s

वैदेशिक रोजगार बिमा पुलमार्फत माघदेखि जारी गरिने

मुना कुँवर

पछिल्लो समय वैदेशिक रोजगार बिमामा बिचौलियाको प्रवेश हुन थालेपछि यसलाई व्यवस्थित गर्न बिमा समितिले पुलमार्फत बिमा गर्ने तयारी गरेको छ । सवारीसाधन बिमा व्यवसायपछि बिमा समितिको आँखा वैदेशिक रोजगार (म्यादी) जीवन बिमा व्यवसायमा परेको हो । समितिले आगामी माघदेखि नै पुलमार्फत बिमालेख जारी गर्ने तयारी गरेको हो । 

समितिले वैदेशिक रोजगार (म्यादी) जीवन बिमाका विषयमा सुझाब पेस गर्न बिमा कम्पनीका प्रमुख कार्यकारी अधिकृतहरूको एउटा सुझाब समिति बनाएको थियो । समितिमा सिटिजन्स लाइफ इन्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृत पोषकराज पौडेल, युनियन लाइफ इन्स्योरेन्सका कम्पनीका प्रमुख कार्यकारी अधिकृत मनोजकुमारलाल कर्ण, नेसनल लाइफ इन्स्योरेन्स प्रमुख कार्यकारी अधिकृत भरत बस्नेत र प्राइम लाइफ इन्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृत मनोजकुमार भट्टराई रहेका थिए । सो समितिले बुझाएको प्रतिवेदनअनुसार वैदेशिक रोजगारी बिमामा बढ्दै गएको विकृतिलाई रोक्न वैदेशिक रोजगार बिमा पुल आवश्यक रहेको सुझाब दिएको छ । 
 
पुलमा नयाँ कम्पनीलाई पनि समेटिने
 
वैदेशिक रोजगार बिमा व्यवसायका लागि गठन गरिने पुलमा नयाँ कम्पनीहरूलाई पनि समेटिने सुझाब समितिको प्रतिवेदनमा उल्लेख गरेको छ । सुझाब समितिका सदस्य एवं प्राइम लाइफ इन्स्योरेन्स कम्पनीका प्रमुख कार्यकारी अधिकृत मनोजकुमार भट्टराईका अनुसार सबैलाई कम्पनीलाई समान अवसर दिन नयाँ कम्पनीलाई पनि समेटेको हो । ‘०७४ माघदेखि वैदेशिक रोजगार बिमा व्यवसाय गरेका कम्पनीलाई पुलमा समेट्नुपर्ने हामीले समितिलाई सुझाब दिएका छौँ,’ उनले भने । 
 
पहिला रोजगार बिमा व्यवसाय गर्ने कम्पनी थोरै थिए, त्यतिवेला काम गर्न सजिलो थियो । तर, अहिले कम्पनीसँगै प्रतिस्पर्धा पनि बढेको छ । सोहीकारण बिचौलियाहरूले प्रवेश गर्ने अवसर पाएको प्राइम लाइफ इन्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृत भट्टराईले बताए । त्यसैले यसलाई व्यवस्थित गर्न बिमालाई पुलबाट जारी गर्न सुझाब दिएको उनले बताए । सुझाब समितिले दिएको प्रतिवेदन अध्ययन भइरहेको बिमा समितिले बताएको छ । समितिका अनुसार तत्काल उक्त प्रतिवेदन कार्यान्वयन हुनेछ । 
 
वैदेशिक बिमाको सुरुवात
 
वैदेशिक रोजगार ऐन, ०६४ ले वैदेशिक रोजगारीमा जाने कामदारको मृत्यु वा अंगभंग भएमा क्षतिपूर्ति पाउने गरी कम्तीमा ५ लाख रुपैयाँको बिमा गराउनुपर्ने बाध्यकारी व्यवस्था गरेको छ । सोहीअनुसार विभिन्न जीवन बिमा कम्पनीले तोकिएको सुविधासहित वैदेशिक रोजगारीमा जाने कामदारका लागि बिमालेख जारी गर्दै आएका छन् । 
 
बिमालेखमा एकरूपता कायम गर्न बिमा समितिले १ कात्तिक ०६८ मा वैदेशिक रोजगार (म्यादी) जीवन बिमालेख तथा निर्देशन जारी ग-यो । यससँगै बिमितले जुनसुकै कम्पनीमा बिमा गराए पनि भुक्तानी गर्नुपर्ने बिमाशुल्क र पाउने सुविधामा एकरूपता आएको छ । यसले दाबी भुक्तानीका सम्बन्धमा उब्जेका अन्योललाई मार्गदर्शन गरी सरोकारवाला सबैलाई सहज वातावरणको सिर्जना ग-यो । यद्यपि, यसलाई अझ व्यावहारिक बनाउन विभिन्न समयमा गरी अहिलेसम्म ६ पटक परिमार्जन भइसकेको छ ।
 
नेपालमा हाल पुराना कम्पनीमध्ये लाइफ इन्स्योरेन्स कर्पोरेसन, गुराँस लाइफ, प्राइम लाइफ, नेसनल लाइफ, सूर्या लाइफ, नेपाल लाइफले वैदेशिक रोजगार म्यादी जीवन बिमा व्यवसाय गर्दै आएका छन् । त्यस्तै, नयाँ कम्पनीहरूमा  युनियन लाइफ, आइएमई लाइफ, सानिमा, सन नेपाल, सिटिजन्स, रिलायबललगायतका कम्पनीले वैदेशिक रोजगार बिमा व्यवसाय गर्दै आएका छन् । यी बिमा समितिको तथ्यांकअनुसार ०७४/७५ को पुस मसान्तसम्ममा कम्पनीहरूले ३६ लाख ३५ हजार २ सय ६२ वटा बिमालेख जारी गरेका छन् । 
 
तीनवटा कम्पनीले व्यवस्थापन गर्ने 
 
प्रमुख कार्यकारी अधिकृतको सुझाब समितिले वैदेशिक रोजगार बिमा व्यवसायका लागि गठन गरिने पुलको व्यवस्थापन तीनवटा कम्पनीले गर्नेछ । वर्षको अन्त्यसम्ममा कम्पनीहरूको हिस्साअनुसार आम्दानी तथा खर्चको बाँडफाँड गरिनेछ  ।
 
Published on: 8 January 2019 । Naya Patrika

Back to list

;