त न्यौपानेले मन्त्रालयबाट पत्र आइनसकेको जानकारी दिए । 'मन्त्रालयबाट केही निर्देशन आएको छैन,' न्यौपानेले भने, 'त्यसकारण शुक्रबार आवेदन बुझेनौं ।' कार्यालयले फाराम नबुझेपछि एमआरपी बनाउन सिफारिसका लागि आएका ६ जनाजति उपभोक्ता फर्किए । परराष्ट्र मन्त्रलायले जिल्ला प्रशासनलाई मेची अञ्चलका चार जिल्ला इलाम, पाँचथर, ताप्लेजुङ र झापाको फाराम संकलन केन्द्र मानेको छ । 

यसैबीच ताप्लेजुङ प्रशासनमा राहदानी फाराम संकलन सुरु भएको पहिलो दिन एउटा पनि फाराम संकलन भएन । राहदानीका लागि सिफारिस लिन आए पनि संकलन गर्न कोही नआएको प्रशासन कार्यालयले जनाएको छ ।

चहलपहल बढ्यो
रसुवा- जिल्ला प्रशासन कार्यालयले शुक्रबारबाट एमआरपी वितरण प्रक्रिया थालेको छ । दुर्गम जिल्लाबाटै पासपोर्ट वितरण हुन थालेपछि काठमाडौं जानुपर्ने बाध्यता अन्त्य भएको छ । शुक्रबार आधा दिनबाट बिदा हुने कार्यालयमा ६ जनाजतिको निवेदन परेको सहायक प्रजिअ युवराज मैनालीले बताए । पन्ध्र दिनसम्म निवेदन संकलन गरेर नुवाकोट प्रशासनलाई बुझाइने छ । नुवाकोटले केन्द्रीय राहदानी कार्यालयबाट एमआरपी भई आएपछि राहदानीवाहकलाई दिइने उनले बताए । जरुरी राहदानी भनेको निवेदन नलिइने प्रशासनले जनाएको छ ।

Published on: 12 November 2011 | Kantipur

Back to list

;