s

वैदेशिक रोजगारले गाउँ युवाविहीन

गाउँमा महिला, बालबालिका र वृद्धवृद्धा मात्रै देखिन्छन् । किशोरको संख्या औँलामा गन्न सकिनेछ । सदरमुकाम वीरगन्जबाट करिब ३० किलोमिटर पश्चिममा रहेको यो गाउँ युवाविहीन छ ।  

सबै युवा वैदेशिक रोजगारमा गएपछि गाउँ युवाविहीन भएको हो । दुई दशक यता गाउँका युवामा वैदेशिक रोजगारीप्रति आकर्षण बढ्दै गएको हो । सक्षम र ऋण काढेर जान सक्ने क्षमता भएकाहरू कतार, मलेसिया, संयुक्त अरब इमिरेट्सजस्ता खाडी मुलुक गएका छन् भने विपन्न र ऋण काढ्न नसक्नेहरू भारतको कश्मीर, लेह, लद्दाख, पन्जाब, लुधियाना, दुबई, दिल्ली, मुम्बईजस्ता सहरमा जाने गरेका छन् । 

गाविसका ५ सयभन्दा बढी युवा खाडी र भारतमा रोजगारका लागि गएको स्थानीय उमेश पटेलले बताए । युवा जनशक्ति यसरी कामका लागि बिदेसिँदा कतिपय घर पुरुषविहीन नै भएका छन् । यसले गर्दा महिलालाई खेतीपाती गर्न समस्या हुने गरेको छ । गाउँमा सामाजिक तथा विकास निर्माणका काम मात्र नभइ खेतीपातीको समयमा समेत कृषि मजदुरको चरम अभाव हुने गरेको पटेल बताउँछन् । वैवाहिक समारोहहरूमा जन्ति र गाउँमा कसैको मृत्यु हुँदा मलामीको समेत अभाव महसुस हुने गरेको उनले बताए । 

यहाँका युवामध्ये अधिकांश रहरले नभई बाध्यताले बिदेसिएको बताउँछन् अर्का स्थानीय अबुलेस अन्सारी । 'औद्योगिक जिल्ला भएपछि यहाँका युवाले आफ्नै जिल्लाका उद्योगमा काम पाएनन्,, सबै उद्योगमा भारतीय मजदुरलाई प्राथमिकता दिइएको छ, उद्योगीले पनि नेताको सिफारिस लिएर जानेलाई मात्र चिन्छन्,' उनले भने, 'गरिब निमुखा र पैरवी गरिदिने कोही नभएकाहरू काम नै नपाएपछि बाध्य भएर बिदेसिएका हुन् ।' 

यो गाविस जिल्लामै सबैभन्दा बढी वैदेशिक रोजगारमा युवा गएको गाउँ हो । अधिकांश युवा एजेन्ट र केही मात्र म्यानपावर मार्फत खाडीमा रोजगारीका लागि गएका छन् । यसै गाउँका चार युवाले गत वर्ष भारतको लद्दाखमा रोजगारका क्रममा पहिरोमा परी ज्यान गुमाएका थिए ।
 
Published on: 27 October 2011 | Kantipur

Back to list

;