s

बाढीको त्रासमा थाइल्यान्डका नेपाली

जितेन्द्र साह

थाइल्यान्डको बैंककस्थित घरमा दसैं तिहारको एक महिनाको बिदा मनाएर काठमाडौं फर्केकी १४ वषर्ीया पविना छाइसीको मुहारमा खुसी छैन । बैंककको सुकुमित प्यासीवेटमा पविनाको घर छ । 'मेरो घरमा बिजुली छैन, धारा खोल्दा फोहोर पानी आउँछ,' उनले भनिन्, 'राति पानी आउने डरले यसपटक देउसी-भैंलो पनि खेल्न गएनौं ।'

थाई बालिका पविना बालकुमारीस्थित हिन्दु विद्यापीठमा कक्षा-६ मा पढछिन् । उनको नेपाली नाम मोना क्षत्री हो । तीन वर्षअघि नेपाली र अंग्रेजी भाषा पढाउन र संस्कृति सिकाउन उनका बाबु-आमाले उक्त विद्यालयमा राखेका हुन् ।

उनी दसैं बिदाका क्रममा गत असोज १३ मा त्यही विद्यालयमा कक्षा-४ मा अध्ययनरत काकाका छोरा १२ वषर्ीय जिरासिन छत्री -जगत क्षत्री) सँग बैंकक गएकी थिइन् । भन्छिन्, 'कुनै पनि बेला घरमा पानी छिर्ने त्रासले राति अबेरसम्म हजुरबा र हजुरआमा जागै बस्नुहुन्छ ।'

थप बाढीको डरले सबैले पानी र खानेकुरा 'स्टक' गरेर राखेको हुनाले बैंककका सुपरमार्केटमा एक बोतल पानीसमेत नरहेको उनले बताइन् । बैंककको डोन मोङ आन्तरिक विमानस्थल बाढीमा डुबेको छ । पविनाको घरबाट आधा घन्टाको दूरीमा बैंककको अन्तर्राष्ट्रिय विमानस्थल 'सुवर्णफुम -सुवर्णभूमि)' मात्र सुरक्षित छ ।

'काठमाडौं र्फकने क्रममा जहाजबाट मुनि हेर्दा आधा बैंकक सहर पानीमा डुबेको देखिन्थ्यो,' पविनाले बताइन् । उनको पिता कपडा व्यवसायी र आमा कम्प्युटर इन्जिनियर हुन् । हरेक वर्ष दसैं र तिहारको एक महिनाको छुट्टीमा पविना काकाको छोरासहित बैंकक जान्छिन् ।

हिन्दु विद्यापीठमा पविनाझैं नौ जना थाई नेपालीभाषी अध्ययन गरिरहेका छन् । तीमध्ये विद्यालयको छात्रावासमा बसेर ६ जना र तीन जना नजिकका आफन्त एवं मित्रजनको घरमा बसेर पढ्ने गरेको उक्त विद्यालयका प्रशासन प्रमुख घनश्याम योगीले बताए । उनका अनुसार उपत्यकाका विभिन्न विद्यालयमा झन्डै ६० नेपालीभाषी थाई बालबालिका पढ्दै छन् ।

हिन्दु विद्यापीठमा कक्षा-५ मा अध्ययनरत दाजु १२ वर्षे सारायुथ लामा -राम लामा) र कक्षा-४ मा अध्ययनरत भाइ ११ वर्षे वाराविथ लामा -श्याम लामा) को थाइल्यान्डको पर्यटकीय नगरी फुकेटमा घर छ । उनका पिताको पनि कपडा पसल छ । 'बाढीबाट भाग्न र जोगिन फुकेटका होटल र लजमा बस्नेको भीड छ,' श्यामले भने, 'बाढीले गर्दा सामान महँगो भएको छ ।'

बाढीले फुकेटको उत्तर र मध्य भागमा धेरै क्षति पुर्याएको उनीहरूले बताए । 'हामी दक्षिणमा बस्छौं,' श्यामले थपे, 'उत्तरबाट दक्षिणमा भागेर आउनेको भीडले बाढीको भयावह स्थिति देखाउँछ ।' यी लामा बालकद्वय फुुकेटबाट एक दिनको सुरक्षित मार्ग हुँदै बसबाट अन्तर्राष्ट्रिय विमानस्थलसम्म पुगेका थिए, जहाँबाट काठमाडौं आए ।

हिन्दु विद्यापीठमै कक्षा २ मा अध्ययनरत जुम्ल्याहा दिदीबहिनी १० वषर्ीया कानयारात फोङफिचित -सारा लामा) र कानया रेत -साया लामा) को थाइल्यान्डको सामरोङमा घर छ । 'हामी त धेरै भाग्यशाली छौं, हाम्रो घरमा पानी छिरेको छैन,' सायाले बताइन् । बाढीको डर कायमै रहेकाले उनीहरूलाई अहिले बाआमाको निकै चिन्ता लागेको छ ।

तीनपटक थाइल्यान्ड पुगिसकेका हिन्दु विद्यापीठका पि्रन्सिपल चिन्तामणि योगीका अनुसार थाइल्यान्डमा १ लाख नेपालीभाषी छन् ।

Published on: 11 November 2011 | Kantipur 

Back to list

;