s

भारतबाहेक युएई र कतारमा धेरै नेपाली 'मोस्ट वान्टेड'

अन्तर्राष्ट्रिय प्रहरी संगठन (इन्टरपोल)ले आपराधिक घटनामा संलग्न ६८ नेपालीविरुद्ध रेडकर्नर नोटिस (पक्राउ पूर्जी) जारी गरेको छ। नेपालको आग्रहमा १६ र अन्य राष्ट्रको अनुरोधमा ५२ जना नेपालीविरुद्ध इन्टरपोलले नोटिस जारी गरेको प्रहरी प्रवक्ता विनोद सिंहले जानकारी दिए।

बिहीबार आयोजित पत्रकार सम्मेलनमा प्रहरीले इन्टरपोलको सूचीमा रहेका नेपालीहरूबारे जानकारी गरायो। सूचीमा परेका अधिकांश नेपालीविरुद्ध ठगी अभियोग छ। त्यसैगरी हत्या, वन्यजन्तु अंग र लागुऔषध कारोबारमा संलग्न रहेको अभियोगमा नेपालीविरुद्ध पक्राउ पूर्जी जारी भएको छ।

भारत, युएई र कतार प्रहरीको आग्रहमा रेडकर्नर नोटिस जारी भएका नेपालीको संख्या बढी छ। अधिकांशविरुद्ध ठगी र जालसाजीको अभियोग छ। भारतको आग्रहमा २२, युएईको आग्रहमा १३ र कतार प्रहीको आग्रहमा १० नेपाली इन्टरपोलको सूचीमा समावेश छन्। त्यस्तै साउदी अरेबियाबाट दुई, अमेरिकाबाट दुई तथा इटाली र बेलारुसबाट १-१ नेपालीको नाममा सूचीमा छ।

प्रहरी प्रवक्ता सिंहका अनुसार अदालतबाट पक्राउ पूर्जी जारी भएका फरार अभियुक्त खोज्न सम्बन्धित देशको आग्रहमा इन्टरपोलले रेडकर्नर नोटिस जारी गर्दछ। अर्धन्यायिक निकायको अनुरोधमा समेत इन्टरपोलले आवश्यकताअनुसार नोटिस जारी गर्दछ। यस्ता अभियुक्त पक्राउ परे सुर्पुदगी सन्धी भएको देशको नागरिक भए सहजै बुझाउने र सन्धि नभएको मुलुकको भए अभियोग प्रमाणित हुने कागजातको अध्ययन पछि मात्रै बुझाउने गरिन्छ।

'रेडकर्नर नोटिस जारी भएपछि अभियुक्तको खोजी प्रभावकारी बन्ने गरेको छ,' उनले भने, 'यसले अपराधमा संलग्न व्यक्ति जहाँ पुगे पनि पक्राउ गरी कारबाहीको दायरामा ल्याउन सजिलो हुँदै आएको छ।'

नेपाल प्रहरीको अनुरोधमा १२ नेपाली, एक पाकिस्तानी र एक अमेरिकी नागरिकविरुद्ध रेडकर्नर नोटिस जारी भएको छ, जसमा अधिकांश ठगी मुद्दाका अभियुक्त छन्।

वैदेशिक रोजगारीको प्रलोभन देखाउँदै चार करोड ५० लाख रुपैयाँभन्दा बढी ठगेको अभियोगमा श्रम विभागको आग्रहमा भुपेन्द्र खड्का तथा दुई करोडको ठगी अभियोगमा भक्तबहादुर तामाङ, रामबहादुर तामाङ र विष्णुबहादुर लामा सूचीमा छन्।

त्यस्तै तीन वर्षअघि हेपाली हाइटबाट मेघा देवकोटाको अपहरणमा संलग्न देखिएका केशव दर्लामीमगर, गोकुल गिरी र राजु थापाविरुद्ध नोटिस जारी भएको छ। उनीहरूले देवकोटाको अपहरण गरी एक करोड ३० लाख फिरौती असुलेको र एक करोड ६० लाख रकम डकैती गरेको अभियोग छ।

नाबालिका बलात्कारका अभियुक्त अगम्बर बोहोरा र जमिम साह हत्या प्रकरणमा जगदिश चन्द र श्रीकृष्ण पौडेलविरुद्ध पनि इन्टरपोलको रेडर्कनर नोटिस छ।

त्यस्तै अपहरणपछि हत्या र अवैध हतियार कारोबारका अभियुक्त सिराहाका रामकुमार यादव, तीन करोड ६५ लाख ठगी अभियोगमा राहुल हल्दिया र पुराताŒिवक सामग्रीको अवैध कारोबारमा अमेरिकी नागरिक इयान बेकरविरुद्ध नेपालको अनुरोधमा रेडकर्नर नोटिस जारी भएको छ।

डिफ्युजन नोटिसमा पाँच जना 
नेपाल प्रहरीको आग्रहमा एक पाकिस्तानी र चार नेपालीविरुद्ध इन्टरपोलको डिफ्युजन नोटिस जारी गरेको छ। डिआइजी सिंहका अनुसार यस्तो सूचीमा परेकाहरूलाई इन्टरपोलको सदस्य नभएको राष्ट्रले पनि खोजी गर्नुपर्ने अन्तर्राष्ट्रिय प्रावधान छ।

डिल्लीबजार कारागारबाट फरार जमिल भाटी यो सूचीमा छन्। नक्कली भारतीय रुपैयाँको कारोबारमा संलग्न रहेको अभियोगमा उनी पूर्पक्षका लागि थुनामा थिए। उपचारका क्रममा गंगालाल हृदय केन्द्र पुर्‍याइएका उनी त्यहीबाट फरार भएका थिए। एड्भान्स पाजर डिभाइस् प्रालिमार्फत ३३ लाख रुपैयाँ ठगेको आरोप लागेका कपिलवस्तुका पशुपतिनाथ शुक्ला, रामचन्द्र शुक्ला र मिना शुक्ला पनि यो सूचीमा छन्।

इन्टरनेट सेवा प्रदायक संस्था खोली अवैध कल बाइपासमा सक्रिय भोलाकिशोर डंगोलविरुद्ध पनि डिफ्यूजन नोटिस छ। उनी हङकङमा बसेर कल बाइपासमा संलग्न रहेको प्रहरीको दाबी छ।

कतारमा संख्या बढ्दो
सल श्रेष्ठ, असान गानी, सुनिल कार्की, राम आले, लिभाकत खान, सत्यनारायण पौडेल, मलन गिरी, भोज रेग्मी, छत्र मगर, प्रभाष न्यौपानेविरुद्ध कतारको अनुरोधमा इन्टरपोलले रेडकर्नर नोटिसमा जारी गरेको छ। अधिकांशविरुद्ध जालसाजी र ठगीको अभियोग छ।

त्यस्तै शिवशंकर, ताहिर साह, राजेश क्षेत्री, सुनिल राई, तासी तेर्सिङ, हरिहर भुषाल, पदमबहादुर, कालु तामाङ, छेवाङ, कृष्ण ओमागाईलगायत २२ जनाविरुद्ध भारतको आग्रहा रेडकर्नर नोटिस जारी भएको छ। अपहरण अभियोगमा देवी ओली र हत्या अभियोगमा विपिन विष्ट, भिमे दमाई र ठूलाराम बहादुरको खोजी भइरहेको छ।

युएइका तर्फबाट ठगी र जालसाजी अभियोगमा जितबहादुर, सतिश शाक्य, चुडामणि फुँयाल, रामचन्द्र, राम महत, रमेश स्वाँर, उमेश अधिकारी, रोशन प्रसाई र दुर्गा सिवाकोटी सूचीमा छन्।

अमेरिकाको आग्रहमा पंकज जोशी र होम गुरुङविरुद्ध रेकडर्नर नोटिस छ। जोशीमाथि अर्काको नाममा परेको चिा साटेको अभियोग छ भने गुरुङले नेपालमा बसेर अमेरिकामा हेरोइनको कारोबार गरेको अमेरिकी प्रहरीको दाबी छ।

लागुऔषध कारोबारका अभियुक्त पञ्चबहादुर गुरुङलाई इटाली प्रहरीको आग्रहमा र कलैयाका मोहनप्रसाद जयसवाललाई ठगी अभियोगमा बेलारुसको अनुरोधमा इन्टरपोलले रेडकर्नर नोटिस जारी गरेको छ।

नेपालीविरुद्ध रेडकर्नर नोटिस जारी गर्ने राष्ट्र र संख्या
भारत-२२
युएई-१३
कतार-१०
अमेरिका ३ 
साउदी अरेविया- २
इटली-१
बेलारुस-१

Published on: 25 November 2011 | Nagarik

Back to list

;